शब्दयात्रा प्रकाशनले हरेक वर्षको दोस्रो चरणमा समर्पण गर्नुपर्ने शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान, शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान, शब्दयात्रा फोटो पत्रकारिता सम्मान, शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान र शब्दयात्रा साहित्यिक पत्रिका सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकामार्फत सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यो आह्वानपछि संस्थाका सदस्यहरू र संस्थाबाहिरका व्यक्तिहरूले पनि केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको थियो ।
त्यसपछि शब्दयात्रा प्रकाशनले म पदम दाहाललाई संयोजक एवं पशुपतिमान पःमाँ र भवानी पाण्डेलाई सदस्य तोकेर सम्मान्य व्यक्तित्व चयन समिति बनायो । चयन समितिमा मनोनयन गरेकोमा हामी तीनैजना शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिन चाहन्छौँ ।
सम्मानका लागि सिफारिस गरिएका नाउँहरूमध्ये सम्बन्धित विधाका प्रतिभाहरू र संस्थाहरूको नाउँ शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँहरूमध्येबाट समितिको बैठकले निर्धारण गरेको कार्यविधिअनुसार हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन गरी सम्बन्धित सम्मान समर्पण गर्नका लागि सिफारिस ग¥यौँ । त्यसपछि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा गरेको थियो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार नै सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शिक्षाविद् डा. केदारनाथ श्रेष्ठ, अग्रज पत्रकार ध्रुवहरि अधिकारी, स्तम्भकार टीपी शर्मा तिमिल्सिना, फोटो पत्रकार राजेन्द्र चित्रकार, भक्तिदर्शन टेलिभिजन र ‘नवप्रज्ञापन’ साहित्यिक त्रैमासिक पत्रिकाप्रति चयन समिति आभार व्यक्त गर्दछ र सम्मानित हुन लाग्नुभएकोमा हार्दिक बधाई पनि अर्पण गर्दछ ।
सम्मानित हुने राष्ट्रका प्रसिद्ध व्यक्तित्वहरूका विषयमा विशेष जानकारी गत मङ्गलबार प्रकाशन भएको ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ बाट लिन पनि अनुरोध छ ।
आजै सार्वजनिक हुन लागेका तीनवटा कृतिका कृतिकारहरू ओतबहादुर खड्का, नवीना श्रेष्ठ र केदारनाथ तिमल्सिनालाई पनि हाम्रो समिति हार्दिक बधाई ज्ञापन गर्दछ । (सम्मान्य व्यक्तित्व चयन समितिका तर्फबाट अभिव्यक्त मन्तव्यको अंश)