चलचित्र अभिनेत्री लक्ष्मी गिरी सम्मानित

0
455

शब्दयात्रा प्रकाशनले २०७३ सालको शब्दयात्रा महिला प्रतिभा सम्मानबाट चलचित्र अभिनेत्री लक्ष्मी गिरीलाई सम्मान गरेको छ । गत मङ्सिर २२ गते बुधबार काठमाडौँको अनामनगरमा अवस्थित नेपाल चलचित्र कलाकार सङ्घको सभाकक्षमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि वरिष्ठ गायक तथा सङ्गीतकार हिरण्य भोजपुरेले अभिवन्दनापत्र र वरिष्ठ गायिका उर्मिला श्रेष्ठले किरीट लगाइदिएर उहाँलाई सम्मान गर्नुभएको थियो । उहाँलाई सम्मानका क्रममा द्रोणप्रसाद श्रेष्ठले नगद ५ हजार रुपियाँ, हरि मञ्जुश्रीले माला तथा पत्रकारद्वय रामचन्द्र हुमागाईं र हरिगोपाल प्रधान तथा लेखकद्वय सकुल थापा र शारदाप्रसाद शर्माले विभिन्न उपहारहरू प्रदान गर्नुभएको थियो ।
उक्त समारोहमा स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले चलचित्र अभिनेत्री लक्ष्मी गिरीसँग २५ वर्षअघिदेखि सहकार्य गर्दाका संस्मरणहरू कोट्याउँदै उहाँ कलाकार मात्र नभएर सुधा गिरी नामले कविताहरू लेख्ने कवयित्री पनि रहेको जानकारी गराउनुभयो । उहाँकी छोरी मेरिना गिरी ‘सङ्घर्ष’ पनि कवयित्री रहेको जानकारी गराउँदै उहाँले कलाकारिता क्षेत्रले लक्ष्मी गिरीबाट ठूलो योगदान पाएको उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा सम्मानित व्यक्तित्व लक्ष्मी गिरीले नेपाल सरकारले कला क्षेत्रमा दृष्टि पु¥याउन नसकेको अवस्थामा पनि शब्दयात्रा प्रकाशनले आफूलाई गरेको यो सम्मानबाट समग्र कलाकारिता क्षेत्रलाई सम्मान गरेको अनुभूति भएको बताउनुभयो । यो सम्मानले आफ्नो आत्मबल झन् बढेको बताउँदै उहाँले ‘लेकाली’ लाई पुनर्जीवन दिन हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठलाई आग्रह पनि गर्नुभयो । उहाँ बोल्दाबोल्दै अत्यन्त भावुक हुनुभएको थियो । भावनामा बगेर केही समय उहाँको गला नै अवरुद्ध भएको थियो ।
स्मरणीय छ — शब्दयात्रा प्रकाशनले यसै वर्षदेखि कला क्षेत्रका महिलालाई हरेक वर्ष समर्पण गर्ने गरी शब्दयात्रा महिला प्रतिभा सम्मानको संस्थापन गरेको हो । यस सम्मानको आर्थिक व्यवस्थापन क्यान्सरबाट दिवङ्गत भएकी आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृतिमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको हो ।