— शारदाप्रसाद शर्मा

आज सार्वजनिक गरिएका दुई पुस्तकका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु । आज सार्वजनिक गरिएका कुृतिका कृतिकारद्वय भोजपुर जिल्लामा जन्मेका प्रतिभा हुनुहुन्छ । दुवैजनाको कृति काभ्रे जिल्लामा रहेको संस्थाबाट प्रकाशित भई काभ्रे जिल्लामै सार्वजनिक हुनु खुसीको कुरा हो ।
परिचयका लागि मलाई जिम्मा दिइएको पहिलो पुस्तक मीरा पौड्यालद्वारा लिखित ‘अग्निजल’ नामक कवितासङ्ग्रह हो । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो ७४ औँ पुस्तक हो । यस पुस्तकमा १२३ वटा गद्यकविताहरू राखिएका छन् । यसमा मोहन दुवाल, डा. श्याम भट्टराई, शारदाप्रसाद शर्मा, भवानी पाण्डे र रामसुन्दर देउजाका गहकिला मन्तव्यहरू राखिएका छन् । प्रकाशन हुनुभन्दा पहिले नै अन्तर्विमर्श गरी प्रकाशनमा आएकाले यो खँदिलो कृति बनेको छ । यसमा सङ्ग्रहित कविताहरूमा व्यङ्ग्यात्मक हाँसो, अन्तर्मनको पीडा, यौनको मादकता, देशप्रतिको चित्तदुखाइ आदि मिश्रित रूपमा अग्निजलको कारकका रूपमा देखापरेका छन् । जम्मा १६८ पृष्ठको यस सङ्ग्रहको मूल्य २५० रुपियाँ राखिएको छ । मीरा पौड्यालको यो पहिलो पुस्तकका लागि उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँबाट यस्ता कृतिहरू अरू पनि जन्मिनेछन् भन्ने आशा व्यक्त गर्दछु ।
दोस्रो पुस्तक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को ‘रचनापछिका विवेचना’ होे । यो उहाँको चौथो र उहाँद्वारा सम्पादित दोस्रो कृति हो । २०७० चैत २७ गते द्रोणप्रसाद श्रेष्ठका दुई पुस्तक ‘मेरा पिता र म’ तथा ‘चण्डिप्रसाद परिक्रमा’ को सार्वजनिकीकरण प्रज्ञाभवन कमलादीमा गरिएको थियो । कार्यक्रममा पुस्तकहरूका बारेमा अतिथिहरू, सभापति र अन्य महानुभावले आ–आफ्ना मन्तव्य प्रस्तुत गर्नुभएको थियो । वक्ताहरूबाट प्रस्तुत मन्तव्यहरू मुभीमा कैद गरिएका थिए । मुभीमा भएका मन्तव्यहरूलाई सुमन खड्काको सहयोगमा कागजमा उतारियो, कम्प्युटर टाइप गराइयो र भाषिक शुद्धीकरण गरियो । ती मन्तव्यहरू पाठकका लागि ज्ञानवद्र्धक र नौलो खुराक हुने भएकाले पुस्तकका रूपमा प्रकाशनमा ल्याइएको हो । पुस्तकलाई दुई भागमा विभाजन गरी एक भागमा मन्तव्य र अर्को भागमा समारोहमा खिचिएका फोटाहरू समावेश गरिएको छ । जम्मा ८८ पृष्ठको यस पुस्तकको मूल्य १५०।– रुपियाँ राखिएको छ । यस्तो नौलो प्रस्तुतिका लागि सम्पादकज्यूलाई हार्दिक बधाई छ ।
आज सार्वजनिक गरिएका यी दुवै पुस्तकले आ–आफ्नै प्रकारको स्थान राख्नेछन् भन्ने विश्वास व्यक्त गर्दछु । (परिचयात्मक मन्तव्यबाट)