तीन हजार रुपियाँ आर्थिक सहयोग
षडानन्द अधिकारीको जन्मजयन्ती शब्दयात्रा प्रकाशनमा
आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १९० औं जन्मजयन्तीका अवसरमा यही २०८१ मङ्सिर २१ गते शुक्रबार शब्दयात्रा प्रकाशनले आफ्नै सभाकक्षमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहमा ४ जना अनुसन्धातालाई विद्वतवृत्ति, ३ जना पत्रकारलाई कदरपत्र र २ जना छात्रालाई छात्रवृत्ति समर्पण गरिएको थियो । उक्त कार्यक्रममा सुदीप अधिकारीद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २४२ औँ पुस्तक ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’, रश्मि हुमागाईं र इ. रोशन अधिकारीद्वारा सम्पादित ‘पाठकका आँखामा हरि मञ्जुश्री’ पुस्तिका र हरि मञ्जुश्रीको शब्द र सङ्गीतमा इ. रोशन अधिकारी र अम्बिका थापा खड्काले गाएको ‘म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस्’ गानलाई सार्वजनिक गरिएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा समालोचक प्रा. डा. कुलप्रसाद कोइराला प्रमुख अतिथि तथा विश्लेषक अनारसिंह कार्की र फोटो पत्रकार प्रदीपराज वन्त विशेष अतिथि रहनुभएको उक्त कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
कृष्णमणि कुइकेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन इ. रोशन अधिकारीले, अतिथिलाई रुद्राक्षमाला अर्पण केदारनाथ तिमल्सिनाले, पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन लीलादेवी श्रेष्ठले, सामग्रीको व्यवस्थापन सङ्गीता केसीले, छात्रवृत्तिको प्रमाणपत्र वाचन वेदप्रसाद गौतमले, विद्वतवृत्तिको प्रमाणपत्र वाचन अच्युत अधिकारीले, कदरपत्रको प्रमाणपत्र वाचन दण्डपाणि अधिकारीले, चयन समितिका सदस्यलाई उपहार समर्पण डा. इन्दुल केसीले र कार्यक्रमको समीक्षासहित सभाविसर्जन प्रा. डा. बलराम उपाध्याय रेग्मीले गर्नुभएको थियो । उक्त कार्यक्रममा षडानन्द अधिकारी र मनका श्रेष्ठको तस्बिरमा पुष्पार्पण गरी सम्पूर्ण गतात्माहरूको आत्मशान्तिका लागि एक मिनेट मौनधारण गरिएको थियो ।
लघुकथा सम्मानका लागि शब्दयात्रा प्रकाशनमा अक्षयकोष
तीन पत्रकारलाई कदर
शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाको प्रतिभाका रूपमा तीनजना पत्रकारलाई २०८१ सालको ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ समर्पण गरेको छ ।
फोटो पत्रकारिताका माध्यमबाट जन्मजिल्लाको ऐतिहासिक परिचय कायम गराउन सफल हुनुभएकोमा केशवराज पौडेललाई, विद्युतीय पत्रकारिताका माध्यमबाट पत्रकारिताका क्षेत्रमा आफ्नो अमिट छाप राख्न सफल हुनुभएकोमा कपिल कोइरालालाई र छापा पत्रकारिताका क्षेत्रमा योगदान दिई त्यसको व्यवस्थापन कौशलबाट अमिट छाप राख्न सफल हुनुभएकोमा प्रह्लाद शर्मा हुमागाईंलाई कदरपत्र समर्पण गरिएको हो ।
यही मङ्सिर २१ गते आयोजित कार्यक्रममा उहाँहरूलाई कदरपत्र व्यवस्थापक हरिगोपाल प्रधान, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त र प्रमुख अतिथि प्रा. डा. कुलप्रसाद कोइरालाले पुष्पमाला, उपहार र प्रमाणपत्र समर्पण गर्नुभएको थियो ।
चारजनालाई विद्वतवृत्ति समर्पण
शब्दयात्रा प्रकाशनले यही मङ्सिर २१ गते चारजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको लघु अनुसन्धान परियोजना अन्तर्गत २०८१ सालको विद्वतवृत्ति प्राप्त गर्नेहरू जयनारायण नेपाल, रश्मि हुमागाईं, पुण्यवती घले र अमृत अधिकारी हुनुहुन्छ ।
साहित्य, साझा–सहकारी, रेडक्रस, महिला सशक्तीकरण, ज्येष्ठ नागरिक सेवा, मानव–अधिकार आदि क्षेत्रमा समाजसेवी सावित्री जङ्गम थापाले गर्नुभएको योगदानका विषयमा अनुसन्धान गर्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी सावित्री जङ्गम थापाको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वत्वृत्ति’ समाजसेवी तथा साहित्यकार सावित्री जङ्गम थापाका साहित्यिक कृतिहरूको समीक्षा गरी प्रकाशनयोग्य पुस्तक तयार पार्न जयनारायण नेपालमा समर्पण गरिएको छ ।
काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित रहेर शब्दयात्रा प्रकाशनले तोकेको विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धानलाई हरेक वर्ष प्रदान गर्ने गरी बनेपा घर भई हाल अमेरिका बस्ने विदुर विष्टबाट आफ्ना दिदी–भिनाजुको स्मृतिमा आर्थिक व्यवस्थापन गरेर शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वत्वृत्ति’ विभिन्न विधामा सक्रिय रही योगदान गरेका काभ्रेपलान्चोक जिल्लाका प्रतिभाहरूको जीवनी अङ्ग्रेजी भाषामा तयार पार्नका लागि रश्मि हुमागाईंमा समर्पण गरिएको छ ।
काभ्रेपलान्चोक जिल्लाका प्रतिभा सुभाष खड्का र उहाँको स्मृतिमा स्थापित संस्था सुभाष स्मृति प्रतिष्ठानसँग सम्बन्धित विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट लेखक तथा पूर्वप्रशासक चन्द्रबहादुर खड्काको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वत्वृत्ति’ सुभाष खड्काको जीवनी, व्यक्तित्व र योगदानका विषयमा शोधप्रबन्ध तयार पार्न पुण्यवती घलेमा समर्पण गरिएको छ ।
भोजपुुर जिल्लाको शैक्षिक इतिहासका विषयमा अनुसन्धान गर्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी भोजपुर जिल्लाका शैक्षिक तपस्वी प्रा. केदारनाथ श्रेष्ठको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा प्रा. केदारनाथ — लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वत्वृत्ति’ यसअघिका दुई वर्षमा भोजपुर अनुसन्धान विद्वतवृत्ति अन्तर्गत प्राप्त भएका अनुसन्धान प्रतिवेदनहरूलाई समायोजन गरी एउटै पुस्तकका रूपमा मुद्रण गर्न योग्य बनाइदिन अमृत अधिकारीमा समर्पण गरिएको छ ।
विद्वतवृत्तिका रूपमा रुद्राक्षमाला, उपहार, प्रमाणपत्र र रकम विशेष अतिथि अनारसिंह कार्की र प्रमुख अतिथि प्रा. डा. कुलप्रसाद कोइरालाले संयुक्त रूपमा समर्पण गर्नुभएको थियो ।
विद्वत्वृत्ति प्राप्त गर्नुभएकोमा जयनारायण नेपाल, रश्मि हुमागाईं, पुण्यवती घले र अमृत अधिकारीप्रति शब्दयात्रा प्रकाशन हार्दिक बधाई ज्ञापन गर्दछ ।
दुई छात्रालाई शब्दयात्रा छात्रवृत्ति समर्पण
यही मङ्सिर २१ गते शब्दयात्रा प्रकाशनले दुई छात्रालाई छात्रवृत्ति समर्पण गरेको छ । ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति, २०८१’ बनेपाको काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तह चतुर्थ वर्षमा पत्रकारिता विषय लिई अध्ययनरत छात्रा धुलिखेल — ४ निवासी अनिशा खत्रीमा समर्पण गरिएको छ । काभ्रेपलान्चोक जिल्लाको कलेजमा पत्रकारिता विषय लिई पढ्ने गरिब तथा जेहेन्दार यसै जिल्लाकी छात्रालाई शब्दयात्रा प्रकाशनमार्फत हरेक वर्ष प्रदान गर्ने गरी भोजपुर देउराली घर भई हाल काठमाडौंको पेप्सिकोलामा बस्ने लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा यस छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गर्नुभएको हो । छात्रवृत्तिका रूपमा छात्रवृत्ति अक्षयकोषका संस्थापक द्रोणप्रसाद श्रेष्ठले अनिशा खत्रीलाई रुद्राक्षमाला, उपहार, प्रमाणपत्र र दस हजार रुपियाँ प्रदान गर्नुभएको छ ।
यसै गरी भोजपुर जिल्लाको दिङ्ला तुङ्गेछा घर भई हाल काठमाडौंको शङ्खमूलमा बस्ने कवि तथा सहप्राध्यापक डा. रूपनारायण श्रेष्ठले शारीरिक रूपमा विकलाङ्ग र आर्थिक रूपमा विपन्न तर अध्ययनमा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्ने गरी आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठका नाउँमा शब्दयात्रा प्रकाशनमा राख्नुभएको ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ २०८१ सालका लागि भक्तपुरको आदर्श निकेतन माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययन गरिरहेकी १४ वर्षकी विकलाङ्ग छात्रा रोशनी खत्रीमा समर्पण गरिएको छ । छात्रवृत्ति अक्षयकोषका संस्थापक डा. रूपनारायण श्रेष्ठका तर्फबाट शिक्षासेवी माधवप्रसाद आचार्यले रोशनी खत्रीलाई छात्रवृत्तिका रूपमा रुद्राक्षमाला, उपहार, प्रमाणपत्र र दस हजार रुपियाँ प्रदान गर्नुभएको छ ।
छात्रवृृत्ति प्राप्त गर्नुभएकोमा छात्राद्वय अनिशा खत्री र रोशनी खत्रीलाई बधाई ज्ञापन गर्दै छात्रवृत्ति अक्षयकोषका व्यवस्थापकद्वय द्रोणप्रसाद श्रेष्ठ र डा. रूपनारायण श्रेष्ठप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

