२०६८ सालमा शब्दयात्रा प्रकाशनको स्थापना भएदेखि नै म अनौपचारिक रूपमा यस संस्थासँग आबद्ध भएँ । तीन वर्षसम्म हाम्रै घरमा यसको कार्यालय राखियो । त्यस बेला निःशुल्क कोठा उपलब्ध गराइएको थियो । तेस्रो वर्षको भाडाचाहिँ हामीले लियौँ । त्यसपछि अब संस्थाले कोठाभाडा तिर्न सक्छ, अन्यत्रै सारौँ भन्ने कुरा उठ्यो । बुबाले पनि मान्नुभयो र कार्यालय सारियो । पहिले बनेपा नगरपालिकाको गेटअगाडिको घरमा सारिएको थियो, अहिले नगरपालिका भवनको पछाडिपट्टि छ ।
शब्दयात्रा प्रकाशनको दोस्रो प्रकाशनका रूपमा मैले र मेरी दिदी रश्मि मञ्जुश्री अधिकारीले सङ्कलन गरेको ‘हाम्री हजुरआमा मर्दा जो रोए’ छापियो । नाउँ संस्थाको राखे पनि आर्थिक लगानीचाहिँ हामीले नै ग¥यौँ ।
बुबाको इच्छाअनुसार शब्दयात्रा प्रकाशनलाई परिवारका हामी सबैले सकेसम्म सहयोग गर्दै गयौँ । संस्थाका लागि हाम्रै कम्प्युटर र प्रिन्टर चलाइयो, आमाले टाइप गर्नुभयो । तर त्यसको हिसाब गरिएन । कागज, मसी, चिया–खाजा आदिका लागि कति खर्च भयो, आफ्नै घरमा कार्यालय राखिएको हुनाले हिसाब राख्ने कुरै भएन । संस्था खोलेपछि सुरुका दिनहरूमा यस्तै हुँदो रहेछ भन्ने मैले थाहा पाएँ ।
म काठमाडौँ विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गर्दै थिएँ । बुबाले ‘शब्दयात्रा प्रकाशनको वेभसाइट आवश्यक परेको छ, बनाइदे न, संस्थासँग पैसा छैन, व्यक्तिगत रूपमा म १५ हजार रुपियाँसम्म मिलाइदिन सक्छु’ भन्नुभयो । एउटा सामान्य वेभसाइट बनाउँदा न्यूनतम पनि ३५ हजार रुपियाँ तिर्ने गर्छन् । तैपनि मैले बुबाको भनाइ काट्न सकिनँ र शिक्षक तथा साथीहरूसँग सहयोग लिएर धधध।कथउगदष्अिबतष्यल।अयm।लउ तयार पारिदिएँ । ‘सर्भरका लागि पनि पैसा छैन’ भन्नुभएको थियो । मैले दिदी–भिनाजुसँग सल्लाह गरेको थिएँ । भिनाजु डा. भास्कर हुमागाईंको सर्भर अनलिमिटेड रहेछ । भिनाजुले त्यसैलाई उपयोग गर्ने स्वीकृति दिनुभयो । त्यसरी वेभसाइट तयार भयो । आईटीका क्षेत्रमा यसरी शब्दयात्रा प्रकाशनले पहिलो पाइला राख्यो ।
वेभसाइट त बन्यो, तर त्यहाँ राख्ने सामग्री तयार पार्न उस्तै गाह«ो प¥यो । सामग्री तयार पार्न बुबाले रातदिन मिहिनेत गर्नुभएको मैले देखेँ । मैले पनि पढाइबाट समय निकालेर त्यसलाई अपडेट गर्दै गएँ । बुबाले ‘नेपालभूमि साप्ताहिक’ मा पनि सघाइदे भन्नुभएकाले पहिले ‘विश्वभूमि’, पछि ‘ऊर्जाभूमि’ स्तम्भमा र बेलाबखत अन्य लेखहरू पनि लेख्तै गएँ । प्रकाशित सामग्रीहरू हरेक साता वेभसाइटमा राखिदिन थालेँ । ती कुनै पनि कामको मैले पारिश्रमिक मागिनँ । किनभने शब्दयात्रा प्रकाशनलाई सहयोग गर्नुपर्छ, यो पनि संस्थामार्फत हामीले देशका लागि गरेको योगदान हो भनेर बुबाले भन्नुभएको थियो । पोष चापागाईं, कविप्रसाद प्याकु¥याल र तुतुकाजी प्रणामी श्रेष्ठको ब्लग बनाएको पारिश्रमिक भने मैले लिएँ ।
शब्दयात्रा प्रकाशन स्थापना भएको पाँच वर्षजति पछि २०७२ सालको अन्तिमतिर बुबाले एक दिन भन्नुभयो — “शब्दयात्रा प्रकाशनको आईटीतर्फको काम तँ नै राम्ररी हेरिदे न ! अरूलाई भन्यो भने धेरै पारिश्रमिक दिनुपर्छ । संस्थाले त्यसो गर्न सक्तैन ।”
मैले काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना लिइसकेको थिएँ । पढाइ अत्यन्त गाह«ो हुने भएकाले पढाइका लागि समय नै पुग्दैन भन्ने मलाई थाहा थियो । शब्दयात्रा प्रकाशन भनेर कति मरिहत्ते गर्नुभएको होला भन्ने पनि लाग्यो, तैपनि बुबाले भनेको कुरा, नाइँ भन्न सक्ने कुरै भएन । ‘हुन्छ’ भनेँ । अनि म कार्यकरारको कर्मचारीजस्तो बनेर शब्दयात्रा प्रकाशनको सूचना–प्रविधि अधिकृत अर्थात् आईटी अफिसर बनेँ । यसरी म शब्दयात्रा प्रकाशनमा औपचारिक रूपमा प्रवेश गरेँ ।
त्यसपछि त काम धेरै ओइरियो । पढाइलाई नै बाधा पुग्ने गरी काम गर्नुपर्ने हुन थाल्यो । सानो संस्थामा के काम होला र भन्ठानेको थिएँ, गर्ने हो भने काम त कति रहेछन् कति !
शब्दयात्रा प्रकाशनका कार्यक्रमहरू हरेक साता भइरहन्छन् । संस्थाका त्यस्ता गतिविधिहरूको समाचार म हरेक हप्ता बनाउँछु । ती समाचारहरू संस्थाको वेभसाइटमा राख्छु र अन्य सञ्चार–माध्यमहरूमा पनि पठाउँछु । संस्थाबाट प्रकाशित पुस्तकहरूको चिनारी तयार पारेर पुस्तकको आवरण र त्यो चिनारी वेभसाइटमा राख्ने काम पनि गर्छु । हरेक साता ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशित सामग्रीहरूलाई वेभसाइटमा अपडेट गर्ने काम पनि गर्ने गरेको छु । संस्थासँग सम्बन्धित व्यक्तिहरूको नाउँमा छुट्टाछुट्टै ब्लग बनाइदिनोस् भनेर संस्थाका सदस्यहरूले भन्नुभएको छ । त्यसमा चाहिँ त्यति धेरै समय दिन सकिरहेको छैन । अहिलेसम्म चारजनाको मात्र ब्लग बनाइदिन भ्याएको छु । तिनमा उहाँहरूको फोटो, बायोडाटा, फुटकर रचनाहरू र पुस्तकहरू राखिएका छन् ।
शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको कभर डिजाइन पनि अचेल मैले नै गर्ने गरेको छु । अरू व्यक्ति वा संस्थाले कभर डिजाइनिङका लागि सहयोग मागे भने त्यो काम पनि गरिदिनुपर्ने भएको छ । शब्दयात्रा प्रकाशनसँग सम्बन्धित व्यक्तिका पुस्तकहरूको अङ्ग्रेजी अनुवाद गर्ने काममा पनि म संलग्न भएको छु । अहिलेसम्म दुईवटा पुस्तकको अङ्ग्रेजी अनुवाद गर्ने काम मैले गरेको छु ।
पहिले बुबाको करकापले गर्दा मैले शब्दयात्रा प्रकाशनलाई सघाए पनि अहिले बिस्तारै यो संस्थासँग मेरो माया बस्न थालेको छ । म यस संस्थाको अभिन्न र महàवपूर्ण हिस्सा बनिसकेको छु । त्यसैले स्वदेश र विदेशका अनलाइन पोर्टलहरूसँग शब्दयात्रा प्रकाशनको सम्बन्ध बढाउन म प्रयास गरिरहेको छु । अमेरिकाको दचतलभउब।िअयm लाई म संस्थाका समाचारहरू पठाइरहन्छु । त्यसले पनि हाम्रा गतिविधिहरू प्रकाशित गरिदिने गरेको छ । यसरी नै अन्य पोर्टलहरूसँग पनि म संस्थाको सम्बन्ध विस्तार गराउँदैछु ।
शब्दयात्रा प्रकाशनलाई अन्तर्राष्ट्रिय सूचना–सन्जालसँग जोड्न र संस्थाका हरेक सदस्यहरूको व्यक्तित्व, योगदान र सिर्जनालाई अन्तर्र्राष्ट्रिय स्तरमा व्यापक र विश्वव्यापी बनाउन हामी लागिरहेका छौँ । त्यसका लागि हामी व्यक्तिगत ब्लगको सङ्ख्या बढाउन थालेका छौँ र अडियो–भिडियोलाई पनि माध्यम बनाउन थालेका छौँ । ‘शब्दसञ्चार’ (रेडियो कार्यक्रम), ‘शब्दसंवाद’ (प्रवचन कार्यक्रम), सम्मान समर्पण समारोह र पुस्तक सार्वजनिकीकरण कार्यक्रमलाई अडियो–भिडियो इडिटिङ गरेर यु–ट्युबमा राख्नका लागि हामीले काम सुरु गरिसकेका छौँ । शब्दयात्रा प्रकाशन विश्वसम्पर्क समाजका संयोजक हिरण्य भोजपुरेका गीतहरू अडियो–भिडियो इडिटिङ गरेर मैले यु–ट्युबमा राखेकोमा हजारौँ व्यक्तिहरूले तिनलाई हेरेका–सुनेका छन् । हामी आफ्नै वेभसाइटलाई पनि सामग्रीअनुसार परिमार्जन गर्दैछौँ । विश्वमा अहिले सीडी र किताबको भन्दा इन्टरनेटको प्रयोग बढी हुन थालेको छ । त्यसैले हामीले पनि विद्युतीय सञ्चार–माध्यमलाई बढीभन्दा बढी उपयोग गरेर शब्दयात्रा प्रकाशनका सदस्यलाई र उहाँहरूका सिर्जनालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन इन्टरनेटलाई हरेक सदस्यको हितमा प्रयोग गराउन थालेका छौँ ।
यसै क्रममा शब्दयात्रा प्रकाशनले आफ्ना सदस्यहरूका विषयमा अनुसन्धान गर्न सजिलो होस् भनेर उहाँहरूका हरेक कुरालाई डकुमेन्टेसन गर्ने, डिजिटलाइजेसन गर्ने र अर्काइभ तयार पार्ने काम सुरु गरिसकेको छ । संस्थाको डकुमेन्ट्री बनाउन पनि लागिएको छ । एउटा अनलाइन पत्रिका सुरु गर्न खोजिँदैछ । त्यसका लागि डोमेन रजिस्ट्रेसनको काम भइरहेको छ । अब शब्दयात्रा प्रकाशन आईटीको क्षेत्रमा राम्रैसँग प्रवेश गरिसकेको छ । काठमाडौँ विश्वविद्यालयबाट लिएको ज्ञान मैले शब्दयात्रा प्रकाशनमार्फत आफ्नो देशको हितमा लगाउन थालिसकेको छु । मेरा साथीहरू पनि यसरी नै शब्दयात्रा प्रकाशनसँग कुनै न कुनै रूपमा जोडिएर काम गर्न इच्छुक छन् । सुरुमा बुबाले अह«ाएर काम सुरु गरे पनि अहिले शब्दयात्रा प्रकाशनलाई सघाउनु मेरो कर्तव्य हो भन्ने कुरा मैले बुझिसकेको छु ।
हामीले समयअनुसार अघि बढ्न सक्नुपर्छ । आधुनिक प्रविधिको उपयोग गर्न सकेनौँ भने अन्तर्राष्ट्रिय दौडमा हामी पछि पर्न सक्छोँ । नयाँ ढङ्गले सोचेर, सकारात्मक सोच राखेर, हौसला बोकेर फरक खालका काम फरक तरिकाले गर्ने हो भने शब्दयात्रा प्रकाशनलाई र यस संस्थाका माध्यमबाट आफू र आफ्ना हरेक सिर्जनालाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै परिचित गराउन सकिन्छ । यस संस्थासँग आबद्ध हरेक व्यक्तिले आईटीको उपयोग गरेर हाम्रो समाज र देशका लागि, समग्र मानवजातिका लागि महàवपूर्ण योगदान गर्न सक्नुहुन्छ । हाम्रो भाषा, साहित्य, सङ्गीत र पत्रकारितालाई विश्वभरि फैलाउने सामथ्र्य हामीसँग छ । स्रोत–साधन जुटिरहेको छ । सम्पर्क फैलिरहेको छ । सहयोगीहरू बढ्दै गएका छन् । यो एकदमै राम्रो लक्षण हो ।
शब्दयात्रा प्रकाशनबाट आईटीको व्यापक प्रयोग हुन थालेकाले शब्दयात्रा प्रकाशनको र यस संस्थासँग जोडिएका सबैजनाको भविष्य अब उज्यालो छ ।