— द्रोणप्रसाद श्रेष्ठ

समारोहको सभापतित्व ग्रहण गरिदिन यस संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले मलाई आग्रह गर्नुभएको थियो । उहाँको आग्रह स्वीकार गरेकाले सभापतिका रूपमा मलाई वरण गरिएको छ । यसबाट म गौरवान्वित बनेको छु ।
हरि मञ्जुश्री मेरा प्रिय भाइ हुनुहुन्छ । उहाँलाई म धेरै वर्षअघिदेखि चिन्छु । उहाँको क्षमता मलाई अद्भुत लाग्छ । उहाँको परिश्रम देखेर म आश्चर्यचकित हुन्छु । उहाँको योजना सुन्दा म दङ्ग पर्छु । हामी दुवैजना भोजपुर जिल्लामा जन्मेका हौँ । उहाँकै नेतृत्वमा शब्दयात्रा प्रकाशनको स्थापना भएकाले सुरुदेखि नै यसका हरेक गतिविधिसँग म परिचित छु । यस संस्थाका केही कार्यक्रममा म पनि उपस्थित भएको छु । यस संस्थाका सञ्चालकहरू खटेका देख्ता मलाई प्रशंसा गर्न मन लाग्छ । यस संस्थाबाट प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ मा मेरा पनि केही लेखहरू छापिएका छन् । यो संस्था प्रकाशक बनेर छापिएका थुप्रै पुस्तकहरूको पाठक म पनि हुँ । यस संस्थाले ठूलो उद्देश्य राखेको छ । हामी सबैको सहयोग भयो भने यस संस्थाले राखेको उद्देश्य पूरा हुने कुरामा म विश्वस्त छु । यस संस्थाका अहिलेसम्मका क्रियाकलाप हेर्दा यो संस्था नेपालकै उदाहरणीय सामुदायिक संस्था हुन सक्ला कि भन्ने मलाई आशा लागेको छ ।
शब्दयात्रा प्रकाशनले मुलुकका लागि आफ्नो क्षेत्रबाट राम्रो काम गर्ने शिक्षासेवी, साहित्यकार, पत्रकार, अन्वेषक, इतिहासकार, समालोचक जस्ता महान् व्यक्तिहरूलाई सम्मान गर्ने गरेको सर्वविदितै छ । त्यस्ता सम्मानहरूमध्ये मेरै भाइबुहारी उर्मिला श्रेष्ठले ‘प्रशासनिक महिला प्रतिभा सम्मान’ का लागि आर्थिक व्यवस्थापन गरिदिएकी छन् । मेरा भाइ हिरण्य भोजपुरेबाट पनि यस संस्थाले सहयोग पाइरहेकै छ ।
मलाई पनि हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनको सम्मान कोषमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । मैले सहयोग गर्ने वचन दिएको थिएँ । दुर्भाग्यवश मेरी धर्मपत्नी मनका श्रेष्ठ क्यान्सर रोगका कारण थला परिन् । उनको उपचार सफल हुन सकेन र उनी २०७२ साल माघ १४ गते दिवङ्गत भइन् । अहिले एक वर्ष पुगेकै छैन । उनको जन्म २००३ साल मङ्सिर २८ गते भएको थियो । यो उनको जन्ममहिना हो । उनी धनकुटामा जन्मेकी थिइन् । उनका बुबा चन्द्रलाल श्रेष्ठ गायक, सङ्गीतकार र अभिनेता भएकाले उनी पनि कलाकारिता गर्थिन् । पहिले–पहिले नाटकहरूमा केटीको भूमिका केटाले नै गर्थे । धनकुटामा पनि त्यस्तै थियो । त्यस बेला धनकुटामा खेलाइने नाटकहरूमा पहिलोपटक केटीको भूमिकामा उनैले अभिनय गरेकी थिइन् । उनी त्यस बखत विद्यार्थी थिइन् । नाटककार विजय मल्लले लेखेको ‘कोही किन बर्बाद होस्’ नाटक प्रसिद्ध साहित्यकार तथा संस्कृतिविद् तुलसी दिवसको निर्देशनमा मञ्चन हुँदा ‘मनका श्रेष्ठले अभिनय नगर्ने भए म यो नाटकै देखाउँदिनँ’ भनेर तुलसी दिवसले भनेको कुरा म अझै सम्झिन्छु । उनी प्रभावशाली अभिनय गर्थिन् । उनमा गीत गाउने कला थियो । समाजसेवामा उनको उत्तिकै रुचि थियो । धेरैवटा सामाजिक संस्थाहरूमा उनी बाँधिएकी थिइन् । व्यावहारिक कारणले गर्दा उनले आफूभित्रको कला–प्रतिभा चम्काउन पाइनन् । आखिर उनले मलाई एक्लो बनाएर यो धर्ती छाडिदिइन् ।
उनको निधनपछि मलाई लाग्यो हरि मञ्जुश्रीले सम्मान कोषका लागि मसँग सहायता माग्नुभएकै छ भने किन म आफ्नी धर्मपत्नीको स्मृति र सम्मानमा अलिकति भए पनि केही रकम शब्दयात्रा प्रकाशनलाई नदिऊँ ? त्यसैले मैले १ लाख ११ हजार १ सय ११ रुपियाँ शब्दयात्रा प्रकाशनको सम्मान कोषका लागि प्रदान गर्ने निर्णय गरेको छु । मैले यो कुरा हरि मञ्जुश्रीलाई भनिसकेको छु, अहिले सार्वजनिक गरेको हुँ । मैले प्रदान गर्ने रकम कलाकारिता क्षेत्रका महिला प्रतिभालाई सम्मान गर्नका लागि उपयोग होस् भन्ने आफ्नो चाहना मैले उहाँलाई भनिसकेको छु । संयोगवश अहिले मेरी धर्मपत्नीको जन्ममहिना परेको छ र उनको स्मृतिमा सम्मानका लागि मैले वचनबद्धता व्यक्त गरेको कोषबाट यसै महिनादेखि कलाकारिता क्षेत्रकै महिला प्रतिभालाई सम्मान गर्ने व्यवस्था मिलाइएको छ । यो सम्मान ग्रहण गर्न प्रसिद्ध चलचित्र अभिनेत्री लक्ष्मी गिरीज्यूले स्वीकृति दिनुभएको छ । यो मेरा लागि खुसीको कुरा हो ।
शब्दयात्रा प्रकाशनबाट सम्मानित हुन लाग्नुभएका प्रा. डा. त्रिरत्न मानन्धर, प्रा. डा. गार्गी शर्मा, रमेश खकुरेल र देवीप्रसाद वनवासीमा बधाई ज्ञापन गर्न चाहन्छु । यी सम्मानहरूको आर्थिक व्यवस्थापन गरिदिने गोपाल पराजुली, कविप्रसाद प्याकु¥याल, हरिगोपाल प्रधान र सकुल थापालाई धन्यवाद दिन चाहन्छु । उपयुक्त प्रतिभाहरूको चयन गरिदिने डा. पुरुषोत्तम खरेल, डा. सरस्वती आचार्य, सुरेन्द्र के. सी. र शिवनाथ मैनालीलाई धन्यवाद छ ।
सार्वजनिक हुन लागेका दुई कृतिमध्ये एउटा कृति मैले सम्पादन गरेको कृति ‘रचनापछिका विवेचना’ हो । यो कुन प्रकारको कृति हो भनेर मैले सम्पादकीयमा लेखिसकेको छु । त्यसैले अहिले म दोहो¥याउँदिनँ । पुस्तकमा पढ्न पाउनुहुने नै छ । यो कृति कस्तो छ र यसको कति महàव छ, मूल्याङ्कन सुन्न र पढ्न पाउने आशामा छु ।
मेरो पुस्तकसँगै सार्वजनिक हुने अर्को कृति ‘अग्निजल’ की कवयित्री भोजपुर जिल्लामै जन्मेकी प्रतिभा हुनुहुन्छ भन्ने सुनेँ । यसले मलाई खुसी तुल्यायो । उहाँलाई बधाई छ । उहाँबाट अरू पुस्तकहरू पनि लेखिऊन्, त्यसबाट भोजपुर र काभ्रे जिल्लाको गौरव बढोस्, मेरो शुभकामना छ ।
शब्दयात्रा प्रकाशनले जग्गा दानमा पायो भन्ने खबर भाइ हरि मञ्जुश्रीले मलाई फोनबाट सुनाउनुभएको थियो । मैले फोनबाटै जग्गादाताको नाम सोधेँ र अहिलेको जमानामा बनेपामा जग्गा दान गर्ने आधुनिक कर्ण कृष्णमणि कुइँकेललाई धेरै धन्यवाद दिएँ । हरि मञ्जुश्रीको भावना बुझेको मान्छेले मात्रै उहाँको समूह र शब्दयात्रा प्रकाशनलाई सहयोग गर्न सक्छ । उहाँले बुझ्नुभएको रहेछ र सहयोग गर्नुभयो । धेरै खुसी लाग्यो । त्यो जग्गा कहिले हेर्न पाइएला भन्ने लागिरहेको थियो । केही दिनअघि भाइ हिरण्य भोजपुरे, भाइबुहारी उर्मिला श्रेष्ठ र म बनेपा आयौँ । हरि मञ्जुश्रीले खुसी भएर जग्गा देखाउनुभयो । त्यही जग्गामा बनाइने भवनमा लेखक, पत्रकार र कलाकारहरूका लागि आरामदायी कक्ष र भोजन उपलब्ध गराएर सिर्जना र साधनामा सघाउने योजना छ भन्नुभयो । वाङ्मयसेवीहरूको सालिक राख्न पाए हुन्थ्यो भन्नुभयो । शब्दयात्रा प्रकाशनको यो योजना सफल होस्, शुभकामना छ । (सभापतिका रूपबाट अभिव्यक्त मन्तव्यको सम्पादित अंश)