शब्दयात्रा प्रकाशनले आज २०७९ साल साउन ६ गते शुक्रबार ‘अमरज्योति’ र ‘प्रिय चरी’ नामक दुई खण्डकाव्य सार्वजनिक गराएको छ । ‘अमरज्योति’ लाई मच्छेश्वर सापकोटा, चूडाप्रसाद चौलागाईं र यज्ञप्रसाद त्रिपाठीले तथा ‘प्रिय चरी’ लाई रामप्रसाद अधिकारी, माधवप्रसाद आचार्य र नवराज तिमल्सिनाले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । दुवै खण्डकाव्य डा. गोपाल पौड्याल ‘मन्डने’ ले लेख्नुभएको हो । ‘अमरज्योति’ शब्दयात्रा प्रकाशनबाट र ‘प्रिय चरी’ नेपाली साहित्य विकास परिषद् यूकेबाट प्रकाशन गरिएका हुन् । कार्यक्रममा ‘अमरज्योति’ माथि शिव बन्जाराले र ‘प्रिय चरी’ माथि शारदाप्रसाद शर्माले टिप्पणी गर्नुभएको थियो भने सङ्गीता केसीले कृतिकारको चिनारी गराउनुभएको थियो । शकुन्तला बन्जाराले समुद्घाटन, केदारनाथ तिमल्सिनाले स्वस्तिवाचन, सहदीप पलान्चोकेले स्वागत भाषण र साधुराम गिरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पदम दाहाल, भवानी पाण्डे, शारदा घिमिरे भैल र कालिका त्रिपाठी पन्तले आआफ्ना कविता वाचन गर्नुभएको थियो । प्रकृति प्याकुरेलले फेसबुकबाट सो कार्यक्रम लाइभ प्रसारण गराउनुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र बेली परियारको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको विसर्जन सीताराम बडालले गर्नुभएको थियो ।