Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesचारजनालाई विद्वतवृत्ति समर्पण

चारजनालाई विद्वतवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले यही मङ्सिर २१ गते चारजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको लघु अनुसन्धान परियोजना अन्तर्गत २०८१ सालको विद्वतवृत्ति प्राप्त गर्नेहरू जयनारायण नेपाल, रश्मि हुमागाईं, पुण्यवती घले र अमृत अधिकारी हुनुहुन्छ ।
साहित्य, साझा–सहकारी, रेडक्रस, महिला सशक्तीकरण, ज्येष्ठ नागरिक सेवा, मानव–अधिकार आदि क्षेत्रमा समाजसेवी सावित्री जङ्गम थापाले गर्नुभएको योगदानका विषयमा अनुसन्धान गर्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी सावित्री जङ्गम थापाको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वत्वृत्ति’ समाजसेवी तथा साहित्यकार सावित्री जङ्गम थापाका साहित्यिक कृतिहरूको समीक्षा गरी प्रकाशनयोग्य पुस्तक तयार पार्न जयनारायण नेपालमा समर्पण गरिएको छ ।
काभ्रेपलान्चोक जिल्लासँग सम्बन्धित रहेर शब्दयात्रा प्रकाशनले तोकेको विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धानलाई हरेक वर्ष प्रदान गर्ने गरी बनेपा घर भई हाल अमेरिका बस्ने विदुर विष्टबाट आफ्ना दिदी–भिनाजुको स्मृतिमा आर्थिक व्यवस्थापन गरेर शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वत्वृत्ति’ विभिन्न विधामा सक्रिय रही योगदान गरेका काभ्रेपलान्चोक जिल्लाका प्रतिभाहरूको जीवनी अङ्ग्रेजी भाषामा तयार पार्नका लागि रश्मि हुमागाईंमा समर्पण गरिएको छ ।
काभ्रेपलान्चोक जिल्लाका प्रतिभा सुभाष खड्का र उहाँको स्मृतिमा स्थापित संस्था सुभाष स्मृति प्रतिष्ठानसँग सम्बन्धित विषयमा प्रकाशनयोग्य सामग्री तयार पार्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट लेखक तथा पूर्वप्रशासक चन्द्रबहादुर खड्काको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वत्वृत्ति’ सुभाष खड्काको जीवनी, व्यक्तित्व र योगदानका विषयमा शोधप्रबन्ध तयार पार्न पुण्यवती घलेमा समर्पण गरिएको छ ।
भोजपुुर जिल्लाको शैक्षिक इतिहासका विषयमा अनुसन्धान गर्ने अनुसन्धातालाई शब्दयात्रा प्रकाशनद्वारा हरेक वर्ष प्रदान गर्ने गरी भोजपुर जिल्लाका शैक्षिक तपस्वी प्रा. केदारनाथ श्रेष्ठको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा प्रा. केदारनाथ — लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वत्वृत्ति’ यसअघिका दुई वर्षमा भोजपुर अनुसन्धान विद्वतवृत्ति अन्तर्गत प्राप्त भएका अनुसन्धान प्रतिवेदनहरूलाई समायोजन गरी एउटै पुस्तकका रूपमा मुद्रण गर्न योग्य बनाइदिन अमृत अधिकारीमा समर्पण गरिएको छ ।
विद्वतवृत्तिका रूपमा रुद्राक्षमाला, उपहार, प्रमाणपत्र र रकम विशेष अतिथि अनारसिंह कार्की र प्रमुख अतिथि प्रा. डा. कुलप्रसाद कोइरालाले संयुक्त रूपमा समर्पण गर्नुभएको थियो ।
विद्वत्वृत्ति प्राप्त गर्नुभएकोमा जयनारायण नेपाल, रश्मि हुमागाईं, पुण्यवती घले र अमृत अधिकारीप्रति शब्दयात्रा प्रकाशन हार्दिक बधाई ज्ञापन गर्दछ ।