Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesडा. सुरेशराज शर्मा रहनुभएन

डा. सुरेशराज शर्मा रहनुभएन

     शब्दयात्रा प्रकाशनको सल्लाहकारमण्डलका संयोजक, काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति, नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको मल्टिपल अर्ग्यान फेलियर भएर यही २०८३ असोज ७ गते द्वादशी तिथि साँझ ६ः५० बजे काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको छ । उहाँको निधनले नेपालको शिक्षा तथा लेखनक्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
     उहाँ नेपालको प्राविधिक शिक्षाका जनक हुनुहुन्थ्यो । उहाँ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का प्रथम कार्यकारी निर्देशक हुनुहुन्थ्यो । जुम्ला, दोलखा, धनकुटा, सिन्धुली आदि जिल्लामा विभिन्न टेक्निकल इन्स्टिच्युटहरूको स्थापना गर्नमा उहाँको अहम् भूमिका थियो । उहाँ राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिव पनि हुनुहुन्थ्यो । उहाँले नेपालको शैक्षिक नीतिनिर्माणमा विशिष्ट योगदान गर्नुभएको थियो । उहाँ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नेपाली शिक्षाविद् तथा शैक्षिक व्यवस्थापक हुनुहुन्थ्यो । उहाँ रसायनशास्त्रका प्राध्यापक हुनुहुन्थ्यो ।
     शिक्षा, यात्रासंस्मरण, व्यक्तिवृत्त र अनुसन्धानात्मक गरी एकल लेखनमा उहाँका १० वटा पुस्तक प्रकाशित छन् । अन्य लेखकसँगको संयुक्त लेखनमा पनि उहाँका पुस्तकहरू प्रकाशन भएका छन् । उहाँले विभिन्न जर्नलहरूको सम्पादन पनि गर्नुभएको छ ।
     उहाँको यात्रासंस्मरणात्मक पुस्तक ‘स्वर्गमा पैदल’ शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा प्रकाशित भएको थियो । उहाँकी धर्मपत्नी उर्मिला शर्मा ढुङ्गेलले लेख्नुभएको ‘हे सुरेशराज शर्मा’ गान हरि मञ्जुश्रीको सङ्गीतमा शब्दयात्रा प्रकाशनबाटै उत्पादन गरिएको थियो । उहाँले शब्दयात्रा प्रकाशनका अधिकांश कार्यक्रमहरूमा प्रमुख आतिथ्य ग्रहण गरी विभिन्न महानुभावहरूलाई सम्मान तथा विभिन्न पुस्तकहरूको सार्वजनिकीकरण गर्नुभएको थियो । उहाँका विषयमा हरि मञ्जुश्रीद्वारा लिखित ‘शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा’ पुस्तिका अक्षरधामबाट प्रकाशन गरिएको थियो भने शब्दयात्रा प्रकाशनले श्रीधर प्याकुरेलद्वारा लिखित ‘डा. सुरेशराज शर्मा’ र ‘शैक्षिक शिरोभूषण’ नामक दुई लघुकाव्य प्रकाशन गरेको थियो । हरि मञ्जुश्रीका दुई पुस्तक ‘विष्णुप्रसाद उपाध्याय जीवनी र व्यक्तित्व’ तथा ‘स्मृतिमा सावित्री ढुङ्गेल’ को प्रकाशन उहाँले नै गरिदिनुभएको थियो ।
     उहाँलाई नर्वेबाट मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरिएको थियो । अन्य देशबाट पनि उहाँ सम्मानित हुनुहुन्थ्यो । उहाँले नेपाल सरकारबाट उज्ज्वल कीर्तिमय राष्ट्रदीप पदक, विभिन्न संस्थाबाट अन्य पदकहरू, विभिन्न संस्थाबाट षडानन्द पुरस्कार र दण्डपाणि अर्ज्याल पुरस्कार जस्ता विभिन्न पुरस्कारहरू, बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट ओरेसन र अन्य संस्थाबाट विभिन्न सम्मानहरू प्राप्त गर्नुभएको थियो । अक्षरधामको सक्रियतामा उहाँलाई काभ्रेपलाञ्चोक जिल्लाका ६० वटा संस्थाले एकै दिन अभिनन्दन गरेका थिए ।
     अन्तिम समयसम्म पनि नेपालको शिक्षाक्षेत्रप्रति चिन्तनशील रहनुभएका उहाँ शब्दयात्रा प्रकाशन, कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान, कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठी आदि साहित्यिक तथा सामाजिक संस्थाहरूसँग आबद्ध हुनुहुन्थ्यो ।
     सिन्धुली जिल्लाको खुर्कोटमा १९९७ साल साउन ७ गते विष्णुप्रसाद उपाध्याय ढुङ्गेल र सावित्रीदेवी ढुङ्गेलका सुपुत्रका रूपमा उहाँको जन्म भएको थियो । उहाँकी धर्मपत्नी उर्मिला शर्मा ढुङ्गेलको निधन गत २०८१ साल कार्तिक १४ गते भएको थियो । उहाँका चार छोरीमध्ये १ छोरीको निधन भइसकेको छ ।
     शब्दयात्रा प्रकाशन परिवार आफ्ना अभिभावकको निधनबाट विह्वल बनेको छ । यो संस्था उहाँको आत्मा परमात्मामा एकाकार होस् भनी नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक सहवेदना व्यक्त गर्दछ ।