शब्दयात्रा प्रकाशनबाट थैलीमा राखेर पुस्तक सार्वजनिक गर्ने गरिएको छ । यसको विशेष कारण छ । हाम्रो धर्मशास्त्रका पुस्तकहरू कागजले बेरिँदैनन्, कपडाको जिल्द लगाएर सुरक्षित राखिन्छन् । पुराना पुस्तकहरू घरमा छन् भने हेर्न सकिन्छ । भागवत–पुराणहरू पनि कपडामै राखिन्छन् । अर्को कुरा, पुस्तकलाई स्त्रीलिङ्गी शब्द मानेर पोथी पनि भनिन्छ, सरस्वतीको प्रतीक मानिन्छ । ‘पोथीपात्रा’ भन्ने शब्द अझै सुन्न पाइन्छ । थैली नेपाली स्त्रीहरूले प्रयोग गर्ने वस्त्र हो । त्यसैले रङ्गीन थैलीमा पुस्तक राख्नु एकदमै तर्कसङ्गत हुन्छ । पुस्तकलाई कागजले कस्ने अनि रिबनले बाँध्ने कार्य राम्रो हो र ? त्यो देख्ता लास बाँधेजस्तो भान पर्दैन ? सरस्वतीलाई गर्ने व्यवहार र लासलाई गर्ने व्यवहारमा फरक हुनु स्वाभाविकै हो । त्यसैले पुस्तक सार्वजनिक गर्दा पुस्तकलाई रङ्गीन कागजले बेरेर त्यसमाथि रिबनले बाँध्ने अनि रिबन फुकाई रङ्गीन कागज च्यातेर पुस्तक निकाली देखाउने गर्नु ठीक नलागेको हो । थैलीको प्रयोग गर्नु नेपालीको मौलिक परम्परा हो । थैलीको प्रयोग हराए नेपालीको एउटा मौलिकता नासिन्छ । थैलीको चलन लोप हुन लागेको हुनाले थैलीको चलनलाई पुनःस्थापित गराउन शब्दयात्रा प्रकाशनले यस्तो अभियान चलाएको हो । यसैको प्रभावले अचेल थैलीको चलन पनि बढ्न थालेको छ ।
अर्को कुरा, शब्दयात्रा प्रकाशनले पुस्तकलाई सार्वजनिक गर्छ, विमोचन र लोकार्पण गर्ने भन्दैन । कृतिकार बनेर पाप गरेजस्तो र सङ्कटमा परेजस्तो लाग्यो भने मात्रै त्यसबाट मुक्त हुन विमोचन गर्नुपर्ने हो । लोकलाई पहिले नै अर्पण गरिसकेको पुस्तक फेरि बिक्री गर्नु ठीक नभएकाले पुस्तक बिक्री नगर्ने भए मात्रै लोकार्पण गर्नुपर्ने हो । सार्वजनिक गर्दाचाहिँ पाप गरेको वा सङ्कटमा परेको भान हुँदैन र अर्पण गरेर त्यसैलाई फेरि बिक्री गरेको दोष पनि लाग्दैन । यही विचारले शब्दयात्रा प्रकाशनले ‘सार्वजनिकीकरण’ शब्दको प्रयोग गर्ने गरेको छ ।