शब्दयात्रा प्रकाशनले आज २०७९ साल मङ्सिर २५ गते भोजपुर जिल्लाका प्रतिभा पुरुषोत्तम भट्टराई र भक्तपुर जिल्लाका प्रतिभा पशुपतिमान प्रधानलाई पुरस्कृत गरेको छ । प्राच्यविधाका विज्ञ तथा न्याय, ज्योतिष र वेदान्त दर्शनका प्रकाण्ड विद्वानका रूपमा सुपरिचित व्यक्तित्व तथा पिण्डेश्वर धरानमा ४० वर्षअघिदेखि निरन्तर गुरुकुल सञ्चालन गरी ९५ वर्षको उमेरमा पनि अध्यापन गरिरहनुभएका र अहिले पनि ७० जना विद्यार्थीलाई निःशुल्क आवास, भोजन र शिक्षा दिइरहनुभएका पुरुषोत्तम भट्टराईलाई ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गरिएको छ । उहाँ धरानमा हुनुभएकाले उहाँका तर्फबाट उहाँका नाति पुष्कर अधिकारीले पुरस्कार ग्रहण गर्नुभयो । पुरस्कार समर्पण गर्दा पुरस्कारको रकम गीता अधिकारीले समर्पण गर्नुभएको थियो । यसै गरी ठ्यासफूमा रहेको मौलिक स्वस्थानी व्रतकथालाई पहिलोपटक नेवारी भाषामा उतारेर प्रकाशित गराउनुभएको हुँदा पशुपतिमान पःमाँ (प्रधान) लाई ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, २०७९’ समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्दा पुरस्कारको रकम शारदाप्रसाद शर्माले समर्पण गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व दुवैजनाका लागि उपहार पदम दाहालले, शब्दयात्रा पट्ट हरि मञ्जुश्रीले, रुद्राक्षको माला हिरण्य भोजपुरेले र अभिवन्दनापत्र उर्मिला श्रेष्ठले समर्पण गर्नुभएको थियो भने दुवै अभिवन्दनापत्रको वाचन प्रजापति तिमिल्सिनाले गर्नुभएको थियो ।