शब्दयात्रा प्रकाशनमा रेकर्डिङ स्टुडियो पनि भए हुन्थ्यो भनेर सञ्चारकर्मी मित्र शिव बन्जाराले भन्नुभएको थियो । मलाई त्यस विषयमा अलिकति पनि जानकारी थिएन । त्यसैले कस्तो स्टुडियो कति खर्चमा कसरी बनाउन सकिन्छ भन्ने कुराको प्रारम्भिक जानकारी लिनुपर्ने स्थिति आयो । अभिलेखालय पनि बनाउनै थियो । यस विषयमा मैले काभ्रेपलान्चोक जिल्लाको तिमालमा घर भई अचेल काठमाडौँमा बस्ने प्रिय भाइ सीताराम बडालसँग कुरा चलाएँ । उहाँले मलाई त्यस कार्यमा सहयोग गर्ने वचन दिनुभयो र विद्युतीय माध्यममा अभिलेखलाई सुरक्षित राख्ने तरिका पनि सिकाउनुभयो । त्यसपछि साउन्ड इन्जिनियरिङ विषय अध्ययन गरी साउन्ड डिजाइनरका रूपमा राष्ट्रिय ख्याति आर्जन गर्नुभएका चलचित्रकर्मी प्रदीप उपाध्यायसँग भेट गराउन उहाँले मलाई काठमाडौँको नक्सालमा लैजानुभयो । त्यहाँ प्रदीप उपाध्यायसँग हाम्रो भेटघाट भयो । उहाँले आफ्नै घरको रेकर्डिङ स्टुडियोमा हामीलाई राख्नुभयो । उहाँसँग सौहार्द्रपूर्ण वातावरणमा वार्तालाप भयो । उहाँले करिब एक घन्टासम्म साउन्ड, इफेक्ट, रेकर्डिङ, इडिटिङ, स्टुडियोको बनावट, सामग्री, आर्थिक लगानी आदिका विषयमा मलाई सविस्तार जानकारी दिनुभयो र स्टुडियो देखाएर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्तिका विषयमा पनि बताउनुभयो । उहाँका सबै कुरा सुनेपछि शब्दयात्रा प्रकाशनले रेकर्डिङ स्टुडियो बनाउन सकेछ भने अब संस्था ठगिँदैन भन्ने मलाई लाग्यो । यसका लागि प्रदीप उपाध्याय र सीताराम बडालप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

— हरि मञ्जुश्री