शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा साप्ताहिक रूपमा सञ्चालित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको एक्काइसौँ शृङ्खलामा समाजसेवी, लेखक तथा शिक्षाकर्मी पूर्णबहादुर कार्कीले प्रमुख वक्ताका रूपमा आफ्नो जीवनका कर्मयात्रा र आफ्ना भावनाहरू प्रस्तुत गर्नुभयो । गत २०७४ असार १६ गते शुक्रबार अपराह्न ४ बजेदेखि प्रारम्भ भएको उक्त कार्यक्रममा ‘नेपालभूमि साप्ताहिक’ का स्तम्भकार जगन्नाथ गिरीलाई सभापति वरण गरिएको थियो भने पदमनाथ ढुङ्गानाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, महाप्रबन्धक शारदाप्रसाद शर्मा, शब्दयात्रा कलाकार समाजबाट मच्छेश्वर सापकोटा, शब्दयात्रा पत्रकार समाजबाट शिव बन्जारा, शब्दयात्रा नारी स्रष्टा समाजबाट पुण्यवती घले र नानुदेवी आचार्य, शब्दयात्रा सहयोगी समाजबाट सोमकाजी शाक्य तथा श्री शर्मा मूर्ख, राजु सिग्देल, दिवाकर जङ्गम, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।
आगामी शुक्रबार गायिका सरस्वती सापकोटा प्रमुख वक्ताका रूपमा रहने र कार्यक्रम पनि उहाँकै निवास बनेपा नयाँबस्तीमा गरिने जानकारी त्यस कार्यक्रममा गराइएको थियो ।
‘शब्दसंवाद’ मा पूर्णबहादुर कार्की
‘परिवर्तित पाइला’ आउँदै
शब्दयात्रा प्रकाशनको ८३ औँ प्रकाशनपुष्पका रूपमा साहित्यकार गणेशबहादुर खत्रीद्वारा लिखित सामाजिक नाटक ‘परिवर्तित पाइला’ प्रकाशन हुन लागेको छ । चौधवटा दृश्य भएको र सुदर्शनप्रसाद दाहालको मन्तव्य रहेको ‘परिवर्तित पाइला’ जम्मा ८० पृष्ठको रहेको छ ।
‘परिवर्तित पाइला’ सहित गणेशबहादुर खत्रीद्वारा लिखित सातवटा पुस्तक शब्दयात्रा प्रकाशनले प्रकाशित गरिसकेको छ ।
सम्मानका लागि सिफारिस आह्वान
शब्दयात्रा प्रकाशनले विगतका वर्षहरूमा झैँ आगामी भदौ महिनामा पनि २०७४ सालका लागि आध्यात्मिक पत्रकारिता सम्मान, साहित्यिक पत्रिका सम्मान, फोटो पत्रकारिता सम्मान र नेपालभूमि स्तम्भकार सम्मान समर्पण गरिने भएकाले कारणसहित उपयुक्त व्यक्ति, संस्था वा पत्रिकाको नाउँ सिफारिस गरी शब्दयात्रा प्रकाशनको ठेगानामा पठाइदिन सम्पूर्ण पाठकवर्गमा अनुरोध गरेको छ ।
सम्मान गर्दा हरेक सम्मानमा ५ हजार रुपियाँ, किरीट, अभिवन्दनापत्र र उपहार समर्पण गर्ने गरिन्छ । गत वर्ष ती सम्मानहरूबाट ‘गौरी’ आध्यात्मिक पत्रिका, ‘गुगुल्डी’ साहित्यिक पत्रिका, मङ्गलमोहन श्रेष्ठ र प्रा. डा. गोपाल शिवाकोटीलाई सम्मान गरिएको थियो ।
नाम सिफारिस गरिदिनुहोस्
आगामी भदौ महिनामा आध्यात्मिक पत्रकारिता सम्मान, साहित्यिक पत्रिका सम्मान, फोटो पत्रकारिता सम्मान र नेपालभूमि स्तम्भकार सम्मान समर्पण गरिने भएकाले कारणसहित उपयुक्त व्यक्ति, संस्था वा पत्रिकाको नाउँ सिफारिस गरी निम्नलिखित ठेगानामा पठाइदिन सम्पूर्ण पाठकवर्गमा अनुरोध छ ।
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे
दूरभाषाङ्क ः ०११–६६३१६१ ÷ इमेल : www.sypublication.com.np
हार्दिक बधाई
काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा पुनः नियुक्त हुनुभएकोमा प्रा. डा. भोला थापालाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनका पथदर्शकद्वय काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइराला एसिया प्यासिफिक एक्सिलेन्स अवार्डद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
सालिकका लागि आर्थिक सहयोग
शब्दयात्रा प्रकाशनले नेपालका चारजना अग्रज शब्दसाधकहरूको सालिक बनेपाको ‘कृष्ण–गीता परिसरमा’ स्थापना गर्न लागेकोमा त्यसका लागि आर्थिक सहयोग गर्ने दाताहरूको सङ्ख्या बढ्दै गएको छ ।
सालिकको स्थापना गर्नका लागि काभ्रे बनेपाका समाजसेवी हरिभक्त भोछिभोयाले पाँच हजार एक सय रुपियाँ, काठमाडौँ पेप्सिकोलाकी शेषा श्रेष्ठ कर्माचार्यले पाँच हजार एक सय पाँच रुपियाँ, काठमाडौँ महाराजगञ्जका विक्रम श्रेष्ठले पाँच हजार एक सय पाँच रुपियाँ, काठमाडौँ महाराजगञ्जकै सफू श्रेष्ठले पाँच हजार एक सय पाँच रुपियाँ, भक्तपुर ठिमीका समाजसेवी नारायणप्रसाद वैद्यले पाँच हजार पाँच सय पाँच रुपियाँ र काठमाडौँ गोकर्णेश्वरका तीर्थराज अधिकारीले एक हजार एक सय एघार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । यसै गरी भोजपुर देउरालीका लेखक द्रोणप्रसाद श्रेष्ठले पहिले एघार हजार एक सय एघार रुपियाँ सहयोग गर्नुभएकोमा पछि नौ हजार चार सय चौध रुपियाँ थप गरेर बीस हजार पाँच सय पच्चीस रुपियाँ सहयोग गर्नुभएको छ ।
सालिकका लागि अन्य थुप्रै महानुभावहरूबाट आर्थिक सहयोगका लागि आश्वासन प्राप्त भएको छ ।
स्मरणीय छ — नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द, स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटाको सालिक शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाको बनेपामा स्थापना गर्न लागेको हो । यी चारै विधाका शीर्ष व्यक्तित्वको सालिक एकै ठाउँमा स्थापना गर्न लागिएको यो पहिलोपटक हो ।
नारीस्रष्टा समाजले प्रशिक्षण चलाउने
शब्दयात्रा नारीस्रष्टा समाजले साहित्यका विभिन्न विधाहरूका विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । समाजका सभापति पुण्यवती घलेको अध्यक्षतामा शब्दयात्रा प्रकाशनको कार्यालयमा गत २०७४ साल असार ९ गते शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले विभिन्न व्यक्तिहरूको जन्मजयन्तीमा तत्सम्बन्धी विशेष कार्यक्रमहरू गर्ने र ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको व्यवस्थापन नारीस्रष्टा समाजबाट गर्ने गरी शब्दयात्रा प्रकाशनसँग आग्रह गर्ने निर्णय पनि गरेको जानकारी चण्डिका वाग्लेले दिनुभएको छ ।
शब्दयात्रा नारीस्रष्टा समाजमा हाल पुण्यवती घले, भवानी पाण्डे, चण्डिका वाग्ले, गीता अधिकारी, सजना आचार्य आदि नारीस्रष्टाहरू सक्रिय हुनुहुन्छ ।
‘शब्दसंवाद’ मा पुण्यवती घले
समाजसेवी, शिक्षाकर्मी तथा लेखिका पुण्यवती घले शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को बीसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७४ साल असार ९ गते शुक्रबार नानुदेवी कुइँकेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो ।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, शब्दयात्रा लेखक समाजबाट ओतबहादुर खड्का र तुतुकाजी प्रणामी श्रेष्ठ, शब्दयात्रा कलाकार समाजबाट मच्छेश्वर सापकोटा र सरस्वती सापकोटा, शब्दयात्रा पाठक समाजबाट दामोदर घिमिरे, शब्दयात्रा नारीस्रष्टा समाजबाट चण्डिका वाग्ले र गीता अधिकारी, शब्दयात्रा सम्मान व्यवस्थापक समाजबाट द्रोणप्रसाद श्रेष्ठ, शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेल तथा तीर्थराज अधिकारी, दीक्षा घिमिरे, पूर्णबहादुर कार्की, पूर्णबहादुर कर्माचार्य, विष्णुहरि तिमल्सिना, छविलाल कुइँकेल, शकुन्तला बन्जारा, राजु सिग्देल, श्री शर्मा मूर्ख आदिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अन्त्यमा ‘कर्मयोद्धासँग शब्दसंवाद’ को एक्काइसौँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा पूर्णबहादुर कार्कीको प्रस्तुति रहने जानकारी गराइएको थियो ।
‘शब्दसंवाद’ मा मच्छेश्वर सापकोटा
काभ्रे जिल्लाका गौरव बनेका अग्रज लोकगायक मच्छेश्वर सापकोटाले शब्दयात्रा प्रकाशनद्वारा साप्ताहिक रूपमा सञ्चालित प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को १९ औँ शृङ्खलामा आफ्नो जीवनयात्रामा आइपरेका आरोह–अवरोह, साङ्गीतिक यात्रा र केही गीतहरू प्रस्तुत गर्नुभयो । गत २०७४ साल असार २ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा उहाँलाई उहाँकी जीवनसँगिनी गायिका सरस्वती सापकोटाले गायनमा साथ दिनुभएको थियो । उहाँको त्यस बखतको प्रवचनको केही अंश यस पत्रिकाको ‘शब्दसंवादभूमि’ स्तम्भमा प्रकाशित भएको छ ।
कार्यक्रमको सभापतिका रूपमा बोल्ने क्रममा मच्छेश्वर सापकोटाको योगदानका विषयमा सङ्क्षिप्त चर्चा गर्दै शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले लोकसंस्कृतिको एउटा अङ्ग लोकसङ्गीत पनि रहेको, लोकलय र लोकधुनलाई परिमार्जित र परिष्कृत बनाएर मच्छेश्वर सापकोटाले गाउने गर्नुभएको, पहिले त्यसलाई कोठे लोकगीत भनिए पनि अचेल परिमार्जित लोकगीत भन्ने गरिएको र उहाँको गायनलाई आध्यात्मिक, मनोरञ्जनात्मक, क्रान्तिकारी र जीवनचिन्तनपरक गरी चार प्रकारमा विभाजन गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले परिमार्जित लोकगायनमा धर्मराज थापा, कुमार बस्नेत, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, गणेश रसिक, पाण्डव सुनुवार, तारा थापा, तीर्थकुमारी आदिको ठूलो योगदान रहेको र त्यही स्थानमा मच्छेश्वर सापकोटाको नाम पनि आउने गरेको बताउनुभयो । मच्छेश्वर सापकोटाजस्तै राष्ट्रिय प्रतिभाहरूको कीर्ति चिरस्थायी बनाउन शब्दयात्रा प्रकाशनले बनेपामा अनुसन्धान केन्द्र बनाउन खोजेको बताउँदै उहाँले मच्छेश्वर सापकोटाले काभ्रे जिल्लाको लोकलयलाई चिनाएको आधारमा यस जिल्लाबाट उहाँलाई दिइएको सम्मान पुगेको छैन भन्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा शब्दयात्रा कलाकार समाजका सदस्य गायक रामहरि न्यौपानेले पनि एउटा गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका संयोजक पदमनाथ ढुङ्गानाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सुदर्शन आचार्य, सिद्धिबहादुर कर्माचार्य, पूर्णबहादुर कर्माचार्य, पूर्णबहादुर कार्की, पुण्यवती घले, वासुदेव कुइँकेल, गीता मञ्जुश्री, भवानी पाण्डे, कुलप्रसाद तिमल्सिना, शिव बन्जारा, सोमकाजी शाक्य, नानु कुइँकेल, जयदेश श्रेष्ठ, शकुन्तला बन्जारा, श्री शर्मा मूर्ख, ओतबहादुर खड्का, फणीन्द्रराज अधिकारी, विष्णुहरि तिमल्सिना, कृष्णमणि कुइँकेल, तुतुकाजी प्रणामी श्रेष्ठ, पुष्पदास स्याउला, दामोदर घिमिरे, छविलाल कुइँकेल, केदारनाथ तिमल्सिना, दीपक तिमल्सिना, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।
महाप्रबन्धक शारदाप्रसाद शर्माका अनुसार ‘कर्मयोद्धासँग शब्दसंवाद’ को आगामी शृङ्खलामा शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले प्रस्तुत हुनुहुनेछ ।

