सिन्धुपाल्चोक जिल्लाको बाबरे — ५ मा अवस्थित जालपेश्वरी देवीस्थान परिसर खिपिङमा शिवशक्ति विराट् महायज्ञअन्तर्गत श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना गरियो । गत वैशाख ४ गतेदेखि प्रारम्भ गरिएको उक्त यज्ञ १२ गते समापन गरियो । भगवान् गौरीशङ्करका उपासक बाबा विश्वनाथ महाराजको समुपस्थितिमा सम्पन्न उक्त यज्ञमा पं. नवराज धितालले भागवतकथा वाचन गर्नुभएको थियो ।
उक्त यज्ञमा शब्दयात्रा प्रकाशनका अध्यक्ष साहित्यकार तथा ग्रन्थसम्पादक हरि मञ्जुश्रीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । उहाँले यज्ञमा उपस्थित भक्तजनका लागि अघिल्लो दिन १ घन्टा प्रवचन गर्नुभएको थियो भने भोलिपल्ट विद्यार्थीहरूलाई नैतिक शिक्षाका विषयमा १५ मिनेटसम्म अध्यापन गराउनुभएको थियो । उहाँले शब्दयात्रा प्रकाशनका तर्फबाट त्यहाँको विद्यालयका लागि एक दर्जन पुस्तक उपहार प्रदान गर्नुभएको थियो । उहाँलाई यज्ञमा सम्मान पनि गरिएको थियो ।
प्रमुख अतिथि हरि मञ्जुश्रीसँग कान्तिपुर एफएमका तर्फबाट जनार्दन घिमिरेले त्यहाँको अनुभवका विषयमा टेलिफोनबाट संवाद गरेर प्रत्यक्ष प्रसारण गर्दा र बाबा विश्वनाथसँग यज्ञका विषयमा जानकारी लिँदा रेडियोबाट संवाद सुनिरहेका उपस्थित भक्तजनमा हाम्रो समाचार राष्ट्रिय रूपमा फैलियो भनेर खुसी छाएको थियो ।
स्थानीय शिक्षासेवी तथा समाजसेवी सुरेन्द्र प्रधानको अध्यक्षतामा गठित आयोजक समितिले उक्त यज्ञका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाएको थियो । उहाँका अनुसार स्थानीय जनतामा नैतिक र आध्यात्मिक जागरण एवं सामाजिक एकताका लागि यस यज्ञले ठूलो सहयोग पु¥याएको छ ।