सञ्चार–माध्यमहरूले प्रायः राम्रो कामलाई प्रोत्साहन हुने गरी राम्रो कामको समाचार र जानकारी दिँदैनन् । नराम्रो खबर र टिप्पणी पढ्दापढ्दा पाठकको स्वभावमा नै नकारात्मकता उत्पन्न हुन थालिसकेको छ र समाजका सबै मान्छे खराबै पो छन् कि भन्ने भान हुन थालिसकेको छ । अधिकांश मान्छेहरू नराम्रा मान्छेको फेला परियो भन्न थालेका छन् । तर शब्दयात्रा सहयोगी समाजका सदस्य चन्द्रबहादुर खड्काचाहिँ हालसालै राम्रा मान्छेको फेला पर्नुभयो ।
चन्द्रबहादुर खड्काले हालसालै काठमाडौँ नयाँ बानेश्वरको बस्नेत कोल्डस्टोर एन्ड कफी हाउसमा पसेर कफी पिउनुभएछ । पैसा तिरेपछि निकै पैसा राखिएको पर्स त्यहीँ बिर्सेर हिँड्नुभएछ । दिनभरि धेरै ठाउँ घुमेर साँझ घर पुगेपछि पो पर्स हराएको थाहा पाउनुभएछ । भोलिपल्ट बिहान अघिल्लो दिन गएका ठाउँहरू सम्झिई ती ठाउँहरूमध्ये कहाँ पर्स बिर्सिएँ हुँला भनेर खोज्न हिँड्नुभएछ । कफी हाउसमा पुगेर सोद्धा काउन्टरमा बसेका पसल–मालिकले पर्स झिकेर दिएछन् । उनले भनेछन् — “पर्समा भिजिटिङ कार्ड रहेनछ, नत्र फोन गरेर बोलाउँथेँ ।”
अनि उनीसँग परिचय भएछ । उनी रहेछन् काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं. ३ का कृष्ण बस्नेत । उनी र उनकी श्रीमती रुकु बस्नेतले सञ्चालन गरेका रहेछन् त्यो कफी हाउस ।
घटना सानो हो, तर समाजमा बढ्दै गएको पैसामुखी चिन्तनका आधारमा हेर्दा यो ठूलो घटना हो । यो घटना प्रफुल्ल बनेर सुनाउँदा चन्द्रबहादुर खड्काले भन्नुभयो — “समाजमा यस्ता असल मान्छेहरू पनि छन्, त्यसैले समाज अहिलेसम्म बस्नलायक नै छ । समाज खराबै भइसक्यो भनेर हार खाने बेला भइसकेको रहेनछ ।”
त्यस्ता असल दम्पतीलाई शब्दयात्रा प्रकाशनका तर्फबाट हार्दिक धन्यवाद !