मैले लामो समय प्रहरी सेवामा बिताएँ । सेवाबाट अवकाश पाएपछि सामाजिक कार्यमा संलग्न बनेँ । त्यस क्रममा म विभिन्न संस्थाहरूमा आबद्ध भएँ र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको संस्थापक सदस्य पनि बनेँ । त्यसपछि ग्रन्थसम्पादक हरि मञ्जुश्रीसँग मेरो सम्पर्क भयो र म शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मानित व्यक्तित्व चयन समितिमा रहन पाएँ, अनि ‘नेपालभूमि साप्ताहिक’ मा मेरा केही लेखहरू प्रकाशित भए । उहाँसँग एकहप्ते शिविरमा बसेर नेपाली भाषासम्बन्धी केही ज्ञान पनि पाएँ । उहाँले सम्पादन गर्नुभएको ‘सुशील कोइराला अरूको दृष्टिमा’ पुस्तकको सामग्री सङ्कलक तथा प्रकाशन सहयोगी हुन पाएँ । म शब्दयात्रा प्रकाशनको साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा समेत सहभागी बनेँ । मेरो त्यस बेलाको प्रस्तुति ‘नेपालभूमि साप्ताहिक’ मा छापियो । आज सार्वजनिक भएको ‘काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश’ नामक पुस्तिका पनि शब्दयात्रा प्रकाशनबाटै छापिएको छ । यसका लागि म हरि मञ्जुश्री र शब्दयात्रा प्रकाशन परिवारप्रति आभार व्यक्त गर्दछु ।
म पूर्वप्रहरी कर्मचारीहरूको संस्था पूर्वप्रहरी कर्मचारी परिषद्सँग स्थापनाकालदेखि नै आबद्ध भएकाले र त्यस परिषद्को काभ्रे जिल्ला अध्यक्ष पनि भएकाले आफ्नो जिल्लाका साथीहरूलाई प्राथमिकतामा राखेर पूर्वप्रहरी कर्मचारीको नाम, ठेगाना र दूरभाषाङ्क सङ्कलन गर्ने प्रयत्न मैले गरेको थिएँ । २०७२ वैशाख १२ गतेको महाविनाशकारी भूकम्पपछि राहत वितरण गर्ने कार्यमा लाग्नुप¥यो । त्यसले गर्दा सङ्कलनकार्य प्रभावित भयो । पछि त्यसलाई फेरि सुरु गरेँ र प्रकाशन गराइदिन हरि मञ्जुश्रीसँग आग्रह गरेँ । उहाँले स्वीकृति दिई सहयोग गर्नुभएकाले नै यो पुस्तिका प्रकाशन भएको हो । यसमा कतिपय साथीहरू छुट्नुभएको र कसैको नाम, ठेगाना र सम्पर्कसूत्र गल्ती भएको हुन सक्छ । त्यसप्रति क्षमा माग्दै आगामी संस्करणमा सच्याउने प्रतिबद्धता व्यक्त गर्दछु ।
यस पुस्तिकामा काभ्रेली पूर्वप्रहरी कर्मचारी साथीहरूको सम्पर्क नम्बर दिँदा अधिकांश साथीहरूको मोबाइल नम्बर राखेको छु भने कसैकसैको चाहिँ ल्यान्ड फोनको नम्बर राखेको छु । पूर्वप्रहरीहरू अत्यन्त सम्वेदनशील हुने भएकाले उहाँहरूको नम्बरको दुरुपयोग नगरिदिन मेरो अनुरोध छ । पूर्वप्रहरी कर्मचारी साथीहरूले पनि मोबाइलबाट हुने हानिका विषयमा जानकारी लिएर आफ्ना परिवार, छरछिमेक र समाजका सदस्यहरू सबैलाई जानकारी दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । मोबाइल फोनबाट हुन सक्ने दुष्प्रभावका विषयमा ‘नेपालभूमि साप्ताहिक’ को आगामी अङ्कमा मेरो लेख प्रकाशन हुने भएको छ । त्यसको अध्ययन गरिदिन पनि अनुरोध गर्दछु ।
मेरो पुस्तिकाका साथमा आज हरि मञ्जुश्रीद्वारा सम्पादित ‘नागा बाबा रमेश गिरि’ नामक स्मृतिग्रन्थ, कृष्णहरि मैनालीद्वारा लिखित ‘यात्रा’ नामक कवितासङ्ग्रह र श्रीधर प्याकु¥यालद्वारा अनूदित ‘सत्यनारायण कथामृत’ नामक काव्य पनि सार्वजनिक भएका छन् । उहाँहरूलाई बधाई दिन चाहन्छु ।