शब्दयात्रा प्रकाशनले २०७७ सालको ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ बनेपानिवासी समाजसेवी सकुल थापालाई प्रदान गरेको छ । शब्दयात्रा प्रकाशनको प्रारम्भिक अवस्थादेखि नै यस संस्थाका विभिन्न गतिविधिहरूमा सक्रिय रही समय, श्रम, सीप, पुँजी र विचारको सहयोग गरेर संस्थालाई गतिशील बनाउन अहम् भूमिका खेल्नुभएकोमा उहाँलाई ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशी रु. १०,०००।– रुपियाँ रहेको छ । पुरस्कारमा शब्दयात्रा पट्ट, प्रमाणपत्र र उपहार पनि प्रदान गरिन्छ ।
शब्दयात्रा प्रकाशनबाट ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ प्रदान गरिएको यो चौथोपटक हो । यसअघि यो पुरस्कारबाट पदमनाथ ढुङ्गाना, दामोदर घिमिरे र शिवप्रसाद बन्जारा पुरस्कृत हुनुभएको थियो ।
गत २०७७ साल असोज १० गते शनिबार विशेष कार्यक्रमको आयोजना गरी काभ्रेपलान्चोक जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यमा सकुल थापालाई उक्त पुरस्कार प्रदान गरिएको थियो । त्यस क्रममा सञ्चालक सदस्य हरिगोपाल प्रधानले उपहार, संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले नगद रकम, अतिथि मोतीराम तिमल्सिनाले शब्दयात्रा पट्ट र प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
पुरस्कृत व्यक्तित्वका विषयमा गीतिभास्कर मच्छेश्वर सापकोटाले जानकारी गराउनुभएको थियो भने पुरस्कृत व्यक्तित्व सकुल थापाले आफूलाई पुरस्कारका लागि योग्य देखेकोमा शब्दयात्रा प्रकाशनप्रति आभार व्यक्त गर्नुभएको थियो ।