विष्णुप्रसाद आचार्यद्वारा लिखित तथा नगेन्द्रप्रसाद आचार्यद्वारा सम्पादित ‘रास्कोटको शैक्षिक वृत्तान्त तथा व्यक्तित्व’ पुस्तक सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा यही २०८३ कार्तिक १४ गते शनिबार आयोजना गरिएको कार्यक्रममा पुस्तकका सम्पादक नगेन्द्रप्रसाद आचार्य र समाजसेवी तथा लेखक सकुल थापाले संयुक्त रूपमा यस पुस्तकको सार्वजनिकीकरण गर्नुभएको हो ।
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो २८८ औँ कृति हो । यसमा कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त छ । दुई भागमा विभक्त यस पुस्तकको पहिलो भागमा रास्कोटका ७५ जना शिक्षासेवीहरूको परिचयात्मक विवरण उल्लेख गरिएको छ भने दोस्रो भागमा रास्कोटमा सञ्चालित विद्यालयहरूमा कार्यरत शिक्षकहरू तथा स्थापनाकालदेखि पुस्तक लेखिँदाको समयसम्मका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूका बारेमा जानकारी गराइएको छ । यसरी यो पुस्तक रास्कोटको शिक्षाक्षेत्रको विगत र वर्तमानको जानकारी दिलाउन त्यहाँको शैक्षिक गतिविधिका विषयमा अध्ययन गर्न चाहने अध्येताहरूलाई राम्रो सन्दर्भ–सामग्री हुने गरी तयार पारिएको छ ।


