शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा अन्वेषक तथा साहित्यकार लालबहादुर भुजेलले नेपालको मौलिक सङ्गीत ठाडोभाकाका विषयमा जानकारीमूलक प्रवचन गर्नुभयो । उहाँले ठाडोभाकाका विषयमा अन्वेषणात्मक कृति नै लेखेर प्रकाशन गराउनुभएको छ । प्रवचन कार्यक्रममा उहाँले ठाडोभाकाशिरोमणि भेडीखर्के साइँलोका रूपमा प्रसिद्धि प्राप्त गरेका दीर्घराज अधिकारी लगायत अन्य गायकहरू र लमजुङमा रहेको ठाडोभाका सम्बन्धी प्रतिष्ठानका बारेमा पनि जानकारी गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रममा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जारा, काभ्रेपलान्चोक सम्पर्क केन्द्रका सदस्य सहदीप पलान्चोके आदिले ठाडोभाका सम्बन्धी जिज्ञासाहरू राख्नुभएको थियो । कार्यक्रममा नानु उप्रेती लगायतका व्यक्तिहरू पनि सहभागी हुनुहुन्थ्यो ।