शब्दयात्रा प्रकाशनले आगामी फागुन महिनामा समर्पण गर्नुपर्ने विभिन्न चार विधाका सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको चयन गरिदिन चार सदस्यीय सम्मानित व्यक्तित्व चयन समिति बनाएको छ । डा. मनीष पोखरेलको संयोजकत्वमा गठित उक्त समितिमा वीरेन्द्रबहादुर लाखे, खगेन्द्र आचार्य र रीमा खनाल सदस्य रहनुभएको छ । उहाँहरू चारैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
हरेक वर्षको फागुन महिनामा शब्दयात्रा प्रकाशनले उपहार, किरीट, नगद ५ हजार रुपियाँ र अभिवन्दनापत्रसहित आमसञ्चार, सामाजिक जागरण, शिक्षा र विज्ञान–प्रविधि विधामा सम्मान गर्ने गरेको छ । समितिले चयन गरेका व्यक्ति अथवा संस्था नै शब्दयात्रा प्रकाशनबाट सम्मानित हुनेछन् । पत्रिका र रेडियोबाट ती विधामा विशिष्ट योगदान गरेका व्यक्ति अथवा संस्थाको नाउँ सिफारिस गरी पठाउन आग्रह गरिएकोमा त्यसरी प्राप्त भएका नाउँहरूमध्येबाट चयन समितिले सम्मानयोग्य व्यक्ति अथवा संस्थाको नाउँ छान्नेछ र शब्दयात्रा प्रकाशनले त्यसैलाई अनुमोदन गर्नेछ ।