रौतहट जिल्ला चन्द्रनिगाहपुरमा रहेको राम–रेवती प्रतिष्ठानले शब्दयात्रा प्रकाशनमा दुई लाख रुपियाँको अक्षयकोष राख्ने गरी दुई संस्थाका बीचमा सम्झौता भएको छ । सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र राम–रेवती प्रतिष्ठानका तर्फबाट संस्थापक अध्यक्ष डा. शालिग्राम शर्माले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार शब्दयात्रा प्रकाशनले त्यस अक्षयकोषको ब्याजबाट हरेक वर्ष ‘राम–रेवती प्रतिष्ठानद्वारा व्यवस्थापित’ भनी ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ नामक पुरस्कार समर्पण गर्नेछ । यो पुरस्कार रौतहट जिल्लामा जन्मिई वा रौतहट जिल्लालाई कार्यस्थल बनाई नेपाली वाङ्मयको कुनै पनि विधाबाट योगदान गरेको व्यक्तिलाई समर्पण गरिनेछ । पुरस्कार पहिलोपटक २०७९ सालको असोज महिनामा समर्पण गर्ने गरी त्यसका लागि राम–रेवती प्रतिष्ठानले छुट्टै रकम उपलब्ध गराएको छ ।