सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण विशेष

0
828

शब्दयात्रा प्रकाशनले गत २०७५ माघ ४ गते सम्पन्न गरेको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहसँग सम्बन्धित सन्दर्भहरू यहाँ प्रस्तुत गरिएको छ ।

म बनाइदिन्छु एक तला घर
— किताबसिंह लामा

नेपालका महान् व्यक्तिहरू उपस्थित रहेको यस समारोहमा मलाई सभापति चयन गरेकोमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री सर सहित शब्दयात्रा प्रकाशनका सम्पूर्ण परिवारप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।
मेरा मित्र कृष्णमणि कुइँकेल मार्फत हरि मञ्जुश्री सरसँग मेरो चिनजान भएको हो । शब्दयात्रा प्रकाशनले हरेक हप्ता गर्ने गरेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रममा म पनि सहभागी हुन पाएँ । मेरो सङ्घर्षका विषयमा दामोदर घिमिरेले लेख नै लेख्नुभयो । त्यो लेख ‘नेपालभूमि’ साप्ताहिक पत्रिकामा छापियो ।
शब्दयात्रा प्रकाशनका गतिविधिसित म परिचित छु । कृष्णमणि कुइँकेलले यो संस्थालाई जग्गा दान गर्नुभएको छ । नीलकण्ठेश्वर धामको जग्गा र शब्दयात्रा प्रकाशनको जग्गाको बीचमा अलिकति निजी जग्गा छ । त्यो जग्गा किनिदिएर शब्दयात्रा प्रकाशनलाई सहयोग गर्नोस् भनेर मलाई कृष्णमणि कुइँकेलले प्रस्ताव गर्नुभयो । तर त्यो जग्गा किन्न मिलेन । त्यसपछि शब्दयात्रा प्रकाशनका लागि एक तला घर बनाइदिनोस् न त भन्ने प्रस्ताव राख्नुभयो । त्यसपछि हरि मञ्जुश्री सरसँग उहाँले भेट गराउनुभयो । हाम्रो कुराकानी भयो । मैले मन्जुरी दिएँ ।
शब्दयात्रा प्रकाशनको जग्गामा, सालिक राखिएको ठाउँको नजिकै संस्थाका लागि एक तले घर मेरा तर्फबाट बनाइदिन लागेको छु । म यो कुरा यसै सभामा घोषणा गर्दछु । घर निर्माण गर्नका लागि जग्गा सम्याउने काम पनि सुरु भइसकेको जानकारी गराउँछ ।
अन्त्यमा, शब्दयात्रा प्रकाशन नेपालको नमुना संस्थाका रूपमा हाम्रो देशको गौरव बनोस् भन्ने कामना गर्दछु र आजको कार्यक्रम अघि बढाउन अनुमति प्रदान गर्दछु ।

चार प्रथम एकै स्थानमा
— हरिगोपाल प्रधान


हाम्रो निमन्त्रणालाई स्वीकार गरेर समारोहमा उपस्थित हुनुभएका सबै महानुभावहरूमा शब्दयात्रा प्रकाशनका तर्फबाट र व्यक्तिगत रूपबाट पनि म हार्दिक स्वागत गर्न चाहन्छु ।
हामीलाई उत्साहित बनाउन प्रमुख आतिथ्य ग्रहण गरिदिनुभएकोमा नेपालको प्रथम महिला प्रधान न्यायाधीश श्रीमती सुशीला कार्की र विशेष आतिथ्य ग्रहण गरिदिनुभएकोमा भ्रष्टविरोधी शास्त्रका सर्जक भरत जङ्गमलाई हृदयदेखि नै स्वागत गर्दछु ।
यस संस्थाबाट जेठ महिनामा ६ विधामा, असोज महिनामा ६ विधामा र माघ महिनामा ६ विधामा गरी हरेक वर्ष विभिन्न १८ विधाका सम्मानहरू समर्पण गरिन्छन् । त्यस्ता कार्यक्रमहरूमा शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरू सार्वजनिक पनि गरिन्छन् । तीमध्ये हरेक वर्षको माघ महिनामा समर्पण गरिने ६ विधाका सम्मानहरू २०७५ साल माघका लागि आज समर्पण गरिँदैछन् । आजै ६ वटा पुस्तकलाई सार्वजनिक गरिँदैछ ।
आजको समारोहमा हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा समालोचना सम्मान अग्रज समालोचक प्रा. डा. वासुदेव त्रिपाठीलाई, कविप्रसाद प्याकुरेलद्वारा व्यवस्थापित शब्दयात्रा कविता–काव्य सम्मान अग्रज कवि तथा गीतकार कालीप्रसाद रिजाललाई र द्रोणप्रसाद श्रेष्ठद्वारा आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा व्यवस्थापित शब्दयात्रा महिला प्रतिभा सम्मान नेपालको पहिलो महिला हास्यकलाकार वसुन्धरा भुसाललाई समर्पण गरिँदैछ ।
यसै गरी राजेन्द्र विरहीद्वारा आफ्ना शिक्षासेवी तथा साहित्यकार पिता जयदेव अधिकारीको स्मृतिमा व्यवस्थापित शब्दयात्रा अनुसन्धान सम्मान अनुसन्धाता प्रा. डा. राजेश गौतमलाई, गोपाल पराजुलीद्वारा व्यवस्थापित शब्दयात्रा बालसाहित्य सम्मान अग्रज बालसाहित्यकार विश्वम्भर चञ्चललाई र निर्मला श्रेष्ठको सक्रियतामा रामकृष्ण स्मृति प्रतिष्ठानद्वारा व्यवस्थापित शब्दयात्रा विज्ञान–प्रविधि सम्मान अग्रज वैज्ञानिक प्रा. सुरेशराज चालिसेलाई समर्पण गरिँदैछ ।
यस संस्थाको सम्मान स्वीकार गरिदिनुभएकोमा प्रा. डा. वासुदेव त्रिपाठी, कालीप्रसाद रिजाल, वसुन्धरा भुसाल, डा. राजेश गौतम, विश्वम्भर चञ्चल र प्रा. सुरेशराज चालिसेप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।
सम्मानित प्रतिभाहरूको चयन डा. इन्दुल केसीको संयोजकत्वमा रमेश अधिकारी र निर्मला श्रेष्ठ सदस्य रहनुभएको तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिले गरेको हो । उहाँहरूप्रति पनि यो संस्था आभारी रहेको छ ।
आजको समारोहमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा दिलबहादुर श्रेष्ठद्वारा सङ्कलित ‘चण्डेश्वरी भजन सफू’, श्रीधर प्याकुरेलद्वारा अनूदित ‘चाणक्यनीति दर्पण’, सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘हनुमान चालीसा’, दामोदर घिमिरेद्वारा लिखित लेखसङ्ग्रह ‘समाजका कर्मवीर’ र नवीना श्रेष्ठद्वारा लिखित कथासङ्ग्रह ‘नमारिएका सहिदहरू’ तथा उहाँकै कवितासङ्ग्रह ‘मेरो हराएको कविता’ नामक पुस्तकहरूलाई सार्वजनिक गरिँदैछ । आ–आफ्ना कृतिहरू प्रकाशनार्थ उपलब्ध गराइदिनुभएकोमा उहाँहरूप्रति पनि यो संस्था आभारी छ ।
शब्दयात्रा प्रकाशनलाई अघि बढ्न हरेक प्रकारको सहयोग गरेकोमा नीलकण्ठेश्वर धाम संरक्षण समितिप्रति यो संस्था धन्यवाद ज्ञापन गर्दछ ।
अन्त्यमा, अतिथितर्फ नेपालको प्रथम महिला प्रधान न्यायाधीश श्रीमती सुशीला कार्की र भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गम, सम्मानित व्यक्तित्वतर्फ नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम नेपाली डा. वासुदेव त्रिपाठी र नेपालको पहिलो महिला हास्यकलाकार वसुन्धरा भुसाल जस्ता चारजना ऐतिहासिक व्यक्तित्व एकै स्थानमा उपस्थित हुनुभएको आजको यस्तो महàवपूर्ण समारोहमा आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दै पुनः स्वागत गर्न चाहन्छु ।

जनप्रियताका आधारमा राष्ट्रिय सम्मान
— डा. इन्दुल केसी

शब्दयात्रा प्रकाशनले हरेक वर्षको माघ महिनामा समर्पण गर्ने गरेको समालोचना सम्मान, कविता–काव्य सम्मान, महिला प्रतिभा सम्मान, अनुसन्धान सम्मान, बालसाहित्य सम्मान र विज्ञान–प्रविधि सम्मानका लागि उपयुक्त व्यक्तिको नाउँ प्रस्ताव गरी पठाउन ‘नेपालभूमि’ नामक राष्ट्रिय साप्ताहिक पत्रिकाबाट सार्वजनिक रूपमा आह्वान गरेको रहेछ । त्यो आह्वानपछि विभिन्न व्यक्तिहरूले केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको रहेछ ।
त्यसपछि शब्दयात्रा प्रकाशनले म डा. इन्दुल केसीको संयोजकत्वमा ज्यो. पं. रमेश अधिकारी र निर्मला श्रेष्ठ सदस्य रहेको सम्मान्य व्यक्तित्व चयन समिति बनायो । हामीलाई चयन समितिमा मनोनयन गरेकोमा शब्दयात्रा प्रकाशनलाई हामी धन्यवाद दिन चाहन्छौँ ।
यस्ता व्यक्तित्वलाई सम्मान गर्नुपर्छ भनेर जनसाधारणबाट प्रस्ताव गरिएका नाउँहरूमध्ये सम्बन्धित विधाका प्रतिभाहरूको नाउँ शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । ती नाउँमध्येबाट हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन ग¥यौँ । चयन गर्दा जनसाधारणको प्रतिक्रियालाई विशेष ध्यान दियौँ र उमेर, विधागत योगदान, कृति–सिर्जना आदिलाई हेरेर तीनैजनाले आआफ्ना तर्फबाट नम्बर दियौँ । त्यसपछि तीनैजनाको नम्बर जोडेर नम्बर बढी आउने व्यक्तित्वलाई सम्बन्धित सम्मान समर्पण गर्नका लागि सिफारिस ग¥यौँ । त्यसपछि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा ग¥यो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा अग्रज समालोचक प्रा. डा. वासुदेव त्रिपाठी, अग्रज कवि तथा गीतकार कालीप्रसाद रिजाल, नेपालको पहिलो महिला हास्यकलाकार वसुन्धरा भुसाल, अग्रज अनुसन्धाता प्रा. डा. राजेश गौतम, अग्रज बालसाहित्यकार विश्वम्भर चञ्चल र अग्रज वैज्ञानिक प्रा. सुरेशराज चालिसेप्रति चयन समिति आभार व्यक्त गर्दछ । उहाँहरू सबैलाई हामी हार्दिक बधाई अर्पण गर्दछौँ ।
यो सम्मानलाई आआफ्नोे विधामा प्राप्त भएको जनप्रियताका आधारमा काभ्रे जिल्लाको जनस्तरबाट समर्पित राष्ट्रिय सम्मानका रूपमा बुझिदिन हामी हार्दिक अनुरोध गर्दछौँ ।
आज सम्मानित हुने महानुभावहरूको चिनारी र योगदानको विवरण शब्दयात्रा प्रकाशनबाट प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ को आजैको अङ्कमा छापिएको छ । त्यसैले उहाँहरूका विषयमा विशेष जानकारी त्यसै पत्रिकाबाट लिन अनुरोध गर्दछु ।
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा दिलबहादुर श्रेष्ठद्वारा सङ्कलित ‘चण्डेश्वरी भजन सफू’, श्रीधर प्याकुरेलद्वारा अनूदित ‘चाणक्यनीति दर्पण’, सहदीप पलान्चोकेद्वारा सङ्कलित ‘हनुमान चालीसा’, दामोदर घिमिरेद्वारा लिखित ‘समाजका कर्मवीर’, नवीना श्रेष्ठद्वारा लिखित ‘नमारिएका सहिदहरू’ र ‘मेरो हराएको कविता’ नामक पुस्तकहरू आजैको कार्यक्रमदेखि पाठकवर्गको हातमा पुग्न लागेकाले उहाँहरूलाई चयन समितिका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।

सफू, कर्मवीर र चालीसा
— कृष्णमणि कुइँकेल


भरखरै सार्वजनिक गरिएका तीनवटा पुस्तकहरूको चिनारी गराइदिन मलाई आग्रह गरिएको छ । त्यसैले म त्यही विषयमा केन्द्रित हुन चाहन्छु ।
पहिलो पुस्तक ‘चण्डेश्वरी भजन सफू’ हो । यसमा संस्कृत, नेपाली र नेवारी भाषाका १ सय ४७ वटा भजन छन् । पुस्तक १ सय ६४ पृष्ठको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १ सय १२ औँ पुस्तक हो । अधिवक्ता कृष्णप्यारी नकर्मीको आर्थिक सहयोगमा यो पुस्तक प्रकाशित हुन सकेको हो । बिक्रीबाट आएको रकम चण्डेश्वरी भजन कोषमा राखिने गरी यसको मूल्य भक्तजनको इच्छामा छोडिएको छ । पुस्तक तयार पार्नुभएकोमा सङ्कलक दिलबहादुर श्रेष्ठलाई बधाई छ ।
अब ‘समाजका कर्मवीर’ पुस्तकको चर्चा गर्दछु । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो १ सय १५ औँ कृति हो । यसका लेखक दामोदर घिमिरे हुनुहुन्छ । दामोदर घिमिरेले आफूलाई प्रेरक लागेका डा. सुरेशराज शर्मा, रामचन्द्र हुमागाईं, गीता मञ्जुश्री, तुतुकाजी प्रणामी श्रेष्ठ, सरस्वती सापकोटा, आशाकाजी सेवक, रमा दाहाल, रामप्रसाद तिमल्सिना, सावित्री ढुङ्गेल जस्ता २२ जनाको चिनारी यसमा गराउनुभएको छ । जम्मा १ सय ४ पृष्ठको यस कृतिको मूल्य १ सय ५५ रुपियाँ राखिएको छ । यस कृतिबाट आफ्नो व्यक्तित्व अझ माथि उठाउनुभएकोमा दामोदर घिमिरेलाई हार्दिक बधाई छ ।
अर्को पुस्तिका ‘हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र’ हो । यो शब्दयात्रा प्रकाशनको १ सय १४ औँ पुस्तक हो । यसका सङ्कलक सहदीप पलान्चोके र आर्थिक सहयोगी कृष्णमाया पलान्चोके हुनुहुन्छ । जम्मा २८ पृष्ठको यो पुस्तिका पात्र हेरेर निःशुल्क वितरण गरिनेछ । यस्तो पुण्यकर्म गर्नुभएकोमा सहदीप पलान्चोकेलाई हार्दिक बधाई छ ।
अन्त्यमा, भरखरै सार्वजनिक गरिएका तीनैवटा कृतिहरूको आआफ्नो ठाउँमा विशेष स्थान हुनेछ भन्ने विश्वास व्यक्त गर्दै कृतिहरूको परिचयात्मक टिप्पणी यहीँ समाप्त गर्दछु ।

काव्य, कथा र कविता
— चन्द्रबहादुर खड्का


आजको कार्यक्रममा सार्वजनिक गरिएका ६ वटा पुस्तकहरूमध्ये दोस्रो चरणमा भरखरै सार्वजनिक गरिएका तीनवटा पुस्तकहरूको सामान्य चिनारी गराउन म उपस्थित भएको हुँ ।
सार्वजनिक गरिएको पहिलो पुस्तक ‘चाणक्यनीति दर्पण’ हो । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित १ सय १३ औँ र श्रीधर प्याकु¥यालको १४ औँ पुस्तक हो । यो पुस्तक ८० पृष्ठको छ र मूल्य १ सय २० रुपियाँ राखिएको छ । यसमा आचार्य विष्णुगुप्त चाणक्यले लेखेको ‘चाणक्यनीति’ का १७ अध्यायभित्रका संस्कृत श्लोकहरूलाई नेपाली भाषामा श्लोकबद्ध अनुवाद गर्नुभएको छ । यो पुस्तक तयार पार्नुभएकोमा अनुवादक श्रीधर प्याकुरेल बधाईको पात्र बन्नुभएको छ ।
दोस्रो पुस्तक ‘नमारिएका सहिदहरू’ नामक कथासङ्ग्रह हो । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो १ सय १६ औँ कृति हो । यस पुस्तकको प्रकाशनका लागि समीप श्रेष्ठ, सुजीता बज्राचार्य र स्वस्तिना श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको छ । यसका लेखक नवीना श्रेष्ठ हुनुहुन्छ । नवीना श्रेष्ठले यस सङ्ग्रहमा १५ वटा कथाहरू राख्नुभएको छ । जम्मा १ सय २० पृष्ठको यस सङ्ग्रहको मूल्य १ सय ७५ रुपियाँ राखिएको छ । सामाजिक, आर्थिक र राजनीतिक विसङ्गतिले जर्जर पारेको नेपाली समाजको चित्र यस सङ्ग्रहमा देख्न सकिन्छ । एउटा कथाको शीर्षकबाट सङ्ग्रहको नामकरण गरिएको छ । यस्तो सुन्दर कृति नेपाली साहित्यमा प्रस्तुत गर्नुभएकोमा कथाकार नवीना श्रेष्ठलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
तेस्रो पुस्तक पनि नवीना श्रेष्ठकै हो । त्योचाहिँ ‘मेरो हराएको कविता’ नामको कवितासङ्ग्रह हो । यो शब्दयात्रा प्रकाशनको १ सय १७ औँ पुस्तकका रूपमा प्रकाशित यस पु्स्तकको छपाइमा लाग्ने आर्थिक भार पनि समीप श्रेष्ठ, सुजीता बज्राचार्य र स्वस्तिना श्रेष्ठले नै बहन गर्नुभएको छ । यो पुस्तक ९२ पृष्ठको छ र मूल्य १ सय ५० रुपियाँ राखिएको छ । यस पुस्तकमा ५१ वटा गद्यकविताहरू छन् । एउटा कविताको शीर्षकबाट सङ्ग्रहको नामकरण गरिएको छ । एकैपटक दुई विधाका दुई कृति नेपाली साहित्यमा प्रस्तुत गर्नुभएकोमा कवयित्री नवीना श्रेष्ठलाई फेरि पनि हार्दिक बधाई ज्ञापन गर्दछु ।
अन्त्यमा, भरखरै सार्वजनिक गरिएका यी साहित्यिक कृतिहरू नेपाली साहित्यिक क्षेत्रमा आफ्नै प्रकारको विशेष चिनारी राख्न सफल हुन सकून् भन्ने कामना गर्दछु ।