शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा होमतोत्र शिक्षा सम्मान’ शिक्षासेवी सुवास तामाङ (भोजपुर) मा समर्पण गर्ने भएको छ । उहाँले आफ्नै गाउँमा विद्यालय बनाउन २०४६ सालदेखि प्रयास गर्नुभएको थियो र आफैँले रकम सङ्कलन गरी १८ वर्षसम्म शिक्षकको तलब बेहोर्नुभएको थियो । विदेशी पर्यटकको साथमा रहेर कमाएको पैसा खर्च गरी उहाँले षडानन्द नगरपालिका क्षेत्रमा पर्ने किमालुङमा आफ्नै खर्चले चन्द्रसूर्य माध्यमिक विद्यालय बनाउनुभएको छ । आफूले पाएको पुर्ख्यौली जग्गा र आफूले कमाएको पैसाले किनेको जग्गासमेत गरी जम्मा ७८ रोपनी जग्गा उहाँले विद्यालयको नाउँमा दान दिनुभएको छ । यस वर्ष उहाँलाई सम्मान गर्न पाएर यो संस्था गौरवान्वित बनेको छ । यस सम्मानका लागि शिक्षासेवी रमेश पौड्यालले कोष व्यवस्थापन गर्नुभएको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शिक्षासेवी सुवास तामाङप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।