चार विधामा सम्मान समर्पण तथा दुई पुस्तक सार्वजनिक

0
458

शब्दयात्रा प्रकाशनले मङ्सिर १४ गते काभ्रेको बनेपामा विशेष समारोहको आयोजना गरी विभिन्न चार विधाका सम्मान समर्पण गरी दुई पुस्तकलाई सार्वजनिक ग¥यो ।
समारोहमा नेपालको संस्कृति र इतिहाससम्बन्धी लोपोन्मुख तथ्यहरूलाई प्रकाशमा ल्याई विविध अन्वेषणात्मक कृतिहरूका माध्यमबाट नेपालको सांस्कृतिक र ऐतिहासिक अध्ययनमा महàवपूर्ण योगदान दिएकोमा अनुसन्धाता प्रा. डा. त्रिरत्न मानन्धरलाई शब्दयात्रा अनुसन्धान सम्मानबाट र काव्यिक क्षेत्रमा आजीवन समर्पित रहेर लोकभावनालाई काव्यात्मक वाणी दिई विभिन्न काव्यकृतिहरूको सिर्जना तथा प्रकाशनका माध्यमबाट नेपाली काव्यसाहित्यमा अत्युच्च योगदान दिएकोमा काव्यकार रमेश खकुरेललाई शब्दयात्रा कविता–काव्य सम्मानबाट सम्मानित गरियो । यसै गरी नेपाली समालोचना विधामा निरन्तर सक्रिय रही नेपाली भाषा–साहित्यसँग सम्बन्धित शोधार्थीका लागि प्रेरक र आदर्शका रूपमा सुपरिचित समालोचक प्रा. डा. गार्गी शर्मालाई शब्दयात्रा समालोचना सम्मानबाट र बालसाहित्यका क्षेत्रमा ऐतिहासिक भूमिका निर्वाह गरेर बालसाहित्यको मूल मर्म र कर्मको उदाहरण नेपाली वाङ्मयमा प्रस्तुत गरेकोमा बालसाहित्यकार देवीप्रसाद वनवासीलाई शब्दयात्रा बालसाहित्य सम्मानबाट सम्मानित गरियो ।
उहाँहरूलाई प्रमुख अतिथिका रूपमा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रथम उपकुलपति तथा अग्रज अन्वेषक प्रा. डा. तुलसीराम वैद्यले अभिवन्दनापत्र प्रदान गरेर एवं विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति तथा समालोचक प्रा. डा. कुलप्रसाद कोइरालाले किरीट लगाइदिएर सम्मान गर्नुभएको थियो । सम्मानित व्यक्तित्वहरूलाई चयन समितिका सदस्यहरूले पुस्तक उपहार तथा ती सम्मानहरूका आर्थिक व्यवस्थापक सकुल थापा, कविप्रसाद प्याकु¥याल, हरिगोपाल प्रधानका तर्फबाट कृष्णमणि कुइँकेल र गोपाल पराजुलील जनही ५–५ हजार रुपियाँ प्रदान गर्नुभएको थियो । सम्मानित व्यक्तित्वहरूको चयनसम्बन्धी जानकारी चयन समितिका संयोजक डा. पुरुषोत्तम खरेलले गराउनुभएको थियो । सम्मान सामग्रीको व्यवस्थापन ‘नेपालभूमि साप्ताहिक’ का सम्पादक सुमन खड्का र शब्दयात्रा प्रकाशनका सदस्य श्यामकृष्ण लम्सालले गर्नुभएको थियो ।
उक्त समारोहमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ७४ औँ कृति मीरा पौड्यालद्वारा लिखित कवितासङ्ग्रह ‘अग्निजल’ लाई प्रा. डा. तुलसीराम वैद्यले र ७५ औँ कृति द्रोणप्रसाद श्रेष्ठद्वारा सम्पादित ‘रचनापछिका विवेचना’ लाई प्रा. डा. कुलप्रसाद कोइरालाले सार्वजनिक गर्नुभयो । सार्वजनिक गरिएका कृतिहरूका विषयमा शारदाप्रसाद शर्माले परिचयात्मक टिप्पणी गर्नुभएको थियो भने कृति–प्रकाशनका बारेमा मीरा पौडेलले मन्तव्य राख्नुभएको थियो ।
समारोहमा सभापतिका रूपबाट द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ ले क्यान्सर रोगबाट निधन भएकी आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा राष्ट्रिय स्तरको महिला प्रतिभा सम्मानको आर्थिक व्यवस्थापन गरिदिन शब्दयात्रा प्रकाशनलाई १ लाख ११ हजार १ सय ११ रुपियाँ प्रदान गर्ने घोषणा गर्नुभयो । शब्दयात्रा प्रकाशनका अध्यक्ष तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको समीक्षा लोकसेवा आयोगका पूर्वसदस्य तथा गायिका उर्मिला श्रेष्ठले गर्नुभएको थियो ।
गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका वटुकहरूबाट स्वस्तिवाचन गरिएको उक्त समारोहमा वटुकहरूलाई शब्दयात्रा कलाकार समाजका तर्फबाट मच्छेश्वर सापकोटाले टीका लगाइदिनुभयो भने शब्दयात्रा लेखक समाजका तर्फबाट उद्धवप्रसाद नेपालले हरि मञ्जुश्रीद्वारा लिखित ‘धनेश्वर वन्दना’ नामक पुस्तिका प्रदान गर्नुभयो ।
समारोहमा शब्दयात्रा पत्रकार समाजका संयोजक रामचन्द्र हुमागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने चयन समितिका सदस्यहरूलाई शब्दयात्रा पाठक समाजका सदस्य सुदर्शन आचार्य र सहयोगी जगन्नाथ गिरीले उपहार समर्पण गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका कार्यक्रमहरूमा स्वस्तिवाचन गर्ने व्यवस्था मिलाइदिएकोमा नैमिषारण्य गुरुकुलम्का लागि मोहनविनोद बजगाईंलाई ‘अक्षरधाम’ साहित्यिक पत्रिकाका तर्फबाट गीता अधिकारीले आभारपत्र प्रदान गर्नुभएको उक्त समारोहमा शब्दयात्रा प्रकाशनका तर्फबाट विशिष्ट अतिथिलाई शब्दयात्रा पाठक समाजका सदस्य पदमनाथ ढुङ्गानाले र प्रमुख अतिथिलाई शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले उपहार समर्पण गर्नुभएको थियो ।
अतिथिहरूलाई शब्दयात्रा सम्मान व्यवस्थापक समाजका तर्फबाट रमेश पौड्याल र शब्दयात्रा पाठक समाजका तर्फबाट सिना ढकालले ब्याच तथा शब्दयात्रा सहयोगी समाजका तर्फबाट त्रिरत्न रन्जितकार र शब्दयात्रा नारी स्रष्टा समाजका तर्फबाट सरस्वती शर्मा सुवेदीले माला अर्पण गर्नुभएको थियो ।