शब्दयात्रा प्रकाशनले नेपाली साहित्यमा पहिलोपटक नियात्रा–उपन्यास विधाको कृति प्रकाशन गर्ने भएको छ । नियात्राकार पोष चापागाईंको उक्त नियात्रा–उपन्यासको नाम ‘सौन्दर्य’ राखिएको छ । नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ ले यस पुस्तकमा भूमिका लेखेका छन् ।
‘सौन्दर्य’ नेपाली साहित्यमा नियात्रा–उपन्यास विधाको पहिलो कृति हो । ‘हाइकु कथा’ लेखेर हाइकु साहित्यमा कथालाई प्रवेश गराई नवीन विधाको आरम्भ गरेका पोष चापागाईंले नियात्रा–उपन्यास भन्ने नवीन विधाको समेत आरम्भ गरेका छन् ।
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकामा २०७६ साल वैशाख १७ गतेदेखि छाप्न सुरु गरी २०७६ साल पुस ८ गते छापिसकिएको सामग्रीलाई सम्पादन गरी ‘सौन्दर्य’ नामक नियात्रा–उपन्यास प्रकाशन गर्न लागिएको हो । यो कृति १ सय ४० पृष्ठको छ । यो कृतिसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पु्स्तकहरूको सङ्ख्या १ सय ४७ पुगेको छ । शब्दयात्रा प्रकाशनले नवीन प्रयोगका लागि राष्ट्रिय ख्याति आर्जन गरिसकेको छ ।