शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा कवि पदम दाहालद्वारा लिखित ‘आँसुको दह’ नामक पद्यकवितासङ्ग्रहको विद्युतीय पुस्तकलाई सार्वजनिक गरिएको छ ।
शब्दयात्रा प्रकाशनको वेबसाइटमार्फत प्रमुख अतिथिका रूपबाट समालोचक तथा पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले उक्त पुस्तकलाई सार्वजनिक गर्नुभएको हो । पुस्तकका बारेमा उहाँले समालोचनासमेत गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व तथा गायक सुरेन्द्रकुमार श्रेष्ठ र सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा लेखक दामोदर घिमिरेले कवि पदम दाहालको जीवनी प्रस्तुत गर्नुभएको थियो भने कवि पदम दाहालले एउटा कविता र पुस्तक प्रकाशनको अन्तर्कथा सुनाउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनद्वारा १ सय ४० औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित ‘आँसुको दह’ ८८ पृष्ठको छ र १ सय २५ रुपियाँ मूल्य राखिएको छ ।