शब्दयात्रा प्रकाशनले हरेक वर्षको माघ महिनामा समर्पण गर्ने गरेको महिला प्रतिभा सम्मान, विज्ञान–प्रविधि सम्मान, समालोचना सम्मान, बालसाहित्य सम्मान, कविता–काव्य सम्मान र अनुसन्धान सम्मानका लागि एक महिनाभित्र उपयुक्त व्यक्ति तथा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन गत मङ्सिर महिनामा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाबाट सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यो आह्वानपछि विभिन्न व्यक्तिहरूले केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको थियो ।
त्यसपछि शब्दयात्रा प्रकाशनले म माधवप्रसाद आचार्यको संयोजकत्वमा चूडाप्रसाद चौलागाईं र माधव पराजुली सदस्य रहेको सम्मान्य व्यक्तित्व चयन समिति बनायो । हामीलाई चयन समितिमा मनोनयन गरेकोमा शब्दयात्रा प्रकाशनलाई हामी धन्यवाद दिन चाहन्छौँ ।
यस्ता व्यक्तित्वलाई सम्मान गर्नुपर्छ भनेर जनसाधारणबाट प्रस्ताव गरिएका नाउँहरूमध्ये सम्बन्धित विधाका प्रतिभाहरूको नाउँ शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । ती नाउँमध्येबाट हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन ग¥यौँ । चयन गर्दा जनसाधारणको प्रतिक्रियालाई विशेष प्राथमिकता दियौँ र उमेर, विधागत योगदान र कृति–सिर्जनालाई पनि ध्यान दियौँ । त्यसपछि सम्मान समर्पण गर्नका लागि सम्बन्धित व्यक्तिको नाउँ सर्वसम्मत निर्णयबाट सिफारिस ग¥यौँ । अनि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा ग¥यो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा चित्रकलाकार रागिनी उपाध्याय ग्रेला, प्रविधिविज्ञ प्रा. डा. भोला थापा, समालोचक प्रा. राजेन्द्र सुवेदी, बालसाहित्यकार प्रा. रामकुमार पाँडे, महाकाव्यकार डा. रमेशचन्द्र अधिकारी र अनुसन्धाता डिल्लीराम मिश्र ‘श्रमजीवी’ प्रति चयन समितिका तर्फबाट म आभार व्यक्त गर्दछु र जनसाधारणमा प्रिय देखिनुभएकोमा उहाँहरू सबैलाई हार्दिक बधाई पनि अर्पण गर्दछु ।
यो सम्मानलाई आआफ्नोे विधामा प्राप्त भएको जनप्रियताका आधारमा काभ्रे जिल्लाको जनस्तरबाट समर्पित राष्ट्रिय सम्मानका रूपमा बुझिदिन हामी हार्दिक अनुरोध गर्दछौँ ।
आज सम्मानित हुने महानुभावहरूको चिनारी र योगदानको विवरण शब्दयात्रा प्रकाशनबाट प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ को गत मङ्गलबारको अङ्कमा छापिएको छ । त्यो पत्रिका यहाँ वितरण गरिसकिएको छ । त्यसैले उहाँहरूका विषयमा विशेष जानकारी त्यसै पत्रिकाबाट लिन अनुरोध गर्दछु ।
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा प्रजापति तिमिल्सिनाद्वारा लिखित ‘विधवा वासना’ उपन्यास, सविता शर्माद्वारा लिखित ‘कवितामा सविता’ कवितासङ्ग्रह, श्रीधर प्याकुरेलद्वारा अनूदित ‘पञ्चतन्त्र’, निर्मला श्रेष्ठद्वारा लिखित ‘आफू अरूका लागि’ स्मृतिनिबन्ध र पुण्यवती घलेद्वारा सम्पादित ‘पच्चीस कृति र कृतिकार’ परिचयसङ्ग्रह आजैको कार्यक्रमदेखि पाठकवर्गको हातमा पुग्न लागेकाले उहाँहरूलाई पनि चयन समितिका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।

(चयन समितिका तर्फबाट अभिव्यक्त मन्तव्यबाट)