शब्दयात्रा प्रकाशनले आज २०७९ साल मङ्सिर २५ गते सङ्खुवासभा जिल्लाका पत्रकार, शिक्षासेवी तथा कलाकार पदमप्रसाद पौडेललाई २०७९ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । उहाँ ९० वर्षका हुनुहुन्छ । स्वास्थ्यका कारणले उहाँ उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट उहाँका छोरा जयप्रसाद पौडेलले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कार समर्पण गर्दा पुरस्कारको रकम आर्थिक व्यवस्थापक श्रीमती लीला श्रेष्ठले समर्पण गर्नुभएको थियो । आजै शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका आध्यात्मिक लेखक ओतबहादुर खड्कालाई २०७९ सालको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । उहाँ ८५ वर्षका हुनुहुन्छ । स्वास्थ्यका कारणले उहाँ उपस्थित हुन नसक्नुभएकाले उहाँका तर्फबाट लेखक पूर्णबहादुर कर्माचार्यले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कार समर्पण गर्दा पुरस्कारको रकम आर्थिक व्यवस्थापकका तर्फबाट प्रदीप केसीले समर्पण गर्नुभएको थियो । पुरस्कृत व्यक्तित्व दुवैजनाका लागि उपहार पदम दाहालले, शब्दयात्रा पट्ट हरि मञ्जुश्रीले, रुद्राक्षको माला हिरण्य भोजपुरेले र अभिवन्दनापत्र उर्मिला श्रेष्ठले समर्पण गर्नुभएको थियो । दुवै अभिवन्दनापत्रको वाचन प्रजापति तिमिल्सिनाले गर्नुभएको थियो ।