काठमाडौँबाट वासु शशी स्मृति प्रतिष्ठानसँग आबद्ध साहित्यकारहरूको एक टोलीले गत पुस २७ गते बिहीबार काभ्रेमा आई शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण ग¥यो । प्रतिष्ठानका अध्यक्ष र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिकको नेतृत्वमा आएको टोलीमा अन्य तीनजना साहित्यकारहरू हुनुहुन्थ्यो । कवि तथा प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृष्ण जोशी, सम्पादक तथा प्रतिष्ठानका सचिव प्रद्युम्न जोशी र कवि तथा प्रतिष्ठानका सदस्य राधेश्याम लेकाली उक्त टोलीमा सहभागी हुनुहुन्थ्यो ।
प्रतिष्ठानको टोलीलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सञ्चालक सदस्य कृष्णमणि कुइँकेल, महाप्रबन्धक शारदाप्रसाद शर्मा र ‘शब्दसंवाद’ का सञ्चालक पदमनाथ ढुङ्गानाले कार्यालयमा स्वागत गर्नुभएको थियो । उहाँहरूलाई शब्दयात्रा प्रकाशनबाट प्रकाशित केही पुस्तकहरू उपहार प्रदान गरिएको थियो । उहाँहरूले शब्दयात्रा प्रकाशनको मुख्य कार्यालय, सभाकक्ष, सालिकहरू, बहुआयामिक अनुसन्धान प्रतिष्ठानको निर्माणस्थल, बनेपा सम्पर्क कार्यालय आदिको अवलोकन गर्नुभएको थियो ।
त्यस बखत शब्दयात्रा प्रकाशन, वासु शशी स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लगायतका केही संस्थाहरूको सहकार्यमा विशेष साहित्यिक क्रियाकलापहरू गर्ने विषयमा छलफल भएको थियो ।