नेपाली साहित्यको लघुकथा क्षेत्रमा सुपरिचित नाम बनाइसक्नुभएका गायत्रीकुमार चापागाईंको प्रस्तुत पु्स्तक ‘खेलौना’ छोटा, प्रभावकारी र उद्देश्योन्मुख कथावस्तु भएका लघुकथाहरूको सङ्ग्रह हो । पारिवारिक र दाम्पत्य जीवनका समस्या, पहाड र तराईको लोकजीवन, ग्राम्य जीवनका विवशता, विदेश जानुपर्ने स्थिति, पाश्चात्य संस्कृतिको प्रभावमा परेर नेपालको मौलिक संस्कृति हराउँदै जाँदाको पीडा, राजनीतिको आडमा मौलाएका सामयिक विकृति र विसङ्गतिप्रतिको प्रहार, नेतृत्व वर्गका अराजक क्रियाकलापहरूप्रतिको वितृष्णा, नीतिगत भ्रष्टाचारको विरोध आदिजस्ता विषयहरू यस सङ्ग्रहका कथाहरूमा मुखरित भएका छन् । कथावस्तु या घटनाक्रम विश्वसनीय लाग्नु र कथाको अन्त्य हठात् हुनु यसभित्रका लघुकथाहरूको विशेषता हो । यस सङ्ग्रहले लघुकथाका पाठकलाई नवीन रसास्वादन गराउनेछ ।