बनेपा नगरपालिकाको उपप्रमुखका रूपमा निर्वाचित भई पदभार ग्रहण गरिसकेपछिको मेरा लागि यो पहिलो औपचारिक सार्वजनिक कार्यक्रम हो । शब्दयात्रा प्रकाशनले मलाई विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेकोमा आयोजक संस्थालाई म धन्यवाद ज्ञापन गर्दछु ।
बनेपा नगरपालिकाको क्षेत्र अहिले विस्तार भएको छ । केन्द्रीय राजधानीको निकट रहेको, काठमाडौँ उपत्यकासँग जोडिएको, राजधानी छिर्ने मुख्य व्यापारिक नाका भएको र दुईवटा राजमार्गको केन्द्रविन्दु भएको हुनाले बनेपा नगरपालिकाको महàव ठूलो छ । फरक–फरक जातिको, फरक–फरक संस्कृतिको, फरक–फरक व्यवसायको र फरक–फरक भूक्षेत्रको अनुसन्धान गर्नका लागि यो नगरपालिका उत्तम ठाउँ हो ।
यस्तो नगरपालिका क्षेत्रमा भाषा–साहित्य, आमसञ्चार–पत्रकारिता, शिक्षा–शिक्षण र गीत–सङ्गीत विधाका व्यक्तित्वहरू एकै ठाउँमा समेटिएको शब्दयात्रा प्रकाशन जस्तो संस्था रहनु र राष्ट्रिय स्तरका बौद्धिक व्यक्तित्वहरूलाई बोलाएर हरेक वर्ष १६ विधामा नगद रकमसहित सम्मान गर्नु यस क्षेत्रकै लागि गौरवको विषय हो । राष्ट्रिय स्तरमा चर्चित पुस्तकहरू हाम्रै बनेपा नगरपालिका क्षेत्रमा रहेका संस्थाबाट प्रकाशन हुँदा, ऐतिहासिक महàवका पुस्तकहरू हाम्रै नगरबाट सम्पादन हुँदा र यस क्षेत्रका प्रतिभाहरूलाई सूचना–प्रविधिका माध्यमबाट बनेपाबाटै विश्वभरि चिनारी गराउन थालिएको हुँदा हामीलाई खुसी लाग्नु स्वाभाविकै हो ।
शब्दयात्रा प्रकाशनले हाम्रै बनेपा नगरपालिकाको ६ नं. वडामा साहित्य, पत्रकारिता, शिक्षा र सङ्गीत विधाका चारजना शिखर व्यक्तित्वको सालिक राख्न लागेको जानकारी पाएर मलाई धेरै खुसी लागेको छ । यस कार्यबाट ती विधाका शीर्ष व्यक्तित्वको सालिक एकै ठाउँमा राखिएको पहिलो नगरपालिकाका रूपमा बनेपा नगरपालिका चिनिनेछ । त्यसपछि ती चारै विधासँग सम्बन्धित व्यक्तिहरूका लागि हाम्रो नगरपालिका एक किसिमको तीर्थस्थलजस्तै बन्नेछ । यो कार्य सम्पन्न गर्न बनेपा नगरपालिकाका तर्फबाट गर्न सकिने सहयोगका लागि हामी तयार नै छौँ ।
जगत्केशरीले सिर्जना गरेको चण्डेश्वरी स्तोत्र र धनेश्वर स्तोत्र, नाला भगवती र धनेश्वर महादेवको मन्दिरमा गाइने पुराना भजन, अभिलेख, पुराना पुस्तकालय, शिक्षालय, विकटेश्वरको महिमा, साँगाको इतिहास, बनेपा र नालाका ढुङ्गेधारा, पोखरी, चोक, शिलालेख आदिजस्ता थुप्रै विषयहरूमा हामीले अनुसन्धान गरेर प्रकाशनमा ल्याउनुछ । हाम्रा पुर्खाले छाडेर गएको त्यस्तो नासोलाई सकेसम्म जोगाउनु आवश्यक छ । बनेपा नगरपालिका क्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक, पुराताàिवक, साहित्यिक, साङ्गीतिक र ऐतिहासिक सम्पदाका विषयमा अध्ययन, अनुसन्धान र प्रकाशन गराई यस क्षेत्रको उत्थानमा महàवपूर्ण भूमिका निर्वाह गर्न बनेपा नगरपालिका सम्बन्धित संस्थाहरूलाई सघाउन सक्छ । यस्ता विषयहरूमा शब्दयात्रा प्रकाशन जस्ता संस्थाहरूको ध्यान जाओस् भन्ने म चाहन्छु ।
हाम्रो बनेपा नगरमा आइदिएर सम्मानित हुनुभएका राष्ट्रिय प्रतिभाहरूलाई बनेपा नगरवासीका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु । सार्वजनिक गरिएका पुस्तकका सम्पादक, अनुवादक, कवि र सङ्कलकलाई पनि धन्यवाद छ ।
हामी सबैले कुनै पनि प्रकारको पूर्वाग्रह त्यागौँ, एकताबद्ध भई बनेपा नगरपालिका क्षेत्रलाई विकास–निर्माणका हरेक क्षेत्रमा उन्नत बनाऔँ र सिर्जनाका क्षेत्रमा पनि केन्द्रीय स्थल नै बनाउने प्रयास गरौँ । यही अनुरोध गर्दै म आफ्नो मन्तव्य अन्त्य गर्दछु ।