शब्दयात्रा प्रकाशनद्वारा सम्मानित ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाको स्मृतिमा उहाँको जन्मजिल्ला सिन्धुलीका प्रतिभाशाली व्यक्तिलाई उहाँको नाउँबाट हरेक वर्ष पुरस्कृत गर्नका लागि शब्दयात्रा प्रकाशनमा अक्षयकोष राखिने भएको छ । यस विषयमा हरि मञ्जुश्रीले उहाँकी अर्धाङ्गिनी मनिका शर्माका साथै समालोचक डा. कुलप्रसाद कोइरालासँग कुरा गर्नुभयो । उहाँहरूले पुरस्कार यसै वर्षदेखि समर्पण गर्न र अक्षयकोषको व्यवस्था गर्न स्वीकृति दिनुभयो । हरि मञ्जुश्रीले यस वर्षका लागि पुरस्कार, अभिवन्दनापत्र र शब्दयात्रा पट्टका लागि आवश्यक रकम आफ्ना तर्फबाट उपलब्ध गराउने र पुरस्कारको अक्षयकोषका लागि प्रारम्भमा पन्ध्र हजार रुपियाँ पनि राखिदिने हुनुभयो । त्यसपछि निबन्धकार माधव काफ्लेले अक्षयकोषमा राख्न आफ्ना तर्फबाट दस हजार रुपियाँ दिनुभयो । अब जीवनचन्द्र कोइरालाको नाउँमा अक्षयकोष खडा भएर उहाँको नाउँबाट हरेक वर्ष सिन्धुलीका प्रतिभाशाली व्यक्तिलाई पुरस्कृत गरिने भएको छ ।