शब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन गरिएको छ । हालका लागि पाँचजनाको कार्यसमिति बनाइएको छ । पुनर्गठित कार्यसमितिमा सभापति ओतबहादुर खड्का, सचिव रामप्रसाद शर्मा तिमल्सिना, कोषाध्यक्ष टेकलाल भारती आदर्श तथा सदस्य भरतराज महत र उद्धवप्रसाद नेपाल रहनुभएको छ ।
निवर्तमान सभापति डा. श्याम भट्टराईको सभापतित्वमा बसेको यसअघिको कार्यसमितिको बैठकले शब्दयात्रा लेखक समाजको कार्यसमिति पुनर्गठन गरिदिन शब्दयात्रा प्रकाशनलाई आग्रह गरेको हुँदा शब्दयात्रा लेखक समाजको कायसमिति पुनर्गठन गरिएको हो ।
शब्दयात्रा प्रकाशनले दैवी विपत्तिबाट पीडित लेखक तथा पत्रकारहरूलाई आर्थिक सहयोग गर्न स्थापना गरेको अक्षरसेवी सहयोग कोषका लागि सहयोग गर्न शब्दयात्रा नारी स्रष्टा समाज, शब्दयात्रा पत्रकार समाज र शब्दयात्रा लेखक समाजले एकल कविता वाचन गराउने, त्यसका लागि शुल्कसहितको टिकटको व्यवस्था गरिने र टिकट बिक्रीबाट उठेको रकम अक्षरसेवी सहयोग कोषमा राखिने जानकारी शब्दयात्रा नारी स्रष्टा समाजका उपसभापति पुण्यवती घलेले गराउनुभएको छ । उहाँका अनुसार त्यो कोषमा जम्मा भएको रकम कुनै पनि लेखक–पत्रकारलाई दुर्घटनामा अथवा बिरामी परेर औषधि गर्ने खर्च नहुँदा, बाढी–पहिरो र भूकम्प, आगलागी आदिबाट सम्पत्तिको नोक्सान हुँदा आर्थिक सहयोगस्वरूप उपलब्ध गराइनेछ ।
पत्रकार र साहित्यकारहरूको दुर्दशा टुलुटुलु हेरेर नबसौँ भन्दै उहाँले पीडित अक्षरसेवीहरूको घाउमा औषधि लगाइदिन सबैको सहयोग आवश्यक भएकाले लेखक–पत्रकारलाई सहयोग गरिदिन सबैमा अनुरोध गर्नुभएको छ ।

