यस्तो रह्यो कार्यक्रम

शब्दयात्रा प्रकाशनले हरेक वर्षको मङ्सिर महिनामा समर्पण गर्ने पाँच विधाका सम्मान गत २०७४ साल मङ्सिर १२ गते मङ्गलबार काठमाडौँ कमलादीमा अवस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा सम्पन्न ग¥यो । उक्त कार्यक्रममा चारवटा पुस्तकलाई पनि सार्वजनिक गरियो । करिब २५० जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले र सभापतित्व सञ्चालक समितिका सदस्य सकुल थापाले गर्नुभएको थियो । ओतबहादुर खड्का र सिना ढकालले ब्याच तथा फणीन्द्रराज अधिकारी र लक्ष्मी पोखरेलले मालाबाट मञ्चमा अतिथिहरूलाई स्वागत गर्नुभएको उक्त समारोहमा हरिगोपाल प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नैमिषारण्य संस्कृत गरुकुलम्का प्राचार्य दिव्यमणि अधिकारीको संयोजनमा गुरुकुलका वटुकहरूले स्वस्तिवाचन गरेपछि वटुकहरूलाई छविलाल कुइँकेलले टीका लगाइदिनुभएको थियो भने रामप्रसाद अधिकारीले पुस्तक उपहार दिनुभएको थियो ।
मञ्चमा प्रमुख अतिथि पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्वराजदूत तथा पूर्वप्रशासक सूर्यप्रसाद श्रेष्ठ, विशिष्ट अतिथि काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव गणेश रसिक, सम्मानित व्यक्तित्वहरू गीतकार तथा कवि गणेश रसिक, समालोचक प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’, गायिका नूपुर भट्टाचार्य, बालसाहित्यकार कल्पना प्रधान र अनुसन्धाता प्रा. चेतोनाथ गौतम, कृतिकारहरू द्रोणप्रसाद श्रेष्ठ र श्रीधर प्याकु¥याल, प्रकाशन सहयोगीहरू सुनील सापकोटा र गोपाल अधिकारी, सम्मानित व्यक्तित्व चयन समितिका संयोजक रामगोपाल वरुण तथा सदस्यहरू श्याम अधिकारी, नवीना श्रेष्ठ, कृष्णहरि मैनाली र केशव अर्याल हुनुहुन्थ्यो ।
कार्यक्रममा दीपक तिमल्सिना र दीक्षा घिमिरेले उपस्थिति पुस्तिकामा हस्ताक्षर गराउने, ‘शब्दयात्रा प्रकाशनको छ वर्ष’ र ‘नेपालभूमि साप्ताहिक’ वितरण गर्ने कार्य गर्नुभएको थियो भने जलपानसम्बन्धी र अन्य व्यवस्थापन कृष्णमणि कुइँकेल र सुदर्शन आचार्यले गर्नुभएको थियो । संस्थागत गान पनि कार्यक्रममा सुनाइएको थियो । प्रमुख अतिथिलाई हरिगोपाल प्रधानले काठको कलात्मक झ्याल र रामचन्द्र हुमागाईंले पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो ।

सम्मान समर्पण

उक्त समारोहमा कविप्रसाद प्याकु¥यालद्वारा व्यवस्थापित ‘शब्दयात्रा कविता–काव्य सम्मान, २०७४’ गीतकार तथा कवि किरण खरेललाई, हरिगोपाल प्रधानद्वारा व्यवस्थापित ‘शब्दयात्रा समालोचना सम्मान, २०७४’ प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’ लाई, धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा द्रोणप्रसाद श्रेष्ठद्वारा व्यवस्थापित ‘शब्दयात्रा महिला प्रतिभा सम्मान, २०७४’ गायिका नूपुर भट्टाचार्यलाई, गोपाल पराजुलीद्वारा व्यवस्थापित ‘शब्दयात्रा बालसाहित्य सम्मान, २०७४’ कल्पना प्रधानलाई र पिता जयदेव अधिकारीको स्मृतिमा राजेन्द्र विरहीद्वारा व्यवस्थापित ‘शब्दयात्रा अनुसन्धान सम्मान, २०७४’ प्रा. चेतोनाथ गौतमलाई समर्पण गरियो । हरेक सम्मानित व्यक्तित्वलाई नगद ५ हजार रुपियाँ, उपहार, रुद्राक्षको माला, किरीट र अभिवन्दनापत्र समर्पण गरिएको थियो । हरेक प्रतिभालाई रुद्राक्षको माला गणेश रसिकले, किरीट डा. सुरेशराज शर्माले र अभिवन्दनापत्र सूर्यप्रसाद श्रेष्ठले समर्पण गर्नुभएको थियो भने किरण खरेललाई रकम कविप्रसाद प्याकु¥यालले र उपहार कृष्णहरि मैनालीले, प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’ लाई रकम हरिगोपाल प्रधानले र उपहार केशव अर्यालले, नूपुर भट्टाचार्यलाई रकम द्रोणप्रसाद श्रेष्ठले र उपहार नवीना श्रेष्ठले, कल्पना प्रधानलाई रकम गोपाल पराजुलीका तर्फबाट गीता मञ्जुश्रीले र उपहार रामगोपाल वरुणले तथा प्रा. चेतोनाथ गौतमलाई रकम राजेन्द्र विरहीले र उपहार श्याम अधिकारीले समर्पण गर्नुभएको थियो ।
सम्मान समर्पण गर्नुअघि सम्मानित व्यक्तित्व चयन समितिका संयोजक रामगोपाल वरुणले सम्मानित व्यक्तित्वहरूको चयन प्रक्रियासम्बन्धी जानकारी गराउनुभएको थियो । सम्मान सामग्रीको व्यवस्थापन शारदाप्रसाद शर्मा र पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो भने सम्मानित व्यक्तित्व चयन समितिका महानुभावहरूलाई मोहनविनोद बजगाईंले उपहार प्रदान गर्नुभएको थियो ।

पुस्तकको सार्वजनिकीकरण

उक्त कार्यक्रममा पं. लक्ष्मीभक्त अधिकारीद्वारा लिखित तथा दुर्गाप्रसाद अधिकारीद्वारा सम्पादित ‘लक्ष्मीभक्तको कविता’ डा. सुरेशराज शर्माबाट र श्रीधर प्याकु¥यालद्वारा लिखित लघुकाव्य ‘शैक्षिक शिरोभूषण’ गणेश रसिकबाट सार्वजनिक गरियो भने द्रोणप्रसाद श्रेष्ठद्वारा लिखित निबन्धसङ्ग्रह ‘केही दृष्टि केही दृष्टिकोण’ र हरि मञ्जुश्रीद्वारा सम्पादित ‘सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ सूर्यप्रसाद श्रेष्ठबाट सार्वजनिक गरियो ।
सार्वजनिक गरिएका चारैवटा कृतिमाथि शारदाप्रसाद शर्माले परिचयात्मक टिप्पणी गर्नुभएको थियो । सार्वजनिक गरिएका कृतिहरू सुदर्शन आचार्य, कृष्णमणि कुइँकेल, सुदर्शन आचार्य, पदमनाथ ढुङ्गाना, दीपक तिमिल्सना र दीक्षा घिमिरेले उपस्थित सबैमा निःशुल्क वितरण गर्नुभएको थियो ।

आशीर्वचन

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूबाट संस्थाका प्रतिबद्ध व्यक्तिहरूले आशीर्वचन लिनुभएको थियो । किरण खरेलबाट पदमनाथ ढुङ्गानाले, प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’ बाट सुदर्शन आचार्यले, नूपुर भट्टाचार्यबाट गीता मञ्जुश्रीले, कल्पना प्रधानबाट कृष्णमणि कुइँकेलले र प्रा. चेतोनाथ गौतमबाट शारदाप्रसाद शर्माले आशीर्वाद ग्रहण गर्नुभएको थियो ।

सम्मानकोषका लागि ३ लाख ३ हजार

उक्त कार्यक्रममा ‘शब्दयात्रा महिला प्रतिभा सम्मान’ को कोषका लागि द्रोणप्रसाद श्रेष्ठले १ लाख १ हजार रुपियाँ, राजेन्द्र विरहीले ‘शब्दयात्रा अनुसन्धान सम्मान’ को कोषका लागि १ लाख १ हजार रुपियाँ र सुदर्शन आचार्यले ‘शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान’ को कोषका लागि १ लाख १ हजार १ सय ११ रुपियाँ कार्यक्रमका सभापति सकुल थापालाई हस्तान्तरण गर्नुभएको थियो ।
सम्मानका लागि आर्थिक व्यवस्थापन गर्न उक्त रकम प्रदान गर्ने घोषणा उहाँहरूले यसअघिका कार्यक्रमहरूमा नै गरिसक्नुभएको थियो ।

भवनका लागि ५ लाख

उक्त कार्यक्रममा सभापतिका रूपबाट मन्तव्य व्यक्त गर्दै शब्दयात्रा प्रकाशन सञ्चानलक समितिका सदस्य सकुल थापाले ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ को भवन निर्माण गर्नका लागि ५ लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो ।

६ वर्षमा ९४ पुस्तक
— हरिगोपाल प्रधान

शब्दयात्रा प्रकाशन २०६८ सालदेखि काभ्रे जिल्लाबाट विभिन्न राष्ट्रिय गतिविधिहरू गरिरहेको छ । यस संस्थाका गतिविधिहरू आज प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ पत्रिकामा छापिएका छन् । त्यो पत्रिका यहाँहरूको हातहातमा आइपुग्ने नै छ ।
यो संस्था अहिलेसम्म गरेका सबै कार्यक्रमलाई निरन्तरता दिँदै काभ्रे जिल्लामा पुस्तकालय, सङ्ग्रहालय, वाङ्मयसेवीहरूका लागि विशेष अतिथिशाला आदिसहितको ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ निर्माण गर्न अग्रसर भएको छ । त्यसका लागि समाजसेवी कृष्णमणि कुइँकेलले यस संस्थालाई बनेपा नगरपालिका क्षेत्रमा रहेको केही जग्गा दान दिनुभएको छ । त्यही जग्गामा शिक्षा, साहित्य, पत्रकारिता, सङ्गीत र विज्ञान विधाका सम्मानित व्यक्तित्वहरूको सालिक नेपालमा पहिलोपल्ट एकै ठाउँमा स्थापना गरी यही वर्षभित्र अनावरण गरिने भएको छ ।
यस संस्थाबाट हरेक वर्ष १८ विधाका सम्मानहरू समर्पण गरिन्छन् । तीमध्ये मङ्सिर महिनामा ५ विधाका सम्मानहरू २०७४ सालका लागि आज समर्पण गरिँदैछन् । तिनमा राजेन्द्र विरहीद्वारा आफ्ना पिता जयदेव अधिकारीको स्मृतिमा व्यवस्थापित शब्दयात्रा अनुसन्धान सम्मान अनुसन्धाता प्रा. चेतोनाथ गौतमलाई, हरि गोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा समालोचना सम्मान समालोचक प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’ लाई, कविप्रसाद प्याकु¥यालद्वारा व्यवस्थापित शब्दयात्रा कविता–काव्य सम्मान गीतकार तथा कवि किरण खरेललाई, गोपाल पराजुलीद्वारा व्यवस्थापित शब्दयात्रा बालसाहित्य सम्मान कल्पना प्रधानलाई र द्रोणप्रसाद श्रेष्ठद्वारा आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा व्यवस्थापित शब्दयात्रा महिला प्रतिभा सम्मान गायिका नूपुर भट्टाचार्यलाई समर्पण गरिँदैछ । सम्मानित प्रतिभाहरूको चयन रामगोपाल वरुण, श्याम अधिकारी, नवीना श्रेष्ठ, कृष्णहरि मैनाली र केशव अर्याल सम्मिलित समितिले गरेको हो ।
आजकै कार्यक्रममा लक्ष्मीभक्त अधिकारीद्वारा २००५ सालमा लिखित तथा दुर्गाप्रसाद अधिकारीद्वारा सम्पादित ‘लक्ष्मीभक्तको कविता’, द्रोणप्रसाद श्रेष्ठद्वारा लिखित ‘केही दृष्टि केही दृष्टिकोण’ निबन्धसङ्ग्रह, श्रीधर प्याकु¥यालद्वारा लिखित ‘शैक्षिक शिरोभूषण’ लघुकाव्य र हरि मञ्जुश्रीद्वारा सम्पादित ‘सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ लाई पनि आजै सार्वजनिक गरिँदैछ । यी सबै पुस्तकहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् । यी पुस्तकसमेत यस संस्थाबाट ६ वर्षभित्र प्रकाशित पुस्तकको सङ्ख्या ९४ पुगेको छ ।
शब्दयात्रा प्रकाशनसँग सम्बन्धित रहेर शब्दयात्रा नारी स्रष्टा समाज, शब्दयात्रा लेखक समाज, शब्दयात्रा सम्मान व्यवस्थापक समाज, शब्दयात्रा पत्रकार समाज, शब्दयात्रा विश्वसम्पर्क समाज, शब्दयात्रा कलाकार समाज, शब्दयात्रा सहयोगी समाज र शब्दयात्रा पाठक समाज सक्रिय छन् । यी सबै समाजमा आबद्ध महानुभावहरू र उहाँहरूका सिर्जनाहरू विश्वभरि छरिन सकून् भन्ने उद्देश्यले शब्दयात्रा प्रकाशनले हरेक समाजका सदस्यहरू र तिनका सिर्जनाहरू रहने छुट्टाछुट्टै ब्लगको निर्माण गराइरहेको छ । यसबाट नेपाली प्रतिभाहरू विश्वका अन्य प्रतिभाहरूसँग प्रत्यक्ष रूपमा जोडिन सक्नेछन् र नेपाली प्रतिभाको पनि विश्वव्यापी सन्जाल हुनेछ । नेपाली अक्षरसेवीहरूको हितका लागि आधुनिक प्रविधिको उपयोग गर्ने शब्दयात्रा प्रकाशनको यो अभियानमा यहाँहरूको साथ रहने कुरामा हामी विश्वस्त छौँ । (स्वागत मन्तव्यबाट)

हामीले प्रतिभा छान्यौं
— रामगोपाल वरुण

शब्दयात्रा प्रकाशनले हरेक वर्षको मङ्सिर महिनामा समर्पण गर्ने गरेका शब्दयात्रा अनुसन्धान सम्मान, शब्दयात्रा कविता–काव्य सम्मान, शब्दयात्रा समालोचना सम्मान, शब्दयात्रा बालसाहित्य सम्मान र शब्दयात्रा महिला–प्रतिभा सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन ‘नेपालभूमि’ साप्ताहिक पत्रिका र ‘शब्दसञ्चार’ पाक्षिक रेडियो कार्यक्रममार्फत सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यो आह्वानपछि संस्थाका सदस्यहरू र संस्थाबाहिरका व्यक्तिहरूले पनि केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको थियो ।
त्यसपछि शब्दयात्रा प्रकाशनले मलाई संयोजक एवं श्याम अधिकारी, नवीना श्रेष्ठ, केशव अर्याल र कृष्णहरि मैनालीलाई सदस्य तोकेर सम्मानित व्यक्तित्व चयन समिति बनायो । चयन समितिमा मनोनयन गरेकोमा हामी पाँचैजना शब्दयात्रा प्रकाशनलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ।
सम्मानका लागि सिफारिस गरिएका नाउँहरूमध्ये सम्बन्धित विधाका प्रतिभाहरूको नाउँ र उहाँहरूको योगदानको विवरण शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँहरूमध्येबाट हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन गरी सम्बन्धित सम्मान समर्पण गर्नका लागि सिफारिस ग¥यौँ । त्यसपछि शब्दयात्रा प्रकाशनले उहाँहरूलाई सम्मान गर्ने घोषणा ग¥यो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार नै सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा गीतकार तथा कवि किरण खरेल, समालोचक प्रा. डा. दयाराम श्रेष्ठ ‘सम्भव’, गायिका श्रीमती नूपुर भट्टाचार्य, बालसाहित्यकार श्रीमती कल्पना प्रधान र अनुसन्धाता प्रा. चेतोनाथ गौतमज्यूप्रति चयन समिति आभार व्यक्त गर्दछ । उहाँहरू सबैलाई हामी हार्दिक बधाई अर्पण गर्दछौँ ।
आज सम्मानित हुने महानुभावहरूको चिनारी र योगदानको विवरण आजै प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ को सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष पृष्ठमा उल्लेख गरिएकाले उहाँहरूका विषयमा विशेष जानकारी तपाईंहरूको हातमा आइपुगेको त्यसै पत्रिकाबाट लिन अनुरोध छ ।
आजको समारोहमा लक्ष्मीभक्त अधिकारीद्वारा लिखित र दुर्गाप्रसाद अधिकारीद्वारा सम्पादित ‘लक्ष्मीभक्तको कविता’, द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ द्वारा लिखित निबन्धसङ्ग्रह ‘केही दृष्टि केही दृष्टिकोण’, श्रीधर प्याकु¥यालद्वारा लिखित लघुकाव्य ‘शैक्षिक शिरोभूषण’ र हरि मञ्जुश्रीद्वारा सम्पादित ‘सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ नामक कृतिहरू सार्वजनिक हुन लागेकोमा सबै कृतिकारहरूलाई हाम्रो समिति बधाई ज्ञापन गर्दछ । (सम्मानित व्यक्तित्व चयन समितिका तर्फबाट संयोजकका रूपमा प्रस्तुत गरिएको मन्तव्यको अंश)

यस्ता छन् चार कृति
— शारदाप्रसाद शर्मा

आज सार्वजनिक गरिएका चारवटा पुस्तकका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको छ ।
परिचयका लागि मलाई जिम्मा दिइएको पहिलो पुस्तक १९३९ सालमा भोजपुर दिङ्लामा जन्मेर २०१३ सालमा दिवङ्गत भएका पं. लक्ष्मीभक्त अधिकारीद्वारा २००५ सालमा लिखित तथा प्रा. लालानाथ सुवेदीबाट पाण्डुलिपि प्राप्त भएपछि दुर्गाप्रसाद अधिकारीद्वारा सम्पादित ‘लक्ष्मीभक्तको कविता’ नामक कृति हो । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो ९१ औँ पुस्तक हो । यस पुस्तकमा संस्कृत भाषामा लेखिएका ५२ वटा र नेपाली भाषामा तिनको अनुवाद गरिएका ५२ वटा श्लोकहरू छन् । यसमा डा. नन्दीश अधिकारीको मन्तव्य राखिएको छ । यसको प्रकाशनका लागि आर्थिक सहयोग कृतिकारका नाति गोपाल अधिकारीले गर्नुभएको छ । जम्मा २८ पृष्ठको यस कृतिको मूल्य ४० रुपियाँ राखिएको छ ।
दोस्रो पुस्तक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को ‘केही दृष्टि केही दृष्टिकोण’ नामक निबन्धसङ्ग्रह होे । यो उहाँको पाँचौँ कृति हो भने शब्दयात्रा प्रकाशनको ९२ औँ प्रकाशनपुष्प हो । यसमा १८ वटा निबन्धहरू सङ्कलित छन् । तीमध्ये ४ वटा निबन्ध पहिलोपटक यसै सङ्ग्रहमा प्रकाशित भएका हुन् भने १४ वटा निबन्ध पूर्वप्रकाशित हुन् । अन्तिममा राखिएको एउटा निबन्ध द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ र उहाँकी अर्धाङ्गिनी मनका श्रेष्ठले संयुक्त रूपमा लेख्नुभएको हो । यसमा साहित्यकार तथा गायक–सङ्गीतकार गणेश रसिक र साहित्यकार तथा साहित्यिक पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले मन्तव्य लेख्नुभएको छ । पुस्तकको अन्तिम आवरणमा आजका प्रमुख अतिथि सूर्यप्रसाद श्रेष्ठ, डा. मोहन हिमांशु थापा र तेजेश्वरबाबु ग्वंगःका छोटा–मीठा टिप्पणी छन् । जम्मा २०८ पृष्ठको यस पुस्तकको मूल्य ३०० रुपियाँ राखिएको छ । यस पुस्तकका लागि कृतिकार द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ ज्यूलाई हार्दिक बधाई छ ।
तेस्रो पुस्तकका रूपमा श्रीधर प्याकु¥यालद्वारा लिखित १३ औँ कृति ‘शैक्षिक शिरोभूषण’ नामक लघुकाव्य रहेको छ । शब्दयात्रा प्रकाशनको ९३ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित यो लघुकाव्य काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्मालाई काव्यनायक बनाएर लेखिएको छ । त्यसैले लघुकाव्यको नाम नै ‘शैक्षिक शिरोभूषण’ राखिएको छ । श्रीधर प्याकु¥यालले यसभन्दा पहिले पनि ‘डा. सुरेशराज शर्मा’ नामक लघुकाव्य लेख्नुभएको थियो । यो लघुकाव्य पहिलेको लघुकाव्यभन्दा ठूलो र परिमार्जित छ । यसमा जम्मा ४५४ श्लोकहरू छन् । जम्मा ६४ पृष्ठको यो लघुकाव्यको मूल्य ७५ रुपियाँ राखिएको छ । यस कृतिका लागि कृतिकारलाई हार्दिक बधाई छ ।
आज सार्वजनिक गरिएको चौथो पुस्तक ‘सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ९४ औँ पुस्तक हो । यसको प्रकाशनका लागि देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानले आर्थिक भार बहन गरिदिएको छ । यस पुस्तकको सम्पादन ग्रन्थसम्पादक हरि मञ्जुश्रीले गर्नुभएको हो । जम्मा २०८ पृष्ठको यस पुस्तकको मूल्य ३०० रुपियाँ राखिएको छ । यसमा इन्द्रमणि अधिकारी, कुबेर शर्मा, डा. कुलप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, डा. गोविन्दमानसिंह कार्की, जनकलाल शर्मा, जीवनचन्द्र कोइराला, ढुण्डीराज भण्डारी, दधिराज सुवेदी, धरणीधर कोइराला, प्रदीप गिरी, बालकृष्ण पोखरेल, मधु आचार्य, मातृकाप्रसाद कोइराला, रामचन्द्र पौडेल, रामचन्द्र हुमागाईं, डा. विष्णु सापकोटा, शशाङ्क कोइराला, सुनील सापकोटा, सूर्यविक्रम ज्ञवाली, हरि मञ्जुश्री आदिले देवीप्रसाद सापकोटाका विषयमा लेखेका सामग्रीहरू सङ्कलन गरी राखिएका छन् । बनारसबाट ‘गोर्खाली’ पत्रिका चलाउने प्रथम लोकतान्त्रिक पत्रकार र ‘सावित्री चरित्र’ काव्यका काव्यकार सुब्बा देवीप्रसाद सापकोटा ‘अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस’ का संस्थापक अध्यक्ष पनि हुन् । १९२५ सालमा जन्मेर २०११ सालमा दिवङ्गत भएका देवीप्रसाद सापकोटाका बारेमा जानकारी दिने सामग्री नभएको अवस्थामा उनको नाउँमा पहिलोपटक प्रकाशित भएको यो पुस्तक राजनीति, इतिहास, पत्रकारिता र साहित्य विषयका विद्यार्थी र शोधार्थीका लागि अत्यन्त उपयोगी रहेको छ ।
आज सार्वजनिक गरिएका यी चारैवटा पुस्तकले नेपाली वाङ्मयमा आ–आफ्नै प्रकारको स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु । (परिचयात्मक मन्तव्यको अंश)

भवन बनाउन म ५ लाख रुपियाँ दिन्छु
— सकुल थापा

म शब्दयात्रा प्रकाशनको संस्थापक सदस्य हुँ । हरि मञ्जुश्री यस संस्थाका अध्यक्ष हुनुहुन्छ । शब्दयात्रा प्रकाशनले गर्ने विभिन्न कार्यक्रमहरूमध्ये सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम पनि एउटा हो । हामीले अन्य कार्यक्रममा संस्थाका अध्यक्षलाई सभापति बनाए पनि सम्मान समर्पण समारोहमा संस्थाका अध्यक्षलाई सभापति नबनाई अन्य व्यक्तिलाई सभापतिका लागि आग्रह गर्ने गरेका छौँ । हरेक सम्मान समर्पण समारोहका सभापतिले यस संस्थालाई केही न केही सहयोग गर्ने गर्नुभएको छ ।
हामीले स्थापनाकालको ६ वर्षभित्र के–के काम गर्न सक्यौँ, राष्ट्रिय समाजको हितका लागि के गर्न सक्यौँ, यसको विस्तृत जानकारी ‘शब्दयात्रा प्रकाशनको छ वर्ष’ पुस्तकले दिने नै छ । त्यो पुस्तक पढिदिन सबैमा मेरो विनम्र अनुरोध छ । आज प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ मा हाम्रो संस्थाले आजसम्म गरेका क्रियाकलापहरूको छोटो जानकारी दिएका छौँ । त्यो पनि पढिदिनुहोला ।
हाम्रो संस्थाले साहित्यिक गतिविधि गर्छ, तर हाम्रो संस्था साहित्यकारहरूले चलाएको संस्था होइन । यस संस्थामा साहित्यलाई अत्यन्त माया गर्ने मान्छेहरू मात्रै छौँ । हामी काभ्रे जिल्लाको बनेपामा छौँ । हामीलाई ठूला–ठूला कुरा थाहा छैन । हामीसँग ठूलो–ठूलो ठाउँमा पहुँच पनि छैन । सरकारबाट र विदेशी दाताबाट हामीले कुनै सहयोग लिएका पनि छैनौँ । त्यसैले हामी साना–साना काम गर्छौं । आपसमा मिलेर, सहयोग उठाएर, आफूले दुःख गरेर कमाएको पैसा संस्थाको नाउँमा लगाएर हामीले काम गरिरहेका छौँ । हाम्रो काम, हाम्रो खटाइ, हाम्रो इमानदारी, हाम्रो सेवाभाव, हाम्रो पारदर्शिता देखेर समुदायका थुप्रै साथीहरू खुसी हुनुहुन्छ । त्यसैले हामीलाई आपतविपत पर्दा उहाँहरू नै सहयोग गर्नुहुन्छ । उहाँहरूकै सहयोगले गर्दा हामीले यो संस्थालाई अघि बढाउन सकेका हौँ ।
हाम्रो संस्थाले हाम्रा साथी कृष्णमणि कुइँकेलबाट बनेपामा केही जग्गा दानमा पाएको छ । त्यही जग्गामा हामीले नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, गीत रेकर्ड गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र पुरस्कृत हुने प्रथम वैज्ञानिक नरबहादुर भारतीको सालिक राख्न लागेका छौँ । सालिकहरू तयार भइसकेका छन् । यसै वर्षभित्र अनावरण गर्ने लक्ष्य छ । साथमा नीलकण्ठेश्वर धाम संरक्षण समिति छ । त्यही ठाउँमा नीलकण्ठेश्वर महादेवको मन्दिर पनि छ । एउटा दुईतले घर छ । हाम्रो संस्थाको कार्यालय त्यही घरमा छ । त्यसभन्दा केही माथि गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिबाट सञ्चालन गरिएको नैमिषारण्य गुरुकुल छ । छेउमै जङ्गल छ । डा. सुरेशराज शर्माले स्थापना गरेर अन्तर्राष्ट्रिय ख्याति दिलाएको काठमाडौँ विश्वविद्यालयको छेउमै हामी छौँ । हामी त्यस ठाउँलाई नेपालको सुन्दर ठाउँ बनाउन चाहन्छौँ । हामी बसेको क्षेत्रलाई नीलकण्ठेश्वर धाम भनिन्छ । त्यहाँ हामीले भाषा–साहित्य, पत्रकारिता, गीत–सङ्गीत क्षेत्रको अनुसन्धान गर्न मिल्ने अनुसन्धान केन्द्र बनाउने सोच राखेका छौँ । त्यस ठाउँमा विज्ञान–प्रविधि क्षेत्रको विश्वविद्यालय, संस्कृत गुरुकुल, अस्पताल, मन्दिर आदि भइसकेपछि अनुसन्धान केन्द्र पनि होस् भन्न खोजेका हौँ ।
अनुसन्धान केन्द्रअन्तर्गत नै हामीले सालिक राख्न खोजेका हौँ । त्यसपछि भवन बनाउन हामी कस्सिएका छौँ । सभाकक्ष, पुस्तकालय, अभिलेखालय आदि रहेको भवन बनाएर त्यसैमा अतिथिशाला पनि बनाउने विचारमा छौँ । राजमार्गको नजिकै, जङ्गलको छेउ, सवारी साधन पुग्ने ठाउँ, जहिलेसुकै हरियोपरियो, गाउँले जनजीवन, हरेक बिहान वेदध्वनि सुन्न पाइने, गौरीशङ्कर हिमालको दर्शन गर्न पाइने, भगवान् नीलकण्ठेश्वर महादेवको मन्दिर, चराचुरुङ्गीको आवाज, अत्यन्तै सहयोगी माज्छेहरू भएको त्यस्तो ठाउँमा नेपालका प्रसिद्ध लेखक–कलाकारहरू गएर दुई–चार दिन बसिदिए, त्यहीँ हामीले बनाएको भवनमा बसेर आफ्नो सिर्जनालाई परिष्कृत र परिमार्जित बनाइदिए हामीलाई कति आनन्द आउने थियो होला ! त्यहाँको वातावरणले लेखक–कलाकारहरूबाट कति राम्रा सिर्जनाहरू दिलाउँथ्यो होला !
हामी त्यस ठाउँमा तपाईंहरूजस्ता विद्वान् लेखक, पत्रकार, कलाकार, समाजसेवी, वैज्ञानिकहरूलाई पु¥याउन चाहन्छौँ । हाम्रो आग्रह छ एकैपटक मात्रै भए पनि बनेपामा आइदिनोस्, नीलकण्ठेश्वर महादेवको दर्शन गरिदिनोस्, नैमिषारण्य संस्कृत गुरुकुल हेरिदिनोस्, शब्दयात्रा प्रकाशनले गर्न खोजेका कामहरू र गरिसकेका कामहरूका विषयमा जानकारी लिइदिनोस् । अनि अब यो–यो काम यसरी–यसरी गर भनेर सल्लाह दिनोस् । हामी तपाईंहरूलाई बनेपाको नीलकण्ठेश्वर धाम, शब्दयात्रा प्रकाशनको जग्गा कृष्ण–गीता परिसरमा स्वागत गर्न हतारिएका छौँ ।
यसै अवसरमा शब्दयात्रा प्रकाशनले निर्माण गर्न लागेको अनुसन्धान केन्द्रको भवन बनाउनका लागि आफ्ना तर्फबाट ५ लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्दछु । यस्तै–यस्तै सहयोगबाट नै शब्दयात्रा प्रकाशनका तर्फबाट नेपालले खोजेको अनुसन्धान केन्द्र बन्न सक्नेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु । (सभापतिका रूपबाट अभिव्यक्त मन्तव्यको अंश)