Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesयोगदानी महिलाको अनुसन्धान सम्बन्धी विचारगोष्ठी सम्पन्न

योगदानी महिलाको अनुसन्धान सम्बन्धी विचारगोष्ठी सम्पन्न

शब्दयात्रा प्रकाशनले आज माघ १९ गते शनिबार योगदानी महिलाको अनुसन्धान सम्बन्धी पहिलो चरणको विचारगोष्ठी सम्पन्न गरेको छ । राष्ट्रिय विकासका लागि योगदान गर्ने नेपाली महिलाहरूका विषयमा अनुसन्धान गर्ने–गराउने गरी शब्दयात्रा प्रकाशनले ‘सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्ष’ बनेपामा स्थापना गरिसकेको छ र त्यसबाट विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न शुरु गरिसकिएको छ । त्यही अनुसन्धान कक्षका माध्यमबाट काभ्रेपलाञ्चोक जिल्लाका महिलाहरूले गरेको योगदानलाई पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरसम्म लैजान सकियोस्, त्यसका लागि विविध क्षेत्रमा योगदान गरेका काभ्रेपलाञ्चोक जिल्लाका महिलाहरूको विस्तृत अभिलेखीकरण गर्न सकियोस् र अनुसन्धान कक्षको सञ्चालनका सम्बन्धमा सुझाव पनि प्राप्त होस् भन्ने उद्देश्यले यस गोष्ठीको आयोजना गरिएको थियो ।
शब्दयात्रा प्रकाशनको कार्यसम्पादन समितिका सदस्य कालिका त्रिपाठी पन्तले संयोजन तथा सञ्चालन गर्नुभएको आजको विचारगोष्ठीको सभापतिका रूपबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्री अधिकारीले कार्यक्रमको औचित्यका बारेमा प्रष्ट पार्नुभएको थियो । प्रमुख अतिथिका रूपबाट अग्रज समाजसेवी तथा साहित्यकार सावित्री जङ्गम थापाले समाजसेवा क्षेत्रका आफ्ना अनुभवहरू सुनाउनुभएको थियो । माया बादे, कृष्णप्यारी नकर्मी, न्हुच्छेमाया श्रेष्ठ, निर्मला काफ्ले, सुनीता खड्का र कृष्णमणि कुइकेलले आआफ्ना धारणा राख्तै शब्दयात्रा प्रकाशनबाट सञ्चालित अनुसन्धान केन्द्रलाई कसरी गतिशील बनाउने र काभ्रेपलाञ्चोक जिल्लाका योगदानी महिलाको अभिलेखीकरण कसरी गर्ने भन्ने सम्बन्धमा विभिन्न सुझावहरू दिनुभएको थियो । भवानी पाण्डे, शारदा नेपाल, पुण्यवती घले र शारदा घिमिरे भैलले कवितावाचन र अम्बिका धितालले लघुकथावाचन गर्नुभएको थियो ।
सरस्वती सापकोटा, गीता अधिकारी, सुखरलक्ष्मी न्हसिजू, भावना थापा, सङ्गीता बस्नेत, सरिता अधिकारी आदिको पनि उपस्थिति रहेको आजको कार्यक्रमको समुद्घाटन अतिथिका रूपबाट गीतिभास्कर मच्छेश्वर सापकोटाले र कार्यक्रमको समीक्षासहित सभाविसर्जन अतिथिका रूपबाट गैरसरकारी संस्था महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष गङ्गा दोङले गर्नुभएको थियो ।
पहिलो चरणको यस विचारगोष्ठीमा साहित्य, पत्रकारिता, कला, संस्कृति, शिक्षा, कानुन, सहकारी आदि क्षेत्रका महिलाहरूको उपस्थिति रहेको थियो भने फागुनमा आयोजना गरिने दोस्रो चरणको विचारगोष्ठीमा काभ्रेपलाञ्चोक जिल्लाका राजनीतिक र प्रशासनिक क्षेत्रका महिलाहरूलाई उपस्थितिका लागि आग्रह गरिनेछ ।