शब्दयात्रा प्रकाशनले गत २०७५ माघ १५ गते मङ्गलबार आयोजना गरेको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा २०७५ सालका लागि विभिन्न ६ विधाका सम्मान समर्पण गरियो भने ६ वटा पुस्तक सार्वजनिक गरियो ।
नेपालको पहिलो महिला प्रधानन्यायाधीश तथा लेखिका श्रीमती सुशीला कार्कीको प्रमुख आतिथ्य र भ्रष्टाचारविरोधी अभियन्ता भरत जङ्गमको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अग्रज समालोचक डा. वासुदेव त्रिपाठीलाई हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा समालोचना सम्मान, अग्रज कवि तथा गीतकार कालीप्रसाद रिजाललाई कविप्रसाद प्याकु¥यालद्वारा व्यवस्थापित शब्दयात्रा कविताकाव्य सम्मान र नेपालको पहिलो महिला हास्यकलाकार श्रीमती वसुन्धरा भुसाललाई द्रोणप्रसाद श्रेष्ठद्वारा मनका श्रेष्ठको स्मृतिमा व्यवस्थापित शब्दयात्रा महिला प्रतिभा सम्मान समर्पण गरियो । यसै गरी अग्रज अनुसन्धाता डा. राजेश गौतमलाई राजेन्द्र विरहीद्वारा जयदेव अधिकारीको स्मृतिमा व्यवस्थापित शब्दयात्रा अनुसन्धान सम्मान, अग्रज बालसाहित्यकार विश्वम्भर चञ्चललाई गोपाल पराजुलीद्वारा व्यवस्थापित शब्दयात्रा बालसाहित्य सम्मान र अग्रज वैज्ञानिक प्रा. सुरेशराज चालिसेलाई रामकृष्ण स्मृति प्रतिष्ठानद्वारा व्यवस्थापित शब्दयात्रा विज्ञान–प्रविधि सम्मान समर्पण गरियो ।
यीसमेत गरी शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्वहरूको सङ्ख्या १ सय १६ पुगेको छ । शब्दयात्रा प्रकाशनले हरेक वर्ष ५ हजार रुपियाँ, किरीट, अभिवन्दनापत्र र उपहारसहित १८ विधामा सम्मान समर्पण गर्ने गरेको छ ।
सम्मानित व्यक्तित्वहरूका बारेमा सम्मान्य व्यक्तित्व चयन समितिका संयोजक डा. इन्दुल केसीले जानकारी दिनुभएको थियो भने सम्मानित व्यक्तित्वहरूले शब्दयात्रा प्रकाशनलाई आशीर्वचन दिनुभएको थियो ।
उक्त समारोहमा दिलबहादुर श्रेष्ठद्वारा सङ्कलित ‘चण्डेश्वरी भजन सफू’ (भजनसङ्ग्रह), श्रीधर प्याकु¥यालद्वारा अनूदित ‘चाणक्यनीति दर्पण’ (काव्यानुवाद), सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘हनुमान चालीसान तथा बटुकभैरव स्तोत्र’ (स्तुतिसङ्ग्रह), दामोदर घिमिरेद्वारा लिखित ‘समाजका कर्मवीर’ (लेखसङ्ग्रह), नवीना श्रेष्ठद्वारा लिखित ‘नमारिएका सहिदहरू’ (कथासङ्ग्रह) र ‘मेरो हराएको कविता’ (कवितासङ्ग्रह) लाई सार्वजनिक गरियो ।
सबै पुुस्तकहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् । यीसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय १७ पुगेको छ ।
सार्वजनिक गरिएका पुस्तकहरूको परिचय कृष्णमणि कुइँकेल र चन्द्रबहादुर खड्काले गराउनुभएको थियो भने कृतिकारका तर्फबाट दामोदर घिमिरे र नवीना श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य हरिगोपाल प्रधानले स्वागत भाषण र संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले कार्यक्रमको सञ्चालन गर्नुभएको उक्त समारोहमा समाजसेवी किताबसिंह लामाले सभापतिका रूपबाट बोल्दै शब्दयात्रा प्रकाशनका लागि आफ्ना तर्फबाट एक तला घर निर्माण गरिदिने वचनबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशनको भवन निर्माण गर्न केही जग्गा अपुग भएकाले कृष्णमणि कुइँकेलले थप जग्गा दान गर्ने जानकारी गराइएको थियो ।
समारोहमा प्रमुख अतिथिलाई शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले र चयन समितिका सदस्यहरूलाई माधवप्रसाद तिवारीले संस्थाका तर्फबाट उपहार समर्पण गर्नुभएको थियो ।
समारोहमा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकामा एक वर्षसम्म निःशुल्क लेखरचना उपलब्ध गराउने मुकुन्दप्रसाद उपाध्याय, पोष चापागाईं, कविप्रसाद प्याकुरेल, डा. गोपाल शिवाकोटी, कृष्णविनोद शर्मा, चूडाप्रसाद चौलागाई, दामोदर घिमिरे, रोशन मञ्जुश्री अधिकारी, भार्गव उपाध्याय, अनुपम ढुङ्गेल, शिव बन्जारा, गीता मञ्जुश्री, गोविन्दबहादुर खड्का, सुदर्शन आचार्य, भवानी पाण्डे, युवराज शर्मा, सहदीप पलान्चोके, रश्मि हुमागाईं र प्रा. सुरेशराज चालिसेलाई उपहार प्रदान गरिएको थियो ।
विशेष अतिथि भरत जङ्गमले कार्यक्रमको समीक्षा गर्नुभएको उक्त समारोहमा शब्दयात्रा प्रकाशनका लागि विविध सहयोग गर्ने सुनीलकुमार अग्रवाल र अञ्जनिकुमार कोइरालालाई शब्दयात्रा कदरपत्र प्रदान गरिएको थियो ।