Home Blog Page 15

काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कारबाट कृष्णहरि मैनाली पुरस्कृत

0
काभ्रेपलाञ्चोक जिल्लाको वाल्टिङमा २०१५ सालमा जन्मेर विभिन्न विधाका १५ वटा साहित्यिक कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएका र आध्यात्मिक विषयवस्तु लिएर नैतिक शिक्षामा जोड दिँदै साहित्यिक सिर्जना गर्ने सर्जकका रूपमा सुपरिचित हुनुभएका साहित्यसेवी तथा समाजसेवी कृष्णहरि मैनालीलाई २०८२ सालको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा लेखक लोकमान मास्केले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापक निरोज थापाका तर्फबाट पूर्वप्रशासक चन्द्रबहादुर खड्काले भेटी, गीतिभास्कर मच्छेश्वर सापकोटाले उपहार र पत्रकार शिव बन्जाराले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन पत्रकार प्रदीप केसीमार्फत निरोज थापाले गर्नुभएको हो ।

सङ्खुवासभा प्रतिभा पुरस्कारबाट लोकमान मास्के पुरस्कृत

0
सङ्खुवासभा जिल्लाको खाँदबारीमा जन्मेर साहित्यिक र गैरसाहित्यिक क्षेत्रका विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुका साथै नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तथा लेखापरीक्षणमान बोर्डका प्रमुख कार्यकारी अधिकृतका रूपबाट पनि सेवा गर्नुभएका लेखक लोकमान मास्केलाई २०८२ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा महाकाव्यकार डा. शैलेन्दुप्रकाश नेपालले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापक लीलादेवी श्रेष्ठले भेटी, समाजसेवी पदमनाथ ढुङ्गानाले उपहार र लेखक सकुल थापाले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन साहित्यकार तथा समाजसेवी लीलादेवी श्रेष्ठले गर्नुभएको हो ।

डा. शैलेन्दुप्रकाश नेपाललाई भोजपुर प्रतिभा पुरस्कार

0
वाङ्मयिक साधना गर्ने क्रममा कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध र समालोचना विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएका, स्मृतिग्रन्थ र पत्रिकाहरूको सम्पादन गर्नुभएका र पाठ्यपुस्तक पनि लेख्नुभएका डा. शैलेन्दुप्रकाश नेपाललाई २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौलाले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, पूर्वप्रशासक डा. इन्दुल केसीले उपहार, कोष व्यवस्थापककी बुहारी पूजा जोशीले भेटी र समाजसेवी सकुल थापाले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन कवि कृष्ण जोशीले गर्नुभएको थियो ।

नेपालको पहिलो महिला मुख्यसचिवलाई प्रशासनिक महिला प्रतिभा पुरस्कार समर्पण

0

नेपाल सरकारको पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौलामा शब्दयात्रा प्रकाशनले प्रशासनिक महिला प्रतिभा पुरस्कार समर्पण गरेको छ । पुरस्कार समर्पण गर्ने क्रममा प्रा. केदारनाथ श्रेष्ठले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, पूर्वप्रशासक लक्ष्मीदेवी हुमागाईंले उपहार, कोष व्यवस्थापकको अनुपस्थितिमा उहाँका तर्फबाट लेखिका गीता अधिकारीले भेटी र समाजसेवी सकुल थापाले माला समर्पण गर्नुभएको थियो । पुरस्कारको कोष व्यवस्थापन लोकसेवा आयोगका पूर्वसदस्य, पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले गर्नुभएको हो ।

नेवाः सभ्यतामाथि अध्ययन गराउन शब्दयात्रा प्रकाशनमा अक्षयकोष

0

नेवाः सभ्यताको अध्ययन–अनुसन्धान गर्ने व्यक्तिलाई विद्वतवृत्ति समर्पण गर्न सङ्खुवासभा जिल्लाका राष्ट्रिय प्रतिभा लेखक लोकमान मास्केले शब्दयात्रा प्रकाशनमा दुई लाख रुपियाँको अक्षयकोष खडा गर्नुभएको छ । उहाँले आफ्ना छोरा प्रभातमान मास्के र बुहारी झर्ना श्रेष्ठ मास्केको नाउँमा अक्षयकोष खडा गर्नुभएको हो । यही २०८२ साल साउन १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा अक्षयकोषका लागि उहाँले दुई लाख रुपियाँको चेक शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको छ ।
नेवाः सभ्यताको अध्ययन–अनुसन्धान गर्ने व्यक्तिलाई विद्वतवृत्ति समर्पण गर्न शब्दयात्रा प्रकाशनमा दुई लाख रुपियाँको अक्षयकोष खडा गर्नुभएकोमा सङ्खुवासभा जिल्लाका राष्ट्रिय प्रतिभा लेखक लोकमान मास्केप्रति शब्दयात्रा प्रकाशनका तर्फबाट संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

‘पवित्र समाजवाद’ पुस्तक सार्वजनिक

0

डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित पुस्तक ‘पवित्र समाजवाद’ सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही २०८२ साल साउन १७ गते शनिबार आयोजित समारोहमा थैलीमा राखिएको उक्त पुस्तक झिकेर पूर्वप्रशासक, लेखक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसी र फोटोग्राफर तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । ‘पवित्र समाजवाद’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २ सय ५७ औँ पुस्तक हो । यस पुस्तकका लेखक डा. गोपाल पौड्याल ‘मण्डने’ काभ्रेपलाञ्चोक जिल्लाका राष्ट्रिय प्रतिभा हुनुहुन्छ र हाल बेलायतमा बस्नुहुन्छ ।
नेपाली पनलाई आधार बनाएर पवित्र समाजवादको सिद्धान्त प्रस्तुत गरिएको यस पुस्तकले नेपाललाई सुशासनयुक्त समुन्नत राष्ट्र बनाउने छुट्टै मार्गचित्रको परिकल्पना गरेको छ । यो पुस्तक ३ सय ४ पृष्ठको छ र मूल्य ५ सय रुपियाँ राखिएको छ । नेपाललाई भ्रष्टाचारमुक्त, द्रुत न्यायप्रणालीयुक्त र आर्थिक रूपमा समृद्ध राष्ट्र बनाउन यो पुस्तक सफल हुने विश्वास डा. रत्नकमल वैद्यको छ । डा. इन्दुल केसीका अनुसार गहिरो अनुसन्धान गरी व्यावहारिक दृष्टिकोण र नीतिनिर्माणका ठोस उपायहरू यस पुस्तकमा प्रस्तुत गरिएको छ । एकदिने अदालतको व्यवस्था र प्रशासनिक सुधार जस्ता विषयहरू यस पुस्तकका मुख्य विशेषता हुन् । न्यायिक सुधार, प्रशासनिक सुदृढीकरण र आर्थिक क्रान्तिको खाका कोर्न यस पुस्तकले महत्त्वपूर्ण योगदान पु¥याउनेछ । देशको रूपान्तरणका लागि यो पुस्तक मार्गदर्शक बन्नेछ ।
शिक्षासेवी तथा साहित्यकार महेश्वर खनालले ‘पवित्र समाजवाद’ पुस्तक विश्वविद्यालयले समाजशास्त्र, राजनीतिशास्त्र, संस्कृति, वातावरण र कृषि जस्ता विषयको पाठ्यपुस्तक बनाउन योग्य रहेको र एमए, एमफिल र पीएचडी गरिरहेका शोधार्थीहरूका लागि अत्यन्त उपयोगी हुने धारणा राख्नुभएको छ ।

गुरुमहिमा भजन आयो

0
आध्यात्मिक एवम् सामाजिक व्यक्तित्व तथा लेखक सकुल थापाको नेपाली भजन ‘गुरुमहिमा’ आजदेखि अक्षरधाम यु–ट्युब च्यानलबाट सुन्न पाइने भएको छ । उक्त भजन आज २०८२ साल साउन १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित समारोहमा सार्वजनिक गरिसकिएको छ । भजनलाई भजनकार सकुल थापा र गायिका रश्मि हुमागाईंले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । भजनमा इ. रोशन मञ्जुश्री अधिकारीको पनि स्वर रहेको छ । उहाँले नै भजनको ‘भिडिओ’ तयार पार्नुभएको हो । कार्यक्रममा ‘गुरुमहिमा’ को ‘म्युजिक भिडिओ’ नै प्रस्तुत गरिएको थियो । भजनका सङ्गीतकार हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गीतिभास्कर मच्छेश्वर सापकोटाले भजनका शब्द, सङ्गीत, स्वर र गायकीका विषयमा विश्लेषण गर्दै शब्दयात्रा प्रकाशनबाट उच्च स्तरको भजन तयार भएको कुरा बताउनुभएको थियो ।

रसुवा जिल्लाका प्रतिभालाई शब्दयात्रा प्रकाशनबाट पुरस्कृत गरिने

0

विभिन्न जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कार समर्पण गर्ने क्रममा शब्दयात्रा प्रकाशनले रसुवा जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कृत गर्ने व्यवस्था पनि मिलाएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा टोपकुमारी–तुलसीप्रसाद आचार्य रसुवा प्रतिभा पुरस्कार’ राखिएको छ । यो पुरस्कार रसुवा जिल्लामा जन्मेर वा रसुवा जिल्लालाई कार्यक्षेत्र बनाएर वाङ्मयका कुनै पनि विधाबाट राष्ट्रिय स्तरको योगदान गर्ने व्यक्ति वा संस्थालाई हरेक वर्ष समर्पण गरिनेछ । पुरस्कारको राशी २५ हजार रुपियाँ रहनेछ । पहिलोपटक यो पुरस्कार यही वर्षको माघ महिनामा समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ५ बनुवामा जन्म भई रसुवा जिल्लाको प्रथम विद्यावारिधि उपाधिप्राप्त गणितज्ञका रूपमा सुपरिचित व्यक्तित्व काठमाडौँ विश्वविद्यालयमा कार्यरत एसोसिएट प्रोफेसर डा. सरस्वती आचार्यले गर्नुहुनेछ । यस विषयमा डा. सरस्वती आचार्य र शब्दयात्रा प्रकाशनका बीच सम्झौता भइसकेको छ । सम्झौतापत्रमा कोष व्यवस्थापकका रूपमा डा. सरस्वती आचार्यले र शब्दयात्रा प्रकाशनका तर्फबाट कार्यसम्पादन समितिका सदस्य डा. भास्कर हुमागाईंले हस्ताक्षर गर्नुभएको छ ।
शब्दयात्रा प्रकाशनले यसअघि ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, रौतहट, महोत्तरी, भोजपुर, सङ्खुवासभा आदि जिल्लाका राष्ट्रिय प्रतिभाका लागि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिसकेको छ ।
यहाँ राखिएको तस्बिर आफ्ना मातापिताको स्मृति र सम्मानमा रसुवा प्रतिभा पुरस्कारका लागि कोषको व्यवस्थापन गरेर आदर्श छोरीको उदाहरण बनेकी रसुवाली गौरव डा. सरस्वती आचार्यको हो । शब्दयात्रा प्रकाशनमा आफ्नो जिल्लाका राष्ट्रिय प्रतिभाका लागि पुरस्कारको कोष व्यवस्थापन गरिदिनुभएकोमा शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

शब्दयात्रा प्रकाशनमा देउडाका लागि पुरस्कार स्थापना

0
शब्दयात्रा प्रकाशनले देउडा गीतका लागि पुरस्कार समर्पण गर्ने व्यवस्था गरेको छ । पुरस्कारको राशी २५ हजार रुपियाँ रहनेछ । पुरस्कारको नाउँ ‘शब्दयात्रा सकुल थापा देउडा पुरस्कार’ रहनेछ । यो पुरस्कार देउडाको गायन, संरक्षण, प्रवर्धन, अनुसन्धान, प्रकाशन र प्रचारप्रसार गर्न योगदान गर्ने व्यक्ति वा संस्थालाई हरेक वर्ष समर्पण गरिनेछ । पहिलोपटक यो पुरस्कार यही वर्षको माघ महिनामा समर्पण गरिनेछ । पुरस्कारको कोष व्यवस्थापन काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ निवासी विमला थापाले गर्नुहुनेछ । यस विषयमा विमला थापा र शब्दयात्रा प्रकाशनका बीच सम्झौता भइसकेको छ । सम्झौतापत्रमा कोष व्यवस्थापकका रूपमा विमला थापाले र शब्दयात्रा प्रकाशनका तर्फबाट कार्यसम्पादन समितिका सदस्य इ. रोशन मञ्जुश्री अधिकारीले हस्ताक्षर गर्नुभएको छ । देउडा पुरस्कारका लागि कोषको व्यवस्था गरिदिनुभएकोमा विमला थापाप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।

शब्दसंवाद शुरु

0
शब्दयात्रा प्रकाशनले ‘शब्दसंवाद’ नामक श्रव्यदृश्य कार्यक्रम सञ्चालन गर्न थालेको छ । हरेक महिनाको १ गते र १५ गते साँझ ६ बजे अक्षरधाम यु–ट्युब च्यानलबाट प्रसारण हुने ‘शब्दसंवाद’ कार्यक्रममा ‘आफ्नो अनुभव आफ्नै आवाज’ का रूपमा विभिन्न व्यक्तिका अनुभवहरू, सर्जकका सिर्जनाहरू र अन्य बौद्धिक खुराकहरू प्रस्तुत हुनेछन् । कार्यक्रमको पहिलो शृङ्खला हिजो २०८२ साउन १ गते प्रस्तुत गरियो । पहिलो शृङ्खलामा शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य, समाजसेवी तथा ‘हाम्रो देश त्यस्तो नहोस्’ नामक बहुचर्चित पुस्तकका लेखक सकुल थापासँग सञ्चारकर्मी शिव बन्जाराले गर्नुभएको संवाद प्रस्तुत गरिएको छ । निर्देशन, छायाङ्कन तथा सम्पादन इ. रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको यस कार्यक्रमको प्रस्तोता रश्मि हुमागाईं तथा सल्लाहकार हरि मञ्जुश्री र कृष्णमणि कुइकेल हुनुहुन्छ ।