शब्दयात्रा प्रकाशनले आज माघ १९ गते शनिबार योगदानी महिलाको अनुसन्धान सम्बन्धी पहिलो चरणको विचारगोष्ठी सम्पन्न गरेको छ । राष्ट्रिय विकासका लागि योगदान गर्ने नेपाली महिलाहरूका विषयमा अनुसन्धान गर्ने–गराउने गरी शब्दयात्रा प्रकाशनले ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ बनेपामा स्थापना गरिसकेको छ र त्यसबाट विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न शुरु गरिसकिएको छ । त्यही अनुसन्धान कक्षका माध्यमबाट काभ्रेपलाञ्चोक जिल्लाका महिलाहरूले गरेको योगदानलाई पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरसम्म लैजान सकियोस्, त्यसका लागि विविध क्षेत्रमा योगदान गरेका काभ्रेपलाञ्चोक जिल्लाका महिलाहरूको विस्तृत अभिलेखीकरण गर्न सकियोस् र अनुसन्धान कक्षको सञ्चालनका सम्बन्धमा सुझाव पनि प्राप्त होस् भन्ने उद्देश्यले यस गोष्ठीको आयोजना गरिएको थियो ।
शब्दयात्रा प्रकाशनको कार्यसम्पादन समितिका सदस्य कालिका त्रिपाठी पन्तले संयोजन तथा सञ्चालन गर्नुभएको आजको विचारगोष्ठीको सभापतिका रूपबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्री अधिकारीले कार्यक्रमको औचित्यका बारेमा प्रष्ट पार्नुभएको थियो । प्रमुख अतिथिका रूपबाट अग्रज समाजसेवी तथा साहित्यकार सावित्री जङ्गम थापाले समाजसेवा क्षेत्रका आफ्ना अनुभवहरू सुनाउनुभएको थियो । माया बादे, कृष्णप्यारी नकर्मी, न्हुच्छेमाया श्रेष्ठ, निर्मला काफ्ले, सुनीता खड्का र कृष्णमणि कुइकेलले आआफ्ना धारणा राख्तै शब्दयात्रा प्रकाशनबाट सञ्चालित अनुसन्धान केन्द्रलाई कसरी गतिशील बनाउने र काभ्रेपलाञ्चोक जिल्लाका योगदानी महिलाको अभिलेखीकरण कसरी गर्ने भन्ने सम्बन्धमा विभिन्न सुझावहरू दिनुभएको थियो । भवानी पाण्डे, शारदा नेपाल, पुण्यवती घले र शारदा घिमिरे भैलले कवितावाचन र अम्बिका धितालले लघुकथावाचन गर्नुभएको थियो ।
सरस्वती सापकोटा, गीता अधिकारी, सुखरलक्ष्मी न्हसिजू, भावना थापा, सङ्गीता बस्नेत, सरिता अधिकारी आदिको पनि उपस्थिति रहेको आजको कार्यक्रमको समुद्घाटन अतिथिका रूपबाट गीतिभास्कर मच्छेश्वर सापकोटाले र कार्यक्रमको समीक्षासहित सभाविसर्जन अतिथिका रूपबाट गैरसरकारी संस्था महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष गङ्गा दोङले गर्नुभएको थियो ।
पहिलो चरणको यस विचारगोष्ठीमा साहित्य, पत्रकारिता, कला, संस्कृति, शिक्षा, कानुन, सहकारी आदि क्षेत्रका महिलाहरूको उपस्थिति रहेको थियो भने फागुनमा आयोजना गरिने दोस्रो चरणको विचारगोष्ठीमा काभ्रेपलाञ्चोक जिल्लाका राजनीतिक र प्रशासनिक क्षेत्रका महिलाहरूलाई उपस्थितिका लागि आग्रह गरिनेछ ।