शब्दयात्रा प्रकाशनबाट आफ्नै सभाकक्षमा हरेक मङ्गलबार अपराह्न ४ बजेदेखि ५ बजेसम्म गरिने नियमित कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन कार्यक्रमको आठौँ शृङ्लामा शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य तथा ‘हाम्रो देश त्यस्तो नहोस्’ कृतिका कृतिकार सकुल थापा प्रस्तुत हुनुभयो । गत चैत १५ गते सम्पन्न त्यस कार्यक्रममा उहाँले आफू सेनामा जागिरे भएका बखत शान्तिस्थापनार्थ सोमालिया जान खटाइएको, त्यहाँ रहँदा राजनीतिक द्वन्द्वका कारणले जनताले बेहोर्नुपरेको दुःख देखेको प्रसङ्ग ल्याएर सोमालियाली जनताको दर्दनाक अवस्थाको विवरण प्रस्तुत गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षता, पदमनाथ ढुङ्गानाको संयोजन तथा शारदाप्रसाद शर्माको उद्घोषणमा सञ्चालित उक्त कार्यक्रममा मच्छेश्वर सापकोटा, ओतबहादुर खड्का, तुतुकाजी प्रणामी श्रेष्ठ, दण्डपाणि अधिकारी, कविता न्यौपाने, शङ्कर कार्की, सिद्धिबहादुर कर्माचार्य, जगन्नाथ गिरी, दामोदर घिमिरे, पुण्यप्रसाद निरौला, शिव बन्जारा, फणीन्द्रराज अधिकारी, सुमन खड्का, दीपक तिमल्सिना, गोविन्दबहादुर थापा, कमल कुइँकेल आदिको उपस्थिति रहेको थियो ।
‘शब्दसंवाद’ मा सकुल थापा
आफ्नो सुनाऔं, अरूको सुनौं
आफ्नो योगदान राष्ट्रमा पु¥याउन र अरूको योगदानबाट प्रेरणा लिन हरेक मङ्गलबार अपराह्न ४ बजे १ घन्टाका लागि शब्दयात्रा प्रकाशनको सभाकक्षमा पुगौँ । समाजको हितमा केही न केही योगदान गरेका कर्मयोद्धाहरूलाई राष्ट्रमा परिचित गराउन र उनीहरूको अनुभवबाट अरूलाई प्रेरणा दिलाउन शब्दयात्रा प्रकाशनले प्रारम्भ गरेको साप्ताहिक कार्यक्रम ‘शब्दसंवाद’ मा सहभागी बनौँ । हरेकपटक नयाँ जानकारी पाइनेछ । आफूले सुनाएका कुरा पहिले पत्रिकामा र पछि पुस्तकमा छापिनेछन् । आफ्नो सुनाऔँ, अरूको सुनौँ ।
शब्दसंवाद (साप्ताहिक कार्यक्रम)
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा — १०, काभ्रे
नाम सिफारिस गर्न अनुरोध
यस संस्थाबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने सम्मानहरू २०७४ साल जेठमा पनि समर्पण गरिने भएकाले सम्मान योग्य व्यक्तिको नाउँ कारणसहित आगामी वैशाख १५ गतेभित्र प्राप्त हुने गरी पठाइदिन सबैमा अनुरोध छ ।
(१) सचिवदेखि शाखा अधिकृतसम्मको प्रशासनिक कर्मचारी भएर पनि अर्काे कुनै विधामा दक्षता देखाइसकेकी महिला ।
(२) राष्ट्र र राष्ट्रियताको भावना जगाउँदै राष्ट्रिय गौरव बढाउन योगदान गरेको व्यक्ति ।
(३) २०७३ सालभरिमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित कृतिहरूमध्ये सर्वाेकृष्ट लागेको कृतिका कृतिकार ।
(४) नन्दिकेश्वर अधिकारीका विषयमा शोध गरी प्रकाशन गरे–गराएको व्यक्ति ।
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा — १०, काभ्रे
दूरभाषाङ्क : ०११–६६२९६१÷०११–६६३१६१
इमेल : [email protected]
सालिकका लागि सहयोग थपिँदै
शब्दयात्रा प्रकाशनद्वारा बनेपामा वाङ्मयसेवीहरूको सालिक राखिने भएपछि त्यसमा सहयोग गर्ने सहयोगीहरूको सङ्ख्या बढ्दै गएको छ ।
सालिकको निर्माण तथा स्थापनाका लागि काभ्रे पनौतीको दलिनचोकनिवासी आध्यात्मिक लेखक तथा शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्काले पाँच हजार एक सय रुपियाँ र काठमाडौँको बानेश्वर मिलनचोकनिवासी श्रीमती माधवी पराजुलीले पाँच हजार एक सय रुपियाँ सहयोग गर्नुभएको छ ।
‘जागनीबोध’ सार्वजनिक
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तक ‘जागनीबोध’ लाई काठमाडौँ विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरियो । काठमाडौँ विश्वविद्यालय र श्रीकृष्णप्रणामी विश्वपरिषद्को संयुक्त आयोजनामा गत चैत ८ गते मङ्गलबार सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो भने सभापतित्व काठमाडौँ विश्वविद्यालय रजत महोत्सव समारोहका केन्द्रीय संयोजक प्रा. डा. सञ्जयनाथ खनालले गर्नुभएको थियो । ‘जागनीबोध’ को प्रकाशन गरेकोमा श्रीकृष्णप्रणामी विश्वपरिषद्का तर्फबाट वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गुरुजी मोहन प्रियाचार्यले शब्दयात्रा प्रकाशनलाई आभारपत्र प्रदान गर्नुभयो । उक्त आभारपत्र शब्दयात्रा प्रकाशनका तर्फबाट सञ्चालक सदस्य श्यामकृष्ण लम्सालले ग्रहण गर्नुभएको थियो । ग्रन्थसम्पादकद्वय हरि मञ्जुश्री र टहलदास शिवाकोटी ‘यात्री’ द्वारा सम्पादित उक्त पुस्तकलाई प्रमुख अतिथि, विशेष अतिथि र सभापतिले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो भने पुस्तकका विषयमा समीक्षक शारदाप्रसाद शर्माले टिप्पणी गर्नुभएको थियो ।
उक्त कार्यक्रममा ‘महामति प्राणनाथ सामयिक सन्दर्भ’ विषयमा प्रवचन पनि गरियो । त्यस विषयमा प्रमुख अतिथिले र महामति प्राणनाथको जीवनीका विषयमा प्रा. डा. छविलाल गजुरेलले जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा समाजसेवी बेलप्रसाद श्रेष्ठ, बाइजूराज सङ्घ नेपालका राजराजेश्वरीलगायत विश्वविद्यालय परिवार, श्रीकृष्णप्रणामी सम्प्रदायका सुन्दरसाथहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । नैमिषारण्य गुरुकुलम्का वटुकहरूले पदमनाथ ढुङ्गानाको संयोजनमा स्वस्तिवाचन गरेको उक्त कार्यक्रमको सञ्चालन ग्रन्थसम्पादक हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
शब्दसंवादमा डा. सुरेशराज शर्माको चर्चा
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को सातौँ शृङ्खलामा नेपालका शैक्षिक शिरोभूषण तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको जीवनका अनुद्घाटित तथ्यहरू, सङ्घर्षगाथा र उहाँको शैक्षिक योगदानका विषयमा चर्चा गरियो । उहाँका विषयमा ग्रन्थसम्पादक हरि मञ्जुश्रीले जानकारी गराउनुभएको थियो भने यसको व्यवस्थापन शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले गर्नुभएको थियो ।
‘शब्दसंवाद’ कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाको सञ्चालन तथा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य सकुल थापाको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा रोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष कवि गोविन्दबहादुर थापा, शब्दयात्रा नारी स्रष्टा समाजका सदस्य भवानी पाण्डे र गीता मञ्जुश्री, आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का र सदस्य उद्धवप्रसाद नेपाल, लेखक पुष्पदास स्याउला र सिद्धिबहादुर कर्माचार्य, शिक्षासेवी रमेश पौडेल, शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि साप्ताहिक’ का स्तम्भकार जगन्नाथ गिरी, लोकगायक मच्छेश्वर सापकोटा, लोकगायिका सरस्वती सापकोटा, लेखापरीक्षक दण्डपाणि अधिकारी, काठमाडौँ विश्वविद्यालयका कर्मचारीहरू गोविन्द हुमागाईं, तीर्थराज अधिकारी आदिको उपस्थिति रहेको थियो ।
शब्दसंवादमा ओतबहादुर खड्का
शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचनशृङ्खला ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा गत चैत १ गते मङ्गलबार आध्यात्मिक लेखक ओतबहादुर खड्का मुख्य प्रवाचकका रूपमा प्रस्तुत हुनुभयो । प्रवचनका क्रममा उहाँले सङ्क्षिप्त रूपमा आत्मजीवनी प्रस्तुत गरेपछि श्रीमद्भागवतका विषयमा विशद् चर्चा गर्नुभयो ।
‘शब्दसंवाद’ को मङ्गलाचरणगानबाट प्रारम्भ भएको र शब्दयात्रा प्रकाशन सञ्चालक समितिका सदस्य सकुल थापाले सभापतित्व ग्रहण गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माले गर्नुभएको थियो भने कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाले आध्यात्मिक लेखक ओतबहादुर खड्काको विशेषतासहित परिचय गराउनुभएको थियो ।
कार्यक्रममा ‘नेपालभूमि साप्तहिक’ का सम्पादक सुमन खड्का, ‘नेपालभूमि साप्ताहिक’ का स्तम्भकार दामोदर घिमिरे, आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ, कवि सोमकाजी शाक्य, शिक्षासेवी फणीन्द्रराज अधिकारी, लेखापरीक्षक दण्डपाणि अधिकारी, गोविन्द हुमागाईं, विनोद वैद्य, सहदीप पलाञ्चोके आदिको उपस्थिति रहेको थियो ।
शब्दयात्रापछि साझा
शब्दयात्रा प्रकाशनले आफ्ना कार्यक्रमहरू सार्वजनिक गरेपछि साझा प्रकाशनले पनि त्यस्तै कार्यक्रमहरू गर्ने भएको छ । यसअघि संस्थालाई ऋणमा डुबाइएको भए पनि अब शब्दयात्रा प्रकाशनका जस्तै कार्यक्रमहरू सञ्चालन गरेर साझा प्रकाशन सक्षम र सबल हुने प्रयास गरिरहेको छ ।
शब्दयात्रा प्रकाशनको सिको गर्दै साझा प्रकाशनले पनि आफ्ना गतिविधिहरू वेभसाइटमा राख्न थालेको छ । साझा सम्मानलाई निरन्तरता दिनका लागि शब्दयात्रा प्रकाशनले झैँ अक्षयकोष खडा गर्ने अभियान पनि साझा प्रकाशनले सुरु गरिसकेको छ । यसै गरी ‘शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठान’ मा शब्दयात्रा प्रकाशनले घोषणा गरेझैँ साझा प्रकाशनले पनि अतिथि स्रष्टाहरूका लागि आवासगृह बनाउने सोच अघि सारेको छ ।
यसअघि पनि साझा प्रकाशनले आफ्नो परिसरमा स्रष्टाको सालिक राख्ने र घुम्ती पुस्तक पसल सञ्चालन गर्ने कार्ययोजना ल्याई शब्दयात्रा प्रकाशनको पथ पछ्याएको थियो ।
यसै गरी प्रसिद्ध साहित्यकार रमेश विकलको नाउँमा स्थापित प्रतिष्ठानले पनि शब्दयात्रा प्रकाशनले झैँ साहित्यिक सङ्ग्रहालय बनाउने कार्यक्रम अघि सारेको छ ।
शब्दसंवादमा बेलप्रसाद श्रेष्ठ
शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित नियमित कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को पाँचौँ शृङ्खलामा गत फागुन २४ गते मङ्गलबार अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठ प्रमुख प्रवाचकका रूपमा समुपस्थित हुनुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा उहाँले धुलिखेलको तत्कालीन परिवेशसँग आफ्नो जीवनयात्रालाई जोड्दै धुलिखेलको समग्र विकास कसरी हुन गयो, भौतिक पूर्वाधारहरू कसरी बने, पर्यटनको प्रवद्र्धन कसरी भयो, धुलिखेलमा जनजागरण गराउन कसरी सकियो, समस्याको समाधान कसरी हुन सक्यो, काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताल बनाउँदा कस्ता–कस्ता कठिनाइहरू आइपरे, एउटै लक्ष्यप्राप्तिका लागि समुदायलाई कसरी परिचालन गर्न सकियो आदिजस्ता विषयमा जानकारी गराउनुभयो र कुनै पनि कार्य सफल हुन योजनाको निश्चित खाका, विचारमा स्वच्छता, दृढ निश्चय, इमानदारी, पारदर्शिता र जनसहभागिताको आवश्यकता पर्ने अनुभव आफूले गरेको बताउनुभयो ।
उहाँसँग दण्डपाणि अधिकारी, फणीन्द्रराज अधिकारी, मच्छेश्वर सापकोटा, पुष्पदास स्याउला आदिले सम्बन्धित विषयमा जिज्ञासाहरू राख्नुभएको थियो भने बेलप्रसाद श्रेष्ठले ती जिज्ञासाहरूको उत्तर दिनुभएको थियो ।
कार्यक्रममा तुतुकाजी प्रणामी श्रेष्ठ, ओतबहादुर खड्का, भवानी पाण्डे, सकुल थापा, सिद्धिबहादुर कर्माचार्य, धनमाया खत्री, जगन्नाथ गिरी आदिको उपस्थिति रहेको थियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाले कार्यक्रमको महàवका बारेमा जानकारी गराउनुभएको थियो भने संस्थाका महाप्रबन्धक शारदाप्रसाद शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सालिकका लागि सहयोग
नेपालका चारजना शीर्ष व्यक्तिहरूको सालिक एकै ठाउँमा स्थापना गर्नका लागि आर्थिक सहयोग गर्ने क्रममा प्रा. डा. जीवराज पोखरेल (खार्पा, खोटाङ) ले ५ हजार १ सय रुपियाँ, नभेन्द्र पौडेल (चन्द्रनिगाहपुर, रौतहट) ले ५ हजार १ सय रुपियाँ र शिवनाथ मैनाली (मेच्छे, काभ्रेपलाञ्चोक) ले ५ हजार १ सय रुपियाँ शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको छ ।
स्मरण रहोस् — शिक्षा, साहित्य, सङ्गीत र पत्रकारिता गरी चार क्षेत्रका शीर्ष व्यक्तित्वका चारवटा सालिक नेपालमा पहिलोपटक काभ्रे जिल्लाको बनेपामा एकै ठाउँमा स्थापना गर्न लागिएको हो ।