Home Blog Page 83

नमारिएका सहिदहरु

नमारिएका सहिदहरु

नवीना श्रेष्ठको कथासङ्ग्रह ‘नमारिएका सहिदहरू’ सामाजिक, आर्थिक र राजनीतिक विसङ्गतिले जर्जर पारिदिएको नेपाली समाजको विगतकालीन र वर्तमानकालीन चित्र हो । सुख–दुःख, हाँसो–रोदन, सङ्गति–विसङ्गति, ठीक–बेठीक, राम्रो–नराम्रो सबै कुराको मिश्रण यसभित्रका कथाहरूमा छन् । भौतिक दुःख हुँदा पनि झर्ने गरेको हर्षाश्रु र भौतिक सुख हुँदा पनि झर्ने गरेको दुःखाश्रु पनि यहाँ देख्न सकिन्छ । यस्तो स्थितिलाई जसरी परिभाषित गरे पनि त्यस्तो स्थितिले पारेको प्रभाव, अनेक प्रकारका वितृष्णा र विद्रूपता आदि मात्र नभई सुखद सङ्घटना आदि पनि यसभित्र भएकाले यी सामाजिक र मनोवैज्ञानिक सङ्कथनहरूले कथाहरूलाई पठनीय बनाइदिएका छन् ।

समाजका कर्मवीर

समाजका कर्मवीर

‘समाजका कर्मवीर’ पुस्तकमा दामोदर घिमिरेले आफूलाई प्रेरक लागेका व्यक्तिहरूको चिनारी र कर्मशीलताको विवरण परिचयात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । कर्मशील २२ व्यक्तित्व यस पुस्तकभित्र परेका छन् । जीवित रहेका र दिवङ्गत भएका दुवैथरिको जमघट भएको यस पुस्तकका लेखहरू यसअघि छापिएका र यसैमा पहिलोपल्ट छापिएका गरी दुवैथरि छन् । यस पुस्तकले नेपाली वाङ्मयमा पुस्तक र पुस्तकलेखक दुवैको छुट्टै चिनारी कायम गर्नेछ ।

हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र

हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र

नेपाली समाजमा बहुप्रचलित ‘हनुमान चालीसा’ र ‘बटुकभैरव स्तोत्र’ प्रकाशन गराई निःशुल्क वितरण गर्ने चाहना राख्नुभएका सहदीप पलान्चोकेले आफूले सङ्कलन गरेका दुवै स्तोत्र र कृष्णमाया पलान्चोकेबाट आर्थिक सहयोगसमेत उपलब्ध गराउनुभएकाले यो पुस्तिका प्रकाशन हुन सकेको हो ।

चाणक्यनीति दर्पण

चाणक्यनीति दर्पण

‘चाणक्यनीति दर्पण’ श्रीधर प्याकु¥यालको काव्यानुवादको अर्को शृङ्खला हो । यसमा उहाँले यथासम्भव समच्छन्दमा समश्लोकी अनुवाद गर्ने प्रयास गरेर आचार्य विष्णुगुप्त चाणक्यका नीतिहरूलाई नेपालीभाषी पाठकका बीचमा थप परिचय गराउने प्रयास गर्नुभएको छ । नेपाली भाषामा लय हालेर चाणक्यनीति पढ्न नपाएका वर्तमान पुस्ताका पाठकका लागि यस पुस्तकले त्यो अभावको पूर्ति गराउनेछ र यसभित्रका नीतिश्लोकहरूलाई मनन गरी पाठकहरू आफ्नो जीवनलाई अझ गरिमामय बनाउन सक्नेछन् ।

चण्डेश्वरी भजन सफू

चण्डेश्वरी भजन सफू

दिलबहादुर श्रेष्ठद्वारा सङ्कलित ‘चण्डेश्वरी भजन सफू’ काभ्रे बनेपाको चण्डेश्वरी मन्दिरमा र अन्य मन्दिरहरूमा भजनियाहरूले गाउने भजनहरूको सङ्ग्रह हो ।

प्रेम प्रणाम

प्रेम प्रणाम

तुतुकाजी प्रणामी श्रेष्ठको प्रस्तुत पुस्तिका ‘प्रेमप्रणाम’ मा पहिले कवितात्मक अभिव्यक्ति र पछि गद्यात्मक अभिव्यक्ति राखिएका छन् । यो पुस्तिका श्रीकृष्णप्रणामी निजानन्द सम्प्रदायका पाठकहरूलाई त पठनीय हुने नै छ, अन्य पाठकहरूका लागि पनि उपयुक्त पठनसामग्री हुनेछ ।

स्वार्थी मान्छे

स्वार्थी मान्छे

आफ्नो मनका वेदनाहरू, आस्था र विचारका प्रसङ्गहरू, सामाजिक र राजनीतिक सन्दर्भहरू ‘स्वार्थी मान्छे’ भित्रका रचनाका विषयवस्तु बनेका छन् । यस कृतिलाई कृतिकार टेकलाल भारतीले ‘गजलसङ्ग्रह’ भन्नुभएको छ । २०७१ सालदेखि हालसम्म अनवरत रूपमा प्रत्येक वर्ष उहाँको एउटा पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन हुने गरेको छ । त्यसै क्रममा २०७५ सालमा यो पुस्तक प्रकाशनमा आएको हो ।

धनेश्वर भजनमाला

धनेश्वर भजनमाला

‘धनेश्वर भजनमाला’ मा नेपाली, नेवारी र हिन्दी भाषामा लेखिएका र गाउने गरिएका एक सय आठवटा चर्चित भजन तथा आरतीहरू सङ्कलित छन् । सङ्कलित भजनहरू पुराना र नयाँ दुवै प्रकारका छन् । विभिन्न मन्दिरहरूमा गाइने यी भजनहरूको सङ्कलन गरेर सहदीप पलान्चोकेले नेपाली आध्यात्मिक जगत्लाई ठूलो गुन लगाउनुभएको छ ।

पञ्चमाता

पञ्चमाता

केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘पञ्चमाता’ मातासँग सम्बन्धित रहेर हिन्दूधार्मिक संस्कृतिका उपजीव्य विषयवस्तुहरू लिई लेखिएको विचारप्रधान पुस्तक हो । प्रस्तुत पुस्तकले आजको युवा पुस्तालाई र भविष्यको पुस्तालाई समेत चिन्तनशील बनाउने सामथ्र्य राखेको त छँदैछ, त्यसबाहेक कृतिका कृतिकारको वैचारिक र बौद्धिक परिचय कस्तो छ र लेखनको शक्तिवत्ता कति छ भन्ने कुरा पनि देखाएको छ । उत्तर–आधुनिक युगको दुहाइ दिएर पौरस्त्य वाङ्मयमा रहेको बौद्धिक खजानालाई मर्दन गर्न खोज्ने वर्तमान प्रवृत्तिमाथि परोक्ष रूपले सप्रमाण प्रहार गर्नु यसको विशेषता हो ।

सम्झना बुबाको

सम्झना बुबाको

‘सम्झना बुबाको’ नामक प्रस्तुत पुस्तक यस पुस्तकका सङ्कलक जगन्नाथ गिरीले आफ्ना बुबा तिलकबहादुर गिरीको स्मृतिमा तयार पार्नुभएको हो । ऐतिहासिक पृष्ठभूमि र वंशविवरणका अतिरिक्त शोकावस्थामा भेट गर्न आउने व्यक्तिहरूको सूची, शोकसन्देशहरू, समवेदना विज्ञापनहरू, क्रियाकर्मका लागि आवश्यक सामग्रीहरूको सूची र केही तस्बिरहरू समावेश गरिएको यो कृति हरेक परिवारका लागि यस्तै खालको अभिलेख राख्नुपर्ने रहेछ भन्ने सन्देश दिन सफल बनेको छ ।