नेपालभूमि स्तम्भकार सम्मान, २०७३ द्वारा सम्मानित प्रा. डा. गोपाल शिवाकोटी

प्रा. डा. गोपाल शिवाकोटी फरवरी २१, १९४९ मा क्षमावती दोलखामा खडानन्द र हरिप्रियाका सुपुत्रका रूपमा जन्मनुभएको हो । एमए बीएल पीएचडी गर्नुभएका उहाँले २०२४ सालदेखि साहित्यिक पत्रकारिता र २०२७ सालदेखि पत्रकारिता सुरु गर्नुभएको हो । उहाँ ज्वाला र डेली डायरी साप्ताहिकका सम्पादक हुनुहुन्छ । एसियाली आवाज साप्ताहिकलगायतका पत्रपत्रिकाको सम्पादन, संसद्मा दस वर्षसम्म समीक्षा, सन् १९८२ देखि २०११ सम्म त्रिचन्द्र कलेजमा प्राध्यापन पनि उहाँबाट भएका छन् ।
राजनीतिक शब्दकोश, सामन्तवाद : हत्याहिंसा र षड्यन्त्रको इतिहास, नेपालको राजनीतिक विचारधारा, समकालीन राजनीतिक नेपालका राजनीतिक विचारधारा, किरातजातिको इतिहास र संस्कृति, थारुजातिको इतिहास र संस्कृति, अन्तर्राष्ट्रिय राजनीति, प्रमुख राजनीतिक विचारक, अन्तर्राष्ट्रिय कानुन, तुलनात्मक राजनीति, माक्र्सवादी राजनीतिक शास्त्र, आधुनिक राजनीतिक विश्लेषण लगायत उहाँका दर्जनौँ किताबहरु प्रकाशित छन् । उहाँ श्रमजीवी पत्रकार सङ्घ, नेपाल राजनीतिशास्त्र सङ्घ, नेपाल पत्रकार सङ्घ, प्रेस काउन्सिल नेपाल लगायतका विभिन्न सङ्घसंस्थासँग आबद्ध हुनुभएको छ ।

शब्दयात्रा साहित्यिक पत्रिका सम्मान, २०७३ द्वारा सम्मानित गुगुल्डी (साहित्यिक पत्रिका)
‘गुगुल्डी’ का सम्पादक–प्रकाशक वीरबहादुर चन्द ‘विश्राम’ हुनुहुन्छ । नेपालको सुदूरपश्चिम कञ्चनपुर जिल्लाबाट यो पत्रिका नियमित रूपमा प्रकाशन भइरहेको छ । यो पत्रिका नेपाली भाषाको माउ मानिएको डोट्याली भाषामा प्रकाशित हुने साहित्यिक मासिक पत्रिका हो । नेपाल प्रेस काउन्सिलले यस पत्रिकालाई क्षेत्रीय क वर्गमा राखेको छ । नेपालको परिप्रेक्ष्यमा साहित्यिक पत्रिका प्रकाशन गर्नु अत्यन्त कठिन काम हो । त्यसमा पनि केन्द्रीय राजधानीभन्दा बाहिर रहेर डोट्याली भाषामा साहित्यिक पत्रिका प्रकाशन गर्नु साह«ै नै दुष्कर कार्य हो । भाषा–साहित्यप्रतिको प्रेमका कारणले यस्तो दुष्कर कार्य गर्ने वीरबहादुर चन्द निश्चय नै उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । ‘विश्राम’ उहाँको उपनाम हो । ‘गुगुल्डी’ पत्रिकाले डोट्याली भाषालाई लोप हुनबाट बचाउनमा ठूलो भूमिका खेलेको छ ।

शब्दयात्रा फोटो–पत्रकारिता सम्मान, २०७३ द्वारा सम्मानित मङ्गलमोहन श्रेष्ठ
मङ्गलमोहन श्रेष्ठको जन्म सन् १९९४ नोभेम्बर ८ मा काठमाडौँमा भएको हो । कार्य–अनुभवलाई हेर्दा उहाँ सूचना विभागको प्रमुख फोटोग्राफर (सन् १९६३ — १९९४) बनेको, अफिसियल फोटोग्राफरका रूपमा इन्डियन एम्बेसी, अमेरिकन एम्बेसी, चाइनिज एम्बेसी, बङ्गलादेश एम्बेसी र पाकिस्तान एम्बेसी (१९९४ —२०१०) मा रहेको तथा राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रको अफिसियल फोटोग्राफरका रूपमा काम गरेको देखिन्छ । नेपालका ७५ वटै जिल्ला तथा रुस, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, थाइल्यान्ड, सिङ्गापुर र अमेरिकाको भ्रमण गर्नुभएका उहाँले गोरखादक्षिणबाहु पाँचौँ र चौथो, त्रिशक्तिपट्ट चौथो, शुभराज्याभिषेक पदक, सार्क पदक र दीर्घकालीन सेवा पदक पाउनुभएको छ ।

शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान, २०७३ द्वारा सम्मानित गौरी (आध्यात्मिक मासिक)
‘गौरी’ मासिक रूपमा प्रकाशन हुने नेपालको प्रसिद्ध आध्यात्मिक पत्रिका हो । अर्जुन लामिछानेको सम्पादन–प्रकाशनमा यो पत्रिका हालसम्म १२५ अङ्क प्रकाशन भइसकेको छ । अब यो पत्रिका बाह«ौँ वर्षमा प्रवेश गर्दैछ । खेमराज केशवशरण, प्रा. शिवगोपाल रिसाल जस्ता विद्वत्वर्गको परामर्शमा प्रकाशन हुने यस पत्रिकामा सुन्दर, ज्ञानवद्र्धक र प्रेरणादायी आध्यात्मिक लेख–रचनाहरू पढ्न पाइन्छ । हिन्दूधर्म–संस्कृतिमाथि प्रहार हुँदै गइरहेको वर्तमान अवस्थामा पूर्वीय वाङ्मय र मौलिक अस्तित्वको रक्षा र प्रवद्र्धनका निम्ति ‘गौरी’ जस्ता आध्यात्मिक क्षेत्र समेट्ने पत्रिकाको गरिमा र महàव निश्चय नै उच्च स्तरको छ ।

सम्मानित व्यक्तित्व चयन समिति
एक्कुमाया पुन (संयोजक) : एक्कुमाया पुन काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्टस्अन्तर्गत भाषा तथा आमसञ्चार विभागमा एसोसिएट प्रोफेसर पदमा कार्यरत छिन् । अङ्ग्रेजी साहित्यमा विशेष दखल भएकी पुनका विभिन्न अनुसन्धानात्मक लेखहरू स्वदेश तथा विदेशका विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन गरिएका छन् । साहित्यको अध्यापन, समालोचना, उपन्यास र सांस्कृतिक अध्ययन उनलाई मन पर्ने र विशेषज्ञता पनि भएका विधाहरू हुन् ।
एकप्रसाद दुवाडी (सदस्य) : एकप्रसाद दुवाडी काठमाडौँ विश्वविद्यालयमा अङ्ग्रेजी विषयका सहायक प्रोफेसर हुन् । शिक्षण र अनुसन्धानमा रुचि राख्ने उनका लेखहरू नेपाल, भारत, बेलायत, अमेरिका र अस्ट्रेलियाका प्रतिष्ठित संस्थाबाट प्रकाशित छन् । उनी नेपाली साहित्य र समीक्षामा पनि रुचि राख्छन् । ‘नेपालका अस्पतालहरूमा डाक्टर र बिरामीहरूको संवाद–ढाँचा’ मा विद्यावारिधि गर्दै गरेका उनी फुर्सदको समय लेखन र शैक्षिक प्रशिक्षणमा बिताउँछन् ।
सम्बोजन लिम्बू (सदस्य) : सम्बोजन लिम्बू काठमाडौँ विश्वविद्यालय स्कुल अफ लसँग आबद्ध छन् । उनले कानुन विषयमा स्नातकोत्तर गरेका छन् । आफ्नो विधागत क्षेत्रका उहाँ ज्ञाता मानिन्छन् । सामाजिक न्यायका लागि आफ्ना स्वतन्त्र विचारहरूको प्रकाशनमा पनि उनी सक्रिय रहेका छन् । ताप्लेजुङ जिल्लामा जन्मेर झापा जिल्लामा बसोवास गर्ने परिवारका एक सदस्य उनी हाल भक्तपुर जिल्लाको गट्ठाघरमा बसोवास गर्छन् ।
भरतकुमार श्रेष्ठ (सदस्य) : भरतकुमार श्रेष्ठ काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्समा प्रशासकीय अधिकृत (०३) पदमा कार्यरत छन् । तनहूँमा जन्मेका उनले एमबीएसम्मको अध्ययन गरेका छन् । सन् १९९५ मा काठमाडौँ विश्वविद्यालयको सेवा प्रारम्भ गरेका उनी अफिस असिस्टेन्ट, सिनियर असिस्टेन्ट, एडमिनिस्ट्रेसन अफिसरको १ र २ तह पार गर्दै तेस्रो तहमा पुगेका हुन् । उनले विभिन्न तालिम लिएका छन् र विभिन्न संस्थामा आबद्ध छन् ।

२०७३ भदौ १४ गते सार्वजनिक गरिने कृतिका कृतिकारहरू
सरस्वती शर्मा सुवेदी
जन्मस्थान : शङ्करपोखरी — ९, पर्वत । गृहस्थान : चाबहिल, काठमाडौँ । शिक्षा : स्नातक । पेसा : शिक्षण । बसोवास : धुलिखेल, काभ्रे । प्रकाशन : एक पुस्तक

भरतराज महत
जन्ममिति : १९ असार १९९३ । जन्मस्थान : पस्थली, खोपासी, काभ्रे । शिक्षा : रेन्जर कोर्स । सेवाक्षेत्र : सरकारी सेवा, समाजसेवा र लेखनसेवा । प्रकाशन : छवटा कृति (एउटा अङ्ग्रेजी भाषामा अनूदित)

ज्ञानेन्द्रराज भट्टराई
जन्ममिति : २० पुस २००५ । जन्मस्थान : फालीकोट, देउराली — २, भोजपुर । शिक्षा : साहित्यशास्त्री (वाराणसी) । सेवा : ओखलढुङ्गा, सोलुखुम्बू र भोजपुर गरी तीन जिल्लामा तेत्तीस वर्ष शिक्षण । प्रकाशन : एक पुस्तक

श्रीधर प्याकु¥याल
जन्ममिति : ३१ साउन २०१३ । जन्मस्थान : पातलेखेत, काभ्रेपलाञ्चोक । बसोबास : कपन, काठमाडौँ । शिक्षा : एसएलसी । सेवा : सरकारी सेवा र लेखनसेवा । प्रकाशन : नौवटा कृति

कुलबहादुर बन्जारा
जन्ममिति : २००३ साल माघ १ गते । जन्मस्थान : मङ्गलटार, काभ्रेपलाञ्चोक । शिक्षा : सामान्य लेखपढ । सेवा : नेपाली सेना तथा अन्य । बसोवास : बनेपा, काभ्रे । प्रकाशन : एक पुस्तक

२०७३ सालको हरिगोपाल प्रधान कदरपत्र पाउने काभ्रेली पत्रकारहरू
रमेशप्रसाद न्यौपाने र नगेन्द्र अधिकारी