शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लामा जन्मेर कुनै पनि क्षेत्रमा राष्ट्रिय स्तरको योगदान गरेको व्यक्तिलाई नगद रकम, रुद्राक्षको माला, अभिवन्दनापत्र र शब्दयात्रा पट्टसहित २०७९ सालदेखि हरेक वर्ष पुरस्कृत गर्ने भएको छ । पुरस्कारको नाम ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार’ राखिएको छ । त्यसका लागि ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं। ७ चाँगाथलीमा ध्रुव थापा र कल्पना थापाका सुपुत्रका रूपमा जन्मेर हाल अस्ट्रेलियामा बसोवास गर्ने निरोज थापाले आफ्ना मावली हजुरबुबा पनौतीका समाजसेवी लीलाबहादुर केसीको सम्मान तथा स्मृतिमा ‘लीला–मध्यमार्ग सम्मानकोष’ मार्फत पुरस्कारको आर्थिक व्यवस्थापन गरिदिनुभएको छ । यससम्बन्धी सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका तर्फबाट र ‘लीला–मध्यमार्ग सम्मानकोष’ का संयोजक तथा निरोज थापाका मामा प्रदीप केसीले निरोज थापाका तर्फबाट हस्ताक्षर गर्नुभएको छ । काभ्रेपलान्चोक जिल्लाका राष्ट्रिय प्रतिभाका लागि पुरस्कारको व्यवस्थापन गरिदिनुभएकोमा निरोज थापा र प्रदीप केसीप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।