काभ्रे जिल्लामा नेपालकै अग्रज र सर्वमान्य व्यक्तिहरूको सालिक स्थापना गरौं : गौरवशाली कीर्ति राखौं, प्रशंसित र अनुकरणीय बनौं

0
539

सालिक कसको राख्ने ?
नेपालको वाङ्मयिक क्षेत्रका निम्नलिखित चारजना महान् व्यक्तित्वको अर्धकदको सालिक काभ्रे जिल्लामा स्थापना गरिने भएको छ । उहाँहरू नेपालकै अग्रज र सर्वमान्य शब्दसाधकका रूपमा सुपरिचित हुनुहुन्छ ।
१. भाषा–साहित्य क्षेत्रको उन्नयनमा लागेबापत मृत्युवरण गर्नुभएका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी,
२. लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गर्नुभएका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा,
३. गीत–सङ्गीत क्षेत्रको प्रवद्र्धनका लागि पहिलोपटक स्वराङ्कन (गीत रेकर्ड) गर्नुभएकी गायिका मेलवादेवी गुरुङ,
४. निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गर्नुभएका शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारी

सालिक कहाँ राख्ने ?
शब्दयात्रा प्रकाशन नामक मुनाफा वितरण नगर्ने सामुदायिक संस्थाको स्वामित्वमा काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ११ मा केही जग्गा रहेको छ । त्यस जग्गालाई ‘कृष्ण–गीता परिसर’ नाम दिइएको छ । त्यो परिसर बनेपा र धुलिखेलको बीचमा पर्ने अग्लो र रमणीय स्थानमा रहेको छ । सालिक त्यहीँ राखिनेछ ।
१. सालिक रहने स्थानकै छेउमा नीलकण्ठेश्वर महादेवको मन्दिर छ । त्यसको उत्तरमा गोसाइँस्थान छ । उत्तर–पूर्वपट्टि रमणीय जङ्गल छ । त्यसभन्दा माथि नैमिषारण्य गुरुकुलम् र नेपालको नैमिषारण्य क्षेत्र छ । दक्षिणपट्टि अरनिको राजमार्ग छ । राजमार्गबाट नैमिषारण्य क्षेत्रसम्म जङ्गलको बीचबाट जान सिँढीहरू बन्ने क्रममा छ । त्यस स्थानको एक–एक किलोमिटर दूरीमा काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताल छन् ।
२. सालिक रहने स्थान अत्यन्त आकर्षक र मनोरम छ । जग्गासम्म नै सवारी साधन पुग्छ ।

सालिक किन राख्ने ?
नेपालकै महान् व्यक्तित्वका सालिकहरू एकै ठाउँमा राख्ता त्यसबाट काभ्रे जिल्लाले र काभ्रे जिल्लाका बासिन्दाले प्रशस्तै लाभ लिन पाउनेछन् ।
१. भाषा–साहित्य, पत्रकारिता–आमसञ्चार, गीत–सङ्गीत र शिक्षा–शिक्षण क्षेत्रसँग सम्बन्धित र ती विधालाई माया र सम्मान गर्ने व्यक्तिहरूका लागि काभ्रे जिल्ला आकर्षक गन्तव्य बन्नेछ ।
२. शैक्षिक, साहित्यिक, साङ्गीतिक र पत्रकारिता क्षेत्रका गतिविधिहरू बढ्नेछन् ।
३. चार विधाका शीर्ष व्यक्तित्वका चार सालिक एकै ठाउँमा राखेको पहिलो जिल्लाका रूपमा काभ्रे जिल्लाको नाउँ रहनेछ ।
४. इतिहासको संरक्षण गर्ने, योगदानको कदर गर्ने, सबैलाई सम्मान गर्ने र सकारात्मक सन्देश प्रवाह गर्ने जिल्लाका रूपमा काभ्रे जिल्लाको नाउँ आउनेछ ।
५. काभे्र जिल्लाको ख्याति र गौरव बढ्ने हुनाले आन्तरिक र बाह्य पर्यटकको वृद्धि भई व्यापार–व्यवसाय बढ्नेछ ।

सालिक कहिले राख्ने ?
२०७४ सालभित्र सालिकको अनावरण गरिनेछ । त्यस बखत विशेष कार्यक्रमको आयोजना गरिनेछ ।
१. भाषा–साहित्य, पत्रकारिता–आमसञ्चार, गीत–सङ्गीत र शिक्षा–शिक्षण क्षेत्रमा योगदान गरेका राष्ट्रकै मूद्र्धन्य व्यक्तित्वहरूलाई समुपस्थित गराइनेछ ।
२. चारैजना शब्दसाधकको जीवनी र योगदानका साथै सालिक निर्माण तथा स्थापना गर्नमा सहयोग गर्ने व्यक्ति वा संस्थाहरूको नाम, ठेगाना र सहयोगको स्वरूप (नगद, जिन्सी वा अन्य) आदिको उल्लेख भएको पुस्तक प्रकाशन गरी निःशुल्क वितरण गरिनेछ ।
३. जतिसुकै रकम सहयोग गरे पनि र जुनसुकै सामग्री सहयोग गरे पनि पुस्तकमा नाउँ र सहयोगको विवरण उल्लेख गरिनेछ ।

शिलापत्रमा के–के राख्ने ?
हरेक सालिकको तल शिलापत्र राखिनेछ ।
१. शिलापत्रमा सम्बन्धित शब्दसाधकको सङ्क्षिप्त जीवनी र योगदानको विवरण राखिनेछ ।
२. त्यसैको साथमा रहने अर्को शिलापत्रमा रु. ५००१।– भन्दा बढी आर्थिक–भौतिक सहयोग गर्ने दाताको नाम, ठेगाना र सहयोगको विवरण राखिनेछ ।

सहयोग कसरी गर्ने ?
१. रसिद लिई यथाशक्य आर्थिक सहयोग गरेर ।
२. निर्माण–सामग्री र अन्य सहयोग गरेर ।
३. श्रम सहयोग गरेर ।

हार्दिक अनुरोध ः
काभ्रे जिल्लाकै गौरवका रूपमा रहने यो कार्य ऐतिहासिक, चिरस्मरणीय र नमुनालायक कार्य हो । यस कार्यलाई सफल पार्नु आफ्नै कीर्ति राख्नु हो । किनभने यसले हामी सबैलाई गौरवान्वित बनाउनेछ । त्यसैले सालिक निर्माणका लागि आर्थिक, भौतिक, बौद्धिक र श्रम सहयोग गरौँ, अरूलाई पनि सहयोग गर्न प्रेरित गरौँ र कीर्ति राखेर भविष्यको पुस्ताका लागि आदर्श बनौँ ।

शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा — १०, काभ्रे