शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तक ‘जागनीबोध’ लाई काठमाडौँ विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरियो । काठमाडौँ विश्वविद्यालय र श्रीकृष्णप्रणामी विश्वपरिषद्को संयुक्त आयोजनामा गत चैत ८ गते मङ्गलबार सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो भने सभापतित्व काठमाडौँ विश्वविद्यालय रजत महोत्सव समारोहका केन्द्रीय संयोजक प्रा. डा. सञ्जयनाथ खनालले गर्नुभएको थियो । ‘जागनीबोध’ को प्रकाशन गरेकोमा श्रीकृष्णप्रणामी विश्वपरिषद्का तर्फबाट वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गुरुजी मोहन प्रियाचार्यले शब्दयात्रा प्रकाशनलाई आभारपत्र प्रदान गर्नुभयो । उक्त आभारपत्र शब्दयात्रा प्रकाशनका तर्फबाट सञ्चालक सदस्य श्यामकृष्ण लम्सालले ग्रहण गर्नुभएको थियो । ग्रन्थसम्पादकद्वय हरि मञ्जुश्री र टहलदास शिवाकोटी ‘यात्री’ द्वारा सम्पादित उक्त पुस्तकलाई प्रमुख अतिथि, विशेष अतिथि र सभापतिले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो भने पुस्तकका विषयमा समीक्षक शारदाप्रसाद शर्माले टिप्पणी गर्नुभएको थियो ।
उक्त कार्यक्रममा ‘महामति प्राणनाथ सामयिक सन्दर्भ’ विषयमा प्रवचन पनि गरियो । त्यस विषयमा प्रमुख अतिथिले र महामति प्राणनाथको जीवनीका विषयमा प्रा. डा. छविलाल गजुरेलले जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा समाजसेवी बेलप्रसाद श्रेष्ठ, बाइजूराज सङ्घ नेपालका राजराजेश्वरीलगायत विश्वविद्यालय परिवार, श्रीकृष्णप्रणामी सम्प्रदायका सुन्दरसाथहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । नैमिषारण्य गुरुकुलम्का वटुकहरूले पदमनाथ ढुङ्गानाको संयोजनमा स्वस्तिवाचन गरेको उक्त कार्यक्रमको सञ्चालन ग्रन्थसम्पादक हरि मञ्जुश्रीले गर्नुभएको थियो ।