गत २०७७ साल असोज १५ गते बिहीबार शब्दयात्रा प्रकाशनको केन्द्रस्थल बनेपामा आई पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव, नेपाली लेखक सङ्घ मोरङका अध्यक्ष तथा साहित्यिक पत्रकार कवि गोकुल अधिकारी र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार शर्माले देवस्थल र पितृस्थल दुवैको अवलोकन गर्नुभयो ।
उहाँहरूले नेपालका प्रथम पाँच साधकका सालिकहरू राखिएको नेपालको एक मात्र ठाउँ शब्दसाधक तीर्थको मनोयोगपूर्वक अवलोकन गर्नुभयो । उहाँहरूले शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर, शब्दयात्रा प्रकाशन पुस्तकालय र सभाकक्षको पनि अवलोकन गर्नुभएको थियो । नीलकण्ठेश्वर महादेव, जलकुण्ड, शेषशायी विष्णु, नागस्थान र हनुमानको दर्शन पनि उहाँहरूले गर्नुभएको थियो ।
त्यस बखत उहाँहरूले राजमार्गको नजिकै रहेको सुन्दर प्राकृतिक वातावरणमा देवता र पितृहरूको एकसाथ निवास भएको यस्तो वाङ्मयिक धरोहर अन्यत्र कतै नदेखेको र हरेक वाङ्मयसेवीले एकपटक पुग्नैपर्ने ठाउँका रूपमा आफूले पाएको धारणा व्यक्त गर्नुभएको थियो ।
उहाँहरूलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले स्वागत गर्दै शब्दयात्रा प्रकाशनका बारेमा जानकारी गराउनुभएको थियो भने रमेश अधिकारी र सङ्गीता केसीले विभिन्न स्थलहरूको अवलोकन गराउनुभएको थियो ।