— रामचन्द्र हुमागाईं

शब्दयात्रा प्रकाशन विगत पाँच वर्षअघिदेखि काभ्रे जिल्लालाई केन्द्रभूमि बनाएर विभिन्न राष्ट्रिय गतिविधिहरू गरिरहेको छ । यस संस्थाले (क) सुमन खड्काको सम्पादनमा ‘नेपालभूमि’ विचारप्रधान राष्ट्रिय साप्ताहिक पत्रिकाको प्रकाशन र रश्मि मञ्जुश्री अधिकारीको सम्पादनमा प्रकाशित ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको व्यवस्थापन गरिरहेको छ । सामाजिक उत्तरदायित्वको निर्वाह गर्दै ‘नेपालभूमि’ र ‘अक्षरधाम’ का हरेक अङ्क ५००÷५०० प्रति निःशुल्क वितरण गर्ने गरिएको छ । (ख) विभिन्न सहयोगीहरूको आर्थिक व्यवस्थापनमा १६ विधाका सम्मानहरूको स्थापना गरेर हरेक वर्ष ३–३ महिनाको फरकमा राष्ट्रिय व्यक्तित्वहरूमा समर्पण गरिरहेको छ । हरेक सम्मानमा ५ हजार रुपियाँ, किरीट, पुस्तक उपहार र अभिवन्दनापत्र समर्पण गरिन्छ । यसपटकदेखि ‘महिला प्रतिभा सम्मान’ थप गरिएको छ । (ग) साहित्यकार, पत्रकार र कलाकारहरूलाई आर्थिक सहयोग गर्न अक्षरसेवी सहयोग कोषको स्थापना गरेको छ । आवश्यकताका आधारमा सहयोग वितरण पनि गर्ने गरेको छ । (घ) विभिन्न साहित्यिक कार्यक्रम र शिविरहरूको आयोजना गरेको छ । (ङ) विभिन्न लेखकहरूले लेखेका विभिन्न विधाका ७५ वटा पुस्तकको प्रकाशन गरिसकेको छ । (च) रेडियो एबीसी ८९.८ मेगाहर्जबाट ‘शब्दसञ्चार’ नामक साप्ताहिक रेडियो कार्यक्रम हरेक बुधबार बेलुका ७ देखि ७ः३० बजेसम्म प्रसारण गर्ने गरेको छ । (छ) शब्दयात्रा घुम्ती पुस्तक पसलको सञ्चालन गरेको छ । (ज) विभिन्न पुस्तकालयलाई पुस्तकहरू निःशुल्क उपलब्ध गराएको छ । कारागारका कैदी–बन्दीहरूमा नैतिक र आध्यात्मिक चेतनाको जागरण गराउन तिनीहरूमा आध्यात्मिक पुस्तकहरू वितरण गरेको छ । (झ) संस्थाका हरेक गतिविधिहरूका विषयमा र संस्थासँग सम्बन्धित लेखक–पत्रकारहरूका विषयमा जानकारी गराउन www.sypublication.com.np नामक वेभसाइट सञ्चालन गरिरहेको छ । त्यही वेभसाइटमा लेखकहरूको छुट्टाछुट्टै पनि राख्न थालिएको छ । यसले संसारभरि सूचना पु¥याउन सकिने भएको छ र लेखकको प्रतिभालाई अन्तर्राष्ट्रियकरण गर्न थालिएको छ ।
अब यो संस्था यी सबै कार्यक्रमलाई निरन्तरता दिँदै यस्ता सबै कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्न काभ्रे जिल्लामा पुस्तकालय, सङ्ग्रहालय, वाङ्मयसेवीहरूका लागि विशेष अतिथिशाला आदिसहितको ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ निर्माण गर्न अग्रसर भएको छ । त्यसका लागि समाजसेवी कृष्णमणि कुइँकेलले यस संस्थालाई बनेपा नगरपालिका वडा नं. ११ मा रहेको केही जग्गा दान दिनुभएको छ । कार्यालय सचालनका लागि काठमाडौँ विश्वविद्यालय, त्रिरत्न रन्जितकार, बुद्ध मानन्धर आदिबाट केही भौतिक सहयोग प्राप्त भएको छ ।
यस संस्थाबाट हरेक वर्षको जेठ, भदौ, मङ्सिर र फागुन महिनामा ४–४ विधाका सम्मान समर्पण गरिन्छन् । तिनमा सकुल थापाद्वारा आफ्नी आमा शारदा थापाको स्मृतिमा व्यवस्थापित शब्दयात्रा अनुसन्धान सम्मान अनुसन्धाता प्रा. डा. त्रिरत्न मानन्धरलाई, हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा समालोचना सम्मान समालोचक प्रा. डा. गार्गी शर्मालाई, कविप्रसाद प्याकु¥यालद्वारा व्यवस्थापित शब्दयात्रा कविता–काव्य सम्मान काव्यकार रमेश खकुरेललाई र गोपाल पराजुलीद्वारा व्यवस्थापित शब्दयात्रा बालसाहित्य सम्मान देवीप्रसाद वनवासीलाई समर्पण गरिँदैछ । सम्मानित प्रतिभाहरूको चयन काठमाडौँ विश्वविद्यालयसँग आबद्ध डा. पुरुषोत्तम खरेल, डा. सरस्वती आचार्य, सुरेन्द्र के. सी. र शिवनाथ मैनाली सम्मिलित समितिले गरेको हो ।
कवयित्री मीरा पौड्यालद्वारा लिखित ‘अग्निजल’ कवितासङ्ग्रह र द्रोणप्रसाद श्रेष्ठद्वारा सम्पादित ‘रचनापछिका विवेचना’ लाई पनि सार्वजनिक गरिँदैछ । यी दुवै पुस्तक शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित भएका हुन् । संस्था सञ्चालन गरिएको ६३ महिनाभित्र यस संस्थाले ७५ वटा पुस्तकको प्रकाशन गरेको छ भने त्यसबाहेक हरेक हप्ता नियमित रूपमा ‘नेपालभूमि’ साप्ताहिक पत्रिका र ३ वटा वार्षिक अङ्कको प्रकाशन र ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको व्यवस्थापन गरिरहेको छ ।
शब्दयात्रा प्रकाशनसँग सम्बन्धित रहेर शब्दयात्रा नारी स्रष्टा समाज, शब्दयात्रा लेखक समाज, शब्दयात्रा सम्मान व्यवस्थापक समाज, शब्दयात्रा पत्रकार समाज, शब्दयात्रा विश्वसम्पर्क समाज, शब्दयात्रा कलाकार समाज, शब्दयात्रा सहयोगी समाज र शब्दयात्रा पाठक समाज सक्रिय रहेका छन् । यी सबै समाजमा आबद्ध महानुभावहरू र उहाँहरूका सिर्जनाहरू विश्वभरि छरिन सकून् भन्ने उद्देश्यले शब्दयात्रा प्रकाशनले हरेक समाजका सदस्यहरू र तिनका सिर्जनाहरू रहने छुट्टाछुट्टै ब्लगको निर्माण गराइरहेको छ । यसबाट नेपाली प्रतिभाहरू विश्वका अन्य प्रतिभाहरूसँग प्रत्यक्ष रूपमा जोडिन सक्नेछन् र नेपाली प्रतिभाको पनि विश्वव्यापी सन्जाल हुनेछ । नेपाली अक्षरसेवीहरूको हितका लागि आधुनिक प्रविधिको उपयोग गर्ने शब्दयात्रा प्रकाशनको यो अभियानमा यहाँहरूको साथ रहने कुरामा हामी विश्वस्त छौँ । (स्वागत मन्तव्यको सम्पादित अंश)