काठमाडौँ विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति डा. सुरेशराज शर्माका विषयमा उहाँकी धर्मपत्नी उर्मिला शर्मा ढुङ्गेलले करिब १५ वर्षअघि लेख्नुभएको मार्मिक गीत उहाँको निधन भएको पाँच महिनापछि स्वराङ्कन गरी सार्वजनिक गरियो । सङ्गीतकार हरि मञ्जुश्रीको सङ्गीतमा योजना खड्गीले गाउनुभएको उक्त गीत यही चैत २३ गते शनिबार शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा आयोजित कार्यक्रममा प्राज्ञ, प्राध्यापक तथा नृत्यविद् बेटी बज्राचार्यले सार्वजनिक गर्नुभयो ।
गीतको सार्वजनिकीकरणका अवसरमा गायनका लागि योजना खड्गी र बाद्यसंयोजन तथा ध्वनिमिश्रणका लागि बालकृष्ण सेवाचार्यलाई शब्दयात्रा प्रकाशनका तर्फबाट आभारपत्र प्रदान गरियो । योजना खड्गीलाई आध्यात्मिक प्रवाचिका तथा पूर्वमन्त्री डा. कान्ता भट्टराईले र बालकृष्ण सेवाचार्यलाई अनुसन्धाता डा. दुर्गाबहादुर घर्तीले आभारपत्र प्रदान गर्नुभएको थियो ।
गीतिभास्कर मच्छेश्वर सापकोटाको सुपरिवेक्षण र कृष्णमणि कुइकेलको व्यवस्थापनमा तयार भएको उक्त गीत ‘सुरेशराज शर्मा गान’ टाइप गरी ‘अक्षरधाम’ यु–ट्युब च्यानलबाट सुन्न सकिनेछ ।