शब्दयात्रा प्रकाशनले आगामी भदौ महिनामा नेपालभूमि स्तम्भकार सम्मानबाट प्रा. डा. गोपाल शिवाकोटीलाई, शब्दयात्रा साहित्यिक पत्रिका सम्मानबाट ‘गुगुल्डी’ (साहित्यिक पत्रिका) लाई, शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मानबाट ‘गौरी’ (आध्यात्मिक पत्रिका) लाई र शब्दयात्रा फोटो पत्रकारिता सम्मानबाट फोटो पत्रकार मङ्गलमोहन श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।
गत साउन ३० गते आइतबार बसेको सम्मानित व्यक्तित्व चयन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
शब्दयात्रा प्रकाशनले ‘नेपालभूमि साप्ताहिक’ र ‘शब्दसञ्चार साप्ताहिक रेडियो कार्यक्रम’ बाट सम्मानयोग्य व्यक्ति तथा संस्थाको नाउँ सिफारिस गर्न सार्वजनिक रूपमा आह्वान गरेको थियो र तीमध्येबाट पनि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ चयन गर्न सम्मानित व्यक्तित्व चयन समिति बनाएको थियो । समितिमा एक्कुमाया पुन संयोजक तथा एकप्रसाद दुवाडी, सम्बोजन लिम्बू र भरतकुमार श्रेष्ठ सदस्य हुनुहुन्छ ।
सम्मानित हुनेहरूमा प्रा. डा. गोपाल शिवाकोटी अग्रज पत्रकारका रूपमा सुपरिचित हुनुहुन्छ । ‘नेपालभूमि साप्ताहिक’ मा उहाँका प्रशस्त लेखहरू प्रकाशित भएका छन् । ‘गुगुल्डी’ विगत १९ वर्षअघिदेखि सुदूरपश्चिम कञ्चनपुर जिल्लाबाट वीरबहादुर चन्द ‘विश्राम’ को सम्पादनमा प्रकाशित डोट्याली भाषाको साहित्यिक पत्रिका हो । ‘गौरी’ आध्यात्मिक मासिक पत्रिका अर्जुन लामिछानेको सम्पादनमा विगत ११ वर्षअघिदेखि काठमाडौँबाट प्रकाशित भइरहेको छ । २०१९ सालदेखि फोटो पत्रकारिता गर्न थाल्नुभएका मङ्गलमोहन श्रेष्ठ भीभीआईपीहरूका अफिसियल फोटोग्राफरका रूपमा पनि चिनिनुहुन्छ ।
शब्दयात्रा प्रकाशनले स्थापना गरेका सोह« विधाका सम्मानहरूमध्ये हरेक वर्षको भदौ महिनामा उल्लिखित चार विधाका सम्मानहरू समर्पण गर्ने गरिएको छ । ‘नेपालभूमि साप्ताहिक’ बाट नेपालभूमि स्तम्भकार सम्मानको, योगेन्द्र खत्रीबाट शब्दयात्रा साहित्यिक पत्रिका सम्मानको, प्रेमबहादुर खड्काबाट शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मानको र हरिगोपाल प्रधानबाट शब्दयात्रा फोटो पत्रकारिता सम्मानको आर्थिक व्यवस्थापन गरिएको छ ।
सम्मान गर्दा नगद पाँच हजार रुपियाँसहित उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गर्ने गरिन्छ । कार्यक्रम शब्दयात्रा प्रकाशनको केन्द्रीय कार्यालय रहेको काभ्रे जिल्लाको बनेपामा गर्ने गरिएको छ ।
भदौ महिनाको दोस्रो मङ्गलबार आयोजना गरिने सम्मान समर्पण समारोहमा ‘नेपालभूमि साप्ताहिक’ ले सम्मानसम्बन्धी विशेष पृष्ठको प्रकाशन गर्ने गरेको छ ।