१. रागिनी उपाध्याय :
रागिनी उपाध्याय प्रसिद्ध चित्रकलाकार हुनुहुन्छ । काठमाडौँमा जन्मेकी उहाँ हाल भक्तपुरमा बसोवास गरिरहनुभएको छ । उहाँले भारतको लखनउबाट फाइन आर्ट्स् विषयमा स्नातक उत्तीर्ण गर्नुभएको छ । तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सभासद् र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको प्रथम कुलपति रहनुभएकी उहाँको पहिलो सिर्जना रवीन्द्रनाथ ठाकुरको पोट्रेट पोस्टरकला हो । उहाँका एकल चित्रकला प्रदर्शनीहरू काठमाडौँमा एक दर्जनभन्दा बढीपटक, भारतमा तीनपटक, जर्मनीमा चारपटक, जापानमा तीनपटक, बेल्जियममा चारपटक, स्विडेनमा दुईपटक, फिनल्यान्डमा दुईपटक, पाकिस्तानमा एकपटक, ताइवानमा एकपटक, जर्मनीमा एकपटक, पोल्यान्डमा एकपटक भइसकेका छन् । सामूहिक प्रदर्शनी भारतमा एकपटक, बेल्जियममा दुईपटक, फिनल्यान्डमा एकपटक, ताइवानमा एकपटक र बङ्गलादेशमा एकपटक गरिसक्नुभएको छ । उहाँले युगोस्लाभिया, भारत, बङ्गलादेश र बेलायतमा अन्तर्राष्ट्रिय प्रदर्शनी गरिसक्नुभएको छ ।
रागिनी उपाध्यायलाई नेपालको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतका रूपमा प्रस्तुत गर्न सकिन्छ । नेपालको छवि अन्तर्राष्ट्रिय जगत्मा उज्ज्वल बनाउन उहाँको योगदान प्रशंसनीय र कदरयोग्य छ । नेपालमा राम्रा चित्रकलाकार छन् भन्ने कुराको उदाहरण दिनुपर्दा विश्वले उहाँकै नाम लिने गर्छ । नेपालमा मात्र नभई विश्वमा नै उहाँले प्रसिद्धि प्राप्त गर्नुभएको छ । उहाँले नेपालबाट राष्ट्रिय प्रदर्शनी पुरस्कार र नाफा पुरस्कार तथा केही पदक र सम्मान पाउनुका साथै बेलायतबाट केट एन्ड रोबर्ट विल्सन पुरस्कार पाउनुभएको छ । उहाँ नेपालको गौरव हुनुहुन्छ ।

२. डा. भोला थापा :
डा. भोला थापा काठमाडौँ विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्रोफेसर हुनुहुन्छ । उहाँले सन् २००४ मा ‘नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी’ बाट मेकानिकल इन्जिनियरिङ विषयमा पीएचडी गर्नुभएको छ । विभागीय प्रमुख डिन र रजिस्ट्रार हुँदै उहाँ कार्यवाहक उपकुलपति पनि हुनुभएको छ । नेपालको स्थानीय समुदायका लागि व्यावसायिक अनुसन्धान गरेर ज्ञानको विकास र विस्तार गर्नमा उहाँको अग्रणी भूमिका रहेको छ ।
डा. भोला थापाले सन् १९९४ मा काठमाडौँ विश्वविद्यालयमा सेवा सुरु गर्नुभएको थियो । त्यही वर्षदेखि काठमाडौँ विश्वविद्यालयले औपचारिक रूपमा इन्जिनियरिङ शिक्षा सुरु गरेको थियो । उहाँले हाइड्रो टर्बाइन विषयमा काठमाडौँ विश्वविद्यालयबाट वैज्ञानिक अनुसन्धान सुरु गर्नुभएको छ । ‘मेटेरियल इरोजन अफ टर्बाइन कम्पोनेन्ट्स् इन सेडिमेन्ट लेडन रिभर’ विषयको वैज्ञानिक अध्ययनमा पनि उहाँको प्रमुख योगदान रहेको छ । ‘अत्यधिक बालुवा भएको पानीका लागि टर्बाइन डिजाइन’ विषयमा प्राविधिक शिक्षाको विकास र हाइड्रोपावर उद्योगहरूलाई व्यावसायिक सेवा प्रदान गर्ने लक्ष्य राखेर काठमाडौँ विश्वविद्यालयमा हाइड्रो टर्बाइनको अत्याधुनिक अनुसन्धान र परीक्षणका सुविधाहरू स्थापना गरी शैक्षिक र औद्योगिक अनुसन्धान कार्यहरू सुरु गर्न उहाँ सफल हुनुभएको छ । उहाँले नवीकरणीय ऊर्जा अनुसन्धान कार्यक्रमहरूको व्यवस्थापन र समन्वय पनि गर्नुभएको छ ।

३. प्रा. राजेन्द्र सुवेदी :
प्रा. राजेन्द्र सुवेदी नेपालको साहित्यिक क्षेत्रका प्रसिद्ध समालोचक तथा निबन्धकार हुनुहुन्छ । ‘विषय गहन : सतह चिन्तन’, ‘स्रष्टा सृष्टि : द्रष्टा दृष्टि’, ‘समकालीन साहित्यकारका बीचमा झपटबहादुर राणा’, ‘केही समीक्षण : केही विश्लेषण’, ‘नेपाली उपन्यास : परम्परा र प्रवृत्ति’, ‘सृजन विधाका परिधिमा पारिजात’, ‘सृजन विधाका परिधिमा ध्रुवचन्द्र गौतम’, ‘सृजनात्मक लेखन : सिद्धान्त र विश्लेषण’, ‘नेपाली समालोचना : परम्परा र प्रवृत्ति’, ‘काव्य निबन्ध केन्द्रका देवकोटा’, ‘वृहत् रत्न नेपाली समालोचना’, ‘प्रज्ञा नेपाली समालोचना’, ‘समसामयिक नेपाली उपन्यास’ आदि उहाँका समालोचनात्मक कृतिहरू हुन् । उहाँले ‘खाली सिसी पुराना कागज’, ‘आफ्नै यात्रा आफ्नै परिवेश’, ‘गुडबाइ छोडिजानेहरूलाई’ आदि कृतिहरू पनि लेख्नुभएको छ । ‘स्रष्टा देवकोटा द्रष्टा परिवेशमा’, ‘समसामयिक साझा कथा’, ‘पूर्वआधुनिक नेपाली साहित्यको रूपरेखा’ जस्ता समालोचनात्मक कृतिहरूको सम्पादन पनि उहाँले गर्नुभएको छ । उहाँले उपन्यास, महाकाव्य पजि लेख्नुभएको छ । तर उहाँको प्रसिद्धि समालोचना क्षेत्रमा नै छ ।
पाँचथरमा जन्मेर हाल काठमाडौँमा बसोवास गर्नुभएका प्रा. राजेन्द्र सुवेदी साहित्य गोष्ठी राष्ट्रिय पुरस्कार, झपट पुरस्कार, देवकोटा स्मृति पुरस्कार आदिबाट पुरस्कृत तथा विभिन्न संस्थाहरूबाट सम्मानित व्यक्तित्व हुनुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर गरी प्राध्यापन पेसा अँगाल्नुभएका उहाँले नेपाली साहित्यिक वाङ्मयमा ठूलो योगदान पु¥याउनुभएको छ ।

४. प्रा. रामकुमार पाँडे :
प्रा. रामकुमार पाँडे प्रसिद्ध बालसाहित्यकार हुनुहुन्छ । उहाँ हास्यव्यङ्ग्यकार, कवि, गीतकार, काव्यकार, लोकसाहित्यविद्, भूगोलविद्, सम्पादक, हाइकुविद् र चित्रकार पनि हुनुहुन्छ । बहुआयामिक प्रतिभाका धनी र बहुविधाका जानकार उहाँ कुशल सङ्गठक पनि हुनुहुन्छ । ललितपुरमा जन्मनुभएका उहाँले भूगोल र सामाजिक अध्ययन विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँको मुख्य पेसा प्राध्यापन हो । उहाँले विभिन्न विधामा थुप्रै पुस्तकहरू लेखेर प्रकाशन गराउनुभएको छ । उहाँका बालसाहित्यिक कृतिहरूका रूपमा ‘पुतलीको घर’, ‘सुनको माला’, चारखुट्टेको चमत्कार’, चरालाई जुत्ता’, ‘तिलौरे र फुलौरे’, गाउँखाने कथा’, ‘फोहोर पानी’ आदि रहेका छन् । उहाँका बालसाहित्यिक पुस्तकहरू प्रसिद्ध छन् । उहाँले विभिन्न पुस्तक–पत्रिकाको सम्पादन पनि गर्नुभएको छ । नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने उहाँ ‘ख्यालख्याल’, ‘सन्चै छ ?’, ‘खप्पर’, ‘मोज गर्नोस्’, ‘बाह«मज्जा’, ‘बाबुको बिहे’, ‘सिङ न पुच्छर’, ‘रसरङ्ग’, ‘ताल बेताल’, ‘थुइकक’ जस्ता कृतिका कृतिकार पनि हुनुहुन्छ । नेपाली बालसाहित्यका क्षेत्रमा उहाँको योगदान अविस्मरणीय रहेको छ ।
उहाँले दीर्घसेवा पदक, वासुदेव लुइँटेल पुरस्कार, लेखक सङ्घ सम्मान आदि प्राप्त गर्नुभएको छ । नेपाली वाङ्मयका विभिन्न विधामा उहाँले पु¥याउनुभएको योगदानका कारण नेपाली वाङ्मय प्रज्ज्वलित बनेको छ ।

५. डा. रमेशचन्द्र अधिकारी :
डा. रमेशचन्द्र अधिकारी धादिङमा जन्मेर हाल काठमाडौँमा बसोवास गर्ने प्रसिद्ध वाङ्मयसेवी हुनुहुन्छ । नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गर्ने प्रथम व्यक्तिका रूपमा पनि उहाँ परिचित हुनुहुन्छ । राजनीतिशास्त्रमा स्नातकोत्तर र साहित्याचार्य गर्नुभएका उहाँ प्राध्यापन पेसामा संलग्न हुनुहुन्छ । उहाँलाई ‘आधुनिक वाल्मीकि’ उपाधिबाट २०६१ सालमै विभूषित गरिसकिएको छ । ‘सीतायन’ नामक महाकाव्य १४ भागसम्म प्रकाशन गराउनुभएका उहाँले ‘पद्मदुर्गा’ नामक महाकाव्यको पनि सिर्जना गर्नुभएको छ । उहाँ ‘राजतन्त्र र प्रजातन्त्रका सिद्धान्त’, ‘राजनीतिक दर्शनको इतिहास’ जस्ता कृतिका कृतिकार पनि हुनुहुन्छ । उहाँका दुई कृति संस्कृत भाषामा छन् — एउटा : कौटिल्य, मनु, याज्ञवल्क्य सिद्धान्तमूलकस्य लिच्छविकालिक शासनप्रबन्धस्य विश्लेषाणात्मकम् अध्ययनम्, र अर्को : भामहमते काव्यस्य स्वरूपम् । उहाँले थुप्रै पत्रपत्रिकाको सम्पादन पनि गर्नुभएको छ । ‘सीतायन’ महाकाव्यको धारावाहिक लेखनबाट नेपाली महाकाव्यको इतिहासमा विशिष्ट स्थान बनाउनसफल हुनुभएका डा. रमेशचन्द्र अधिकारी नेपालका विशिष्ट वाङ्मयिक धरोहर हुनुहुन्छ ।
नेपाल मैथिली समाज, विश्वहिन्दू महासङ्घ राष्ट्रिय समिति, जम्को प्रकाशन नेपाल जस्ता विभिन्न साहित्यिक तथा आध्यात्मिक संस्थाहरूबाट सम्मानित तथा अभिनन्दित उहाँले महेन्द्र विद्याभूषण क, दीर्घसेवा पदक, तन्नेरी प्रतिभा सम्मान प्राप्त गर्नुका साथै मैनाबहादुर रामायण पुरस्कार, चन्द्रधन पुरस्कार, बाबा ओमवीरसिंह पुरस्कार लगायत विभिन्न पुरस्कारहरू पनि प्राप्त गर्नुभएको छ ।

६. डिल्लीराम मिश्र ‘श्रमजीवी :
‘नेपाली पुरस्कारको इतिहास’ जस्तो अत्यन्त गहन खोजमूलक ग्रन्थ लेखेर प्रकाशन गराउनुभएका डिल्लीराम मिश्र ‘श्रमजीवी’ लगनशील अनसन्धाता हुनुहुन्छ । स्नोतकोत्तरसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका उहाँ तनहूँमा जन्मेर हाल काठमाडौँमा बसोवास गरिरहनुभएका राष्ट्रिय प्रतिभा हुनुहुन्छ । उहाँले ‘चिन्तन–मनन’, ‘नेपाल अधिराज्यमा तनहूँ’, ‘नेपालको प्रजातान्त्रिक आन्दोलन’, ‘नेपालको नर्वाचन इतिहास’, ‘नेपाली प्रतिभा र पुरस्कार’, ‘कविकेशरी तीर्थराज पाण्डे र उनको उपदेशमञ्जरी’, ‘नेपालको प्रजातान्त्रिक विकासक्रम र काठमाडौँ उपत्यकाको निर्वाचन’, ‘युवा वर्ष मोती पुरस्कार : सर्जक र सिर्जना’ जस्ता अन्वेषणात्मक कृतिहरू लेखेर प्रकाशन गराउनुभएको छ । उहाँका दुईवटा कवितासङ्ग्रह पनि प्रकाशित छन् । ‘आधुनिक युगमा नेपाली साहित्यको देन’ बाट अनुसन्धानात्मक लेखनको थालनी गर्नुभएका उहाँले ‘यदुनाथ खनालका समालोचना’ कृतिको सम्पादन पनि गर्नुभएको छ । नेपालका अन्वेषकहरूमध्ये उहाँको पनि विशिष्ट स्थान रहेको छ । तथ्यपरक अनुसन्धान उहाँको मुख्य विशेषता रहेको छ ।
रत्न श्रेष्ठ पुरस्कार, युवा वर्ष मोती पुरस्कार, रामप्रसाद खनाल साहित्य पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, प्रेमदत्त गोमा त्रिपाठी स्मृति वाङ्मय पुरस्कार, निर्मलादेवी गौतम प्रतिभा पुरस्कार, सोमनाथ सुवेदी साहित्य पुरस्कार, पहलमानसिंह साहित्य प्रतिभा पुरस्कार जस्ता पुरस्कारहरूका अतिरिक्त गाउँसेवा सम्मान र तन्नेरी प्रतिभा सम्मान प्राप्त गर्नुभएका उहाँ प्रतिभासम्पन्न अन्वेषक हुनुहुन्छ ।