Home Blog Page 30

पत्रकार छान्ने ‘प्रकास’

0
हरेक वर्षझैँ आगामी मङ्सिर महिनामा पनि शब्दयात्रा प्रकाशनले काभ्रेपलाञ्चोक जिल्लाका छापा माध्यममा सक्रिय पत्रकार, विद्युतीय माध्यममा सक्रिय पत्रकार र फोटो पत्रकार गरी तीनजना पत्रकारलाई २०८१ सालका लागि ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ समर्पण गर्नेछ । कदर गर्नुपर्ने पत्रकारहरूको चयन शब्दयात्रा प्रकाशनका तर्फबाट प्रदीप केसी, कालिका त्रिपाठी पन्त र सहदीप पलान्चोके (प्रकास) ले गर्नुहुनेछ ।

वेदप्रसाद गौतमको ‘पृथ्वीमा मानिसका जीवनयात्रा’ सार्वजनिक, बिक्रीबाट उठेको सम्पूर्ण रकम सामाजिक संस्थालाई प्रदान

0

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा काभ्रेपलान्चोक जिल्लाका वाङ्मयिक प्रतिभा वेदप्रसाद गौतमद्वारा लिखित ‘पृथ्वीमा मानिसका जीवनयात्रा’ नामक लेखसङ्ग्रह हिजो कार्तिक १० गते शनिबार काठमाडौँमा सार्वजनिक गरियो । कोशकार चूडामणि गौतमको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तक र लेखकका बारेमा शिक्षासेवी चूडाप्रसाद चौलागाईंले जानकारी गराउनुभएको थियो भने साहित्यसेवी नवीना श्रेष्ठले शुभकामना मन्तव्य र साहित्यकार लीलादेवी श्रेष्ठले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो ।
‘पृथ्वीमा मानिसका जीवनयात्रा’ वेदप्रसाद गौतमद्वारा लिखित पहिलो तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २३९ औँ पुस्तक हो । कार्यक्रममा कृतिकार वेदप्रसाद गौतमले पुस्तक लेख्नुको कारणका बारेमा जानकारी गराउनुभएको थियो ।
‘पृथ्वीमा मानिसका जीवनयात्रा’ पुस्तकको मूल्य ५ सय रुपियाँ राखिएको भए पनि कार्यक्रममा स्वेच्छाले न्यूनतम ५ रुपियाँसम्ममा किन्न सकिने व्यवस्था गरिएको थियो । त्यसरी बिक्रीबाट उठेको सम्पूर्ण रकम शब्दयात्रा प्रकाशनका तर्फबाट चन्द्रबहादुर खड्काले सेवक नेपाल नामक संस्थाका लागि प्रमोद तिमल्सिनालाई प्रदान गर्नुभएको थियो । काभ्रेपलान्चोक जिल्लाको मन्डन देउपुरमा आश्रम बनाई ३ दर्जनजति असहाय बालबालिकाको पालनपोषण गरेर पढाइरहेको सेवक नेपाल संस्थालाई आर्थिक सहयोग गर्न शब्दयात्रा प्रकाशनका तर्फबाट सो रकम प्रदान गरिएको थियो ।
शब्दयात्रा प्रकाशनद्वारा आयोजित उक्त कार्यक्रमको समुद्घाटन प्रा. केदारनाथ श्रेष्ठले, सञ्चालन कृष्णमणि कुइकेलले, छायाङ्कन तथा स्वराङ्कन इ. रोशन मञ्जुश्री अधिकारीले, रुद्राक्षको माला समर्पण जयनारायण नेपालले, सार्वजनिकीकरणको व्यवस्थापन कालिका त्रिपाठी पन्तले र अतिथिहरूलाई उपहार समर्पण पुण्यवती घलेले गर्नुभएको थियो ।

‘हामी नसुतौं उठौं’ जागरण गान आजदेखि सुन्न सकिने

0

हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध ‘हामी नसुतौं उठौं’ नामको जागरण गान नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको आयोजनामा आज कार्तिक १० गते शनिबार आयोजित कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटाले उक्त गानलाई सार्वजनिक गर्नुभएको हो । उहाँले हरि मञ्जुश्री ६ दशक उमेर पार गरिसकेपछि गीत–सङ्गीत क्षेत्रमा प्रवेश गर्नुभएको बताउँदै आफ्नै शब्द, सङ्गीत र स्वरमा १ वर्षभित्र उहाँका ८–९ वटा गानहरू सार्वजनिक भएको जानकारी दिनुभयो र उहाँका गानहरूले छोटो समयमै नेपाली गीत–सङ्गीत क्षेत्रमा छुट्टै तरङ्ग ल्याएको कुरा बताउनुभयो । उक्त कार्यक्रममा त्यस गानका गायक–गायिका इ. रोशन मञ्जुश्री अधिकारी र अम्बिका थापा खड्कालाई अग्रज गायिका चन्द्रकला शाहले रुद्राक्षको माला लगाइदिएर आशीर्वाद र सफलताको शुभकामना दिनुभएको थियो । जागरण गान अक्षरधामको यु–ट्युब च्यानलबाट सुन्न सकिन्छ ।
हरि मञ्जुश्रीका अनुसार चेतनामूलक र ज्ञानवर्धक जागरण गानका माध्यमबाट नयाँँ पुस्तालाई आफ्नो राष्ट्रियता, मौलिकता, स्वाभिमान र अस्तित्वको चिनारी गराइदिन र समाजलाई सकारात्मक दिशातिर लैजान यो गान तयार पारिएको हो । यसमा रहेका शब्दहरूमा वर्तमान नेपाली पुस्ताको मनोभाव प्रकट गरिएको र यसको सङ्गीत समेत युवा पुस्ताले गाउन सजिलो हुने गरी सिर्जना गरिएको कुरा पनि उहाँले जानकारी दिनुभएको छ ।

२३९. पृथ्वीमा मानिसका जीवनयात्रा

वेदप्रसाद गौतमद्वारा लिखित ‘पृथ्वीमा मानिसका जीवनयात्रा’ नामक लेखसङ्ग्रहमा उहाँले विभिन्न समयमा लेख्नुभएका १९ वटा लेखहरू सङ्कलित छन् । यसमा न्यूनतम ३ पृष्ठदेखि अधिकतम ७९ पृष्ठसम्मका लेखहरू छन् । ‘पृथ्वी, प्राकृतिक स्रोत र मानिस’ बाट प्रारम्भ भएको यो पुस्तक ‘पृथ्वीमा मानिसका जीवनयात्रा’ मा समाप्त भएको छ । बीचमा आत्मजीवनी पनि परेको छ । यी लेखहरू आद्योपान्त अध्ययन गर्दा कतै–कतै पुनरुक्तिदोष जस्तो देखिए पनि प्रसङ्ग अनुसार आएकाले तिनलाई सामान्य नै मान्नुपर्ने हुन्छ । समग्रमा पुस्तक पठनीय र मननीय छ ।

गोलसिमल सम्मानित

0

साहित्यिक पत्रकारिताको क्षेत्रमा लामो समयसम्म निरन्तर सेवा गर्नुका साथै लेखन, अन्वेषण र सम्पादन विधाका महान् साधकहरूका विषयमा महत्त्वपूर्ण सामग्रीहरू प्रकाशन गरेर नेपाली भाषा–साहित्यको श्रीबृद्धिमा अतुल्य योगदान गरेकोमा साहित्यिक पत्रकार अच्युतप्रसाद अधिकारीद्वारा सम्पादित ‘गोलसिमल’ नामक साहित्यिक पत्रिका (सर्लाही) लाई ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान, २०८१’ समर्पण गरिएको छ । कार्यक्रममा अच्युतप्रसाद अधिकारी उपस्थित हुन नसक्नुभएको हुँदा उहाँलाई उपलब्ध गराउने गरी गीता अधिकारीलाई पदम दाहालले माला, वासुदेव काफ्लेले उपहार, कृष्णमणि कुइकेलले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था आफ्नी आमाको स्मृति र सम्मानमा प्रथम साहित्यिक हुतात्मा कृष्णलाल अधिकारीको नाउँमा समर्पण गर्ने गरी कवि योगेन्द्र खत्री (भोजपुर) ले गर्नुभएको हो ।

अभिनेताको आत्मकथा सार्वजनिक

0

प्रसिद्ध रङ्गकर्मी तथा नाट्य–अभिनेता हरिबहादुर थापाले लेख्नुभएको ‘रङ्गमञ्चमा म’ नामक आत्मकथात्मक कृतिलाई हिजो असोज १६ गते बुधबार सार्वजनिक गरियो । पुस्तक सार्वजनिकीकरण समारोह अग्रज संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःको प्रमुख आतिथ्य र हरि मञ्जुश्रीको सभापतित्वमा भएको थियो । पुस्तकलाई प्रमुख अतिथि, सभापति र कृतिकारका साथमा डा. अभि सुवेदी, डा. दयाराम श्रेष्ठ, नीर शाह र डा. सावित्री कक्षपतिले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो । समारोहमा कृतिकार हरिबहादुर थापाले विगतमा आफूले अभिनय गरेका नाट्यकृतिका केही अंशहरू प्रस्तुत गर्नुभएको थियो । समारोहमा पुस्तक बिक्रीबाट उठेको सम्पूर्ण रकम असहाय बालबालिका र बृद्धबृद्धाहरूको स्याहारसुसार गरिरहेको संस्था तुलसालय फाउन्डेसनको सहयोगका लागि सञ्चालक सरु सुवेदीलाई मिठु थापाले प्रदान गर्नुभएको थियो । पुस्तकको प्रकाशक तथा कार्यक्रमको आयोजक शब्दयात्रा प्रकाशन थियो । काठमाडौँको भाटभटेनीमा अवस्थित आम्रपाली ब्यान्क्वेटमा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार तथा पत्रकारहरूको समुपस्थिति थियो । जनसञ्चार टेलिभिजनले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो । समारोहमा इ. रोशन अधिकारी, शारदाप्रसाद शर्मा, कृष्णमणि कुइकेल, कालिका त्रिपाठी पन्त, केदारनाथ तिमल्सिना, वेदप्रसाद गौतम आदिले विभिन्न सहयोगी भूमिका निर्वाह गर्नुभएको थियो । ‘रङ्गमञ्चमा म’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २३७ औँ कृति हो ।

एउटा मात्रै गोडाबाट नृत्य गर्ने नृत्याङ्गना सम्मानित

0

सानै उमेरमा दुर्घटनाबाट एउटा गोडा गुमाएर पनि वाङ्मय क्षेत्रको सेवा गर्ने उद्देश्यका साथ साहसपूर्वक नृत्य विधामा लाग्नुभएकी तथा एउटा मात्रै गोडाबाट नृत्य गर्ने नेपालकै प्रथम नृत्याङ्गना बनेर नेपालका विभिन्न जिल्ला र विदेशमा समेत आफ्नो नृत्यकौशल प्रस्तुत गरी शारीरिक विकलाङ्ग व्यक्तिहरूका लागि प्रेरणाको अजस्र स्रोत बन्नुभएकी रोमा न्यौपाने (मोरङ) लाई ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान, २०८१’ समर्पण गरिएको छ । उहाँलाई पदम दाहालले माला, रेजिना तुलाधरले उपहार, द्रोणप्रसाद श्रेष्ठले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको नाउँमा समर्पण गर्ने गरी आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ (भोजपुर) ले गर्नुभएको हो ।

अच्युतप्रसाद पौडेल ‘चिन्तन’ सम्मानित

0

विभिन्न पत्रिकामा आध्यात्मिक स्तम्भलेखन, टेलिभिजनमा आध्यात्मिक कार्यक्रम सञ्चालन, प्रवचन र आध्यात्मिक पुस्तकहरूको लेखन–प्रकाशन गरी सनातन धर्म–संस्कृति, आध्यात्मिक भावना, नैतिक चरित्र एवं मौलिक परम्परासँग सम्बन्धित विषयमा पाठकलाई यथार्थ जानकारी दिनुभएकोमा आध्यात्मिक लेखक ंतथा स्तम्भकार अच्युतप्रसाद पौडेल ‘चिन्तन’ (काठमाडौँ) लाई ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान, २०८१’ समर्पण गरिएको छ । उहाँलाई पदम दाहालले माला, बलदेव थापाले उपहार, कृष्णमणि कुइकेलले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था समाजसेवी सुदर्शन आचार्य (काभ्रेपलान्चोक) ले आबाल ब्रह्मचारी षडानन्द अधिकारीको सम्मानमा गर्नुभएको हो ।

सबै सम्पत्ति दान गर्ने ९१ वर्षकी दाता सम्मानित

0

आफूले आर्जन गरेको सबै सम्पत्ति समर्पण गरेर दुई दशकअघि चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ मा ‘असहाय बृद्ध कल्याण समाज’ खोल्नुभएकी तथा शारीरिक रूपमा अशक्त र ९१ वर्षकी बृद्धा भएर पनि १३ जना बृद्धबृद्धाको पालनपोषण र सेवा गरिरहेर समाजसेवाका क्षेत्रमा अरूका लागि प्रेरणाको अजस्र स्रोत बन्नुभएकी नीरकला शर्मा अधिकारी (चितवन) लाई ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान, २०८१’ समर्पण गरिएको छ । उहाँको प्रतिनिधिका रूपमा उपस्थित निर्मला कार्कीलाई पदम दाहालले माला, रोमा न्यौपानेले उपहार, बेलप्रसाद श्रेष्ठले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था प्रसिद्ध समाजसेवी बेलप्रसाद श्रेष्ठ (काभ्रेपलान्चोक) ले गर्नुभएको हो ।

अमर निवास सम्मानित

0

राष्ट्रिय तथा आध्यात्मिक गौरवयुक्त सम्पदाको संरक्षण, संवर्धन र प्रचारप्रसार गराई सामाजिक पुनर्जागरण गराउन कविप्रसाद गौतमद्वारा छ दशकअघि स्थापना भई चन्द्रमणि सिग्देलको नेतृत्वमा अघि बढेर मानव कल्याणका लागि विभिन्न प्रकारका यज्ञहरूको आयोजना गर्नुका साथै अन्य आध्यात्मिक गतिविधिहरू पनि सञ्चालन गरिरहेको अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डल (‘अमर निवास’, काभ्रेपलान्चोक) लाई ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान, २०८१’ समर्पण गरिएको छ । संस्थाका तर्फबाट उपस्थित हुनुभएका अध्यक्ष वासुदेव काफ्लेलाई पदम दाहालले माला, अच्युतप्रसाद पौडेल ‘चिन्तन’ ले उपहार, कृष्णमणि कुइकेलले भेटी, हरि मञ्जुश्रीले किरीट र चन्द्रबहादुर खड्काले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रम हरि मञ्जुश्रीको सभापतित्व र बेलप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा यही असोज ११ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको थियो । यस सम्मानको व्यवस्था जग्गादाता कृष्णमणि कुइकेलको सम्मानमा शब्दयात्रा प्रकाशनले गरेको हो ।