शब्दयात्रा प्रकाशनले ‘शब्दसंवाद’ नामको साप्ताहिक कार्यक्रम सुरु गर्ने निधो गरेको छ । उक्त कार्यक्रम हरेक मङ्गलबार दिउँसो ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा गरिने पनि तय गरिएको छ । आवश्यकताअनुसार अन्य दिनहरूमा पनि कार्यक्रम सञ्चालन गर्न सकिनेछ । ‘शब्दसंवाद’ कार्यक्रमका लागि पदमनाथ ढुङ्गानालाई संयोजक तोकिएको छ ।
‘शब्दसंवाद’ कार्यक्रममा हरेक साता फरक–फरक व्यक्तिले सम्बन्धित विधामा आफ्ना विचार, चिन्तन र आत्मकथ्य प्रस्तुत गर्नेछन् । त्यसलाई संयोजकबाट लिपिबद्ध गरिनेछ र त्यसलाई त्यस हप्तापछि प्रकाशित हुने ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशित गरिनेछ । एक वर्ष पुगेपछि ती सबै सामग्रीहरू तस्बिरसहित शब्दयात्रा प्रकाशनले पुस्तकका रूपमा प्रकाशित गर्नेछ ।
‘शब्दसंवाद’ कार्यक्रममा जुनसुकै व्यक्तिले पनि आफूले जानकारी राखेको विधा र विषयमा आफ्ना विचार र चिन्तनका साथै आत्मकथ्यसमेत प्रस्तुत गर्न पाउनेछन् । यस कार्यक्रमलाई ‘कर्मयोद्धासँग शब्दसंवाद’ नाउँ दिइएको छ ।
‘शब्दसंवाद’ कार्यक्रमको संयोजक बन्नुभएकोमा पदमनाथ ढुङ्गानालाई हार्दिक बधाई !